काठमाडौंमा एमाले ७४४२ मतले अगाडि, रञ्जुले कटाइन १० हजार
काठमाडौं महानगरपालिकामा विवेकशील नेपाली दलको तर्फबाट मेयरमा उमेदवारी दिएकी रञ्जु दर्शनाले १० हजार मत कटाएकी छन् ।
पछिल्लो अपडेटअनुसार काठमाडौंको ७७ हजार ६३२ मत गणना भएको छ । जसमा रञ्जुले १० हजार १४७ मत प्राप्त गरेकी छन् ।
महानगरमा एमाले उमेदवार बिद्यासुन्दर शाक्य २५ हजार १५२ मतसहित अग्रता लिइरहेका छन् भने कांग्रेसका उमेदवार राजुराज जोशी १७ हजार ७१० मतसहित दोस्रोमा छन् । हालसम्म दर्शना एमाले र कांग्रेसका उमेदवार पछि तेस्रो स्थानमा रहेकी छन् । संसद्को तेस्रो ठूलो दल माओवादी केन्द्रभन्दा २१ बर्षीय रञ्जुको मत झण्डै ८ हजारले बढी छ ।
त्यस्तै साझा पार्टीका तर्फबाट उमेदवार रहेका किशोर थापाले ७ हजार ६७१ र नेकपा माओवादी केन्द्रका सर्बोत्तममान डंगोलले २ हजार ८८० मत ल्याएका छन् ।