पोखरामा फेरि निर्वाचन गराउन कांग्रेससहित आठ दलको माग, मतगणना शुरु गर्ने तयारीमा आयोग
पोखरा–लेखनाथ महानगरपालिकामा पुनः निर्वाचन गराउन माग गर्दै नेपाली कांग्रेस सहित आठ राजनीतिक दलले मुख्य निर्वाचन अधिकृतलाई ज्ञापन पत्र बुझाएका छन् ।
महानगरपालिका वडा नम्बर १७ को मतगणना गर्दा फर्जी मत भेटिएको दाबी गर्दै ६ जेठ साँझदेखि मतगणना रोकेका उनीहरुले आज राती ज्ञापन पत्र बुझाउँदै पुनः निर्वाचनको माग गरेका हुन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा, नयाँ शक्ति, संघीय समाजवादी फोरम लगायतका दलले बुझाएको ज्ञापन पत्रमा ‘कानून विपरितको निर्वाचन वदर गरी पुनः निर्वाचन गरीपाउँ’ भनिएको छ ।
“स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ७८ को उपदफा १ बमोजिम स्वस्तिक छाप जाँच गरी अनुसूचि ३७ बमोजिमको मुचुल्का छ भने देखाउन माग गर्दा मुचुल्का नै नभएको बुझिएको हुँदा गैरकानूनी रुपमा भएको निर्वाचनको मतगणना रोक्का राखी अवैध रुपमा भएको निर्वाचन बदर गरी पुन निर्वाचन गरीपाउँ,” ज्ञापनपत्रमा भनिएको छ ।
पोखरा महानगर वडा नं. १७ को मतगणनाका बेला ८ वटा भन्दा बढी मतपत्रमा साविकको भन्दा ठूलो स्वस्तिक छाप भेटिएको भन्दै शनिबार ४ बजेदेखि कांग्रेस प्रतिनिधिले मतगणना बहिस्कार गरेका थिए ।
३३ वटा वडा रहेको पोखरा लेखनाथ महानगरको १४ वटा वडाको अन्तिम परिणाम सार्वजनिक भैसकको छ भने १४, १६, १७, १८ र १९ नम्बर वडाको मतगणना भइरहेका बेला दलहरुको विरोधपछि स्थगित भएको थियो ।
ज्ञापनपत्रमा एमाले कार्यकर्ताले विभिन्न पार्टीका पास भिरेर मतगणना स्थलमा बस्दै आएको र आफ्नो पार्टीका भनिएका प्रतिनिधि नक्कली भएको र आफूहरुलाई प्रवेशमा रोक लगाएको असन्तुष्ट दलहरुले आरोप लगाएका छन् ।
मतगणनामा देखिएको विवाद सुल्झाउन निर्वाचन आयोगले मतपत्रमा स्वस्तिक छाप ठूलो भएको बारे आवश्यक जवाफ र निर्देशन पठाउँदै स्थानीय निर्वाचनका लागि प्रयोगमा आएको मतपत्र र निर्वाचन अधिकृतको हस्ताक्षर मिलेको खण्डमा स्वस्तिक छाप ठूलो भएकै कारण गणना रोक्न नहुने र मतपत्र बदर नहुने भन्दै मतगणना सुचारु राख्न निर्देशन दिएको छ ।
आयोगको निर्देशन पश्चात सहमतिका लागि सर्वदलीय बैठक बसे पनि निश्कर्ष विहिन बनेको थियो ।
यता कांग्रेस सहितका दलहरुले मतगणना वहिस्कार गरे पनि नरोकिने कास्कीका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले बताए । उनले भने, “मतगणना रोकिंदैन, कानून बमोजिम अगाडी बढाउँदा कोही नआए अनुपस्थित जनाएर मतगणना गर्छौ ।”
आयोगले मतगणना शुरु गर्ने तयारी गरे पनि ७ जेठ राति १०ः३० बजेसम्म मतगणना भने सुचारु हुन सकेको छैन ।
युवराज श्रेष्ठ, पोखरा