पोखरा महानगरको मतगणना अझै अनिश्चित, सुचारु गर्न माग गर्दै नाराबाजी
हिजो साँझबाट रोकिएको पोखरा–लेखनाथ महानगरको मतगणना अझै शुरु हुन सकेको छैन ।
महानगरको वडा नं. १७ को मतगणनाका क्रममा फर्जी मत भेटिएको दाबी गर्दै एमाले बाहेक दलका प्रतिनिधिले ६ जेठ साँझ बहिस्कार गरेपछि मतगणनाको काम स्थगित भएको थियो ।
मतगणना सुचारु गर्नका लागि पटक पटक बसेको सर्बपक्षीय बैठक समेत निष्कर्ष विहिन भएको छ ।
कांग्रेस कास्कीका सभापति कृष्ण केसीले दुई थरी स्वस्तिक छाप देखिएको भन्दै कुनलाई मानेर जाने भन्नेबारे कानूनीरुपमै निरुपण हुनुपर्ने बताए ।
वडा नं. १७ मा देखिएको समस्या अन्य वडामा देखिए के गर्ने भन्नेबारे पनि सजग हुनुपर्ने भन्दै उनले दुईथरी छापका विषयमा अन्य बाटोबाट समाधान नआए आफूहरु सबै मत पुनःगणना गर्न वा पुनःनिर्वाचनमा जान तयार रहेको जानकारी दिए ।
नेकपा माओबादी केन्द्रका कास्की अध्यक्ष दिपक कोइरालाले विवाद समाधानका लागि आयोगले जिम्मेवार व्यवहार नदेखाएको आरोप लगाए । केन्द्रीय आयोगको निर्देशन पछि मात्रै बैठकमा छलफल गर्ने उनको भनाई छ ।
१४ सय भन्दा बढी मतगणना भएपछि एमालेको सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटिएको अन्य दलका प्रतिनिधिहरुकोे दाबी छ । फरक रंग र साविकको भन्दा ठूलो आकारको छाप लगाएको ८ वटा भन्दा बढी मतपत्र भेटिएको मतगणनामा रहेका एमाले बाहेकका दलहरुको भनाई छ ।
यता एमाले कास्कीका अध्यक्ष कृष्णबहादुर थापाले भने कांग्रेसले हार्ने निश्चित भएपछि बखेडा झिकेको आरोप लगाए ।
आयोगले नै दुई थरी छाप पठाएको भन्दै उनले थपे, “समस्या देखिएको ठाउँमा सबैदलका साथीहरु बसेर हेरौँ, अन्य वडाको सुचारु गरौँ भन्दा पनि उनीहरु मान्दैनन् । हामीहरु त अब निर्वाचन आयोगले जे निर्णय गर्छ त्यो मान्छौं ।”
यसैबीच, महानगरको मतगणना सुचारु गर्न माग गर्दै मतगणना स्थलमा एमाले समर्थकले नाराबाजी गरिरहेका छन् ।
३३ वटा वडा रहेको पोखरा लेखनाथ महानगरको १४ वटा वडाको अन्तिम परिणाम सार्वजनिक भैसकको छ भने १४, १६, १७, १८ र १९ नम्बर वडाको मतगणना हुँदाहुँदै स्थगित भएको छ ।
क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले पार्टी प्रतिनिधीहरुसँग बैठक चलिरहेको र मतगणना सुचारु गर्न सहमति पर्खिएको प्रतिक्रिया दिए ।
युवराज श्रेष्ठ, पोखरा