कांग्रेसले गरायो धादिङवेसी बन्द
नेपाली कांग्रेसले धादिङ सदरमुकाम धादिङबेशी लगायत आसपासका क्षेत्र बन्द गरेको छ ।
गए राति नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकताबीच भएको झडपमा ज्वालामुखी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष विनोद तिमिल्सिना लगायत कांग्रेस नेता तथा कार्यकर्ता घाइते भएको घटनालालाई लिएर कांग्रेसले आज, ७ जेठमा धादिङ बन्द गराएको हो ।
नेकपा एमाले र नेपाली कांग्रेस दुवै पार्टीले विजय जुलुस मनाएर फर्कंदै गर्दा ज्वालामुखी गाउँपालिका– ३ कोलेमा राति पौने १० बजेतिर जम्काभेट हुँदा झडप भएको थियो ।
कांग्रेस धादिङले नेकपा एमालेले सुनियोजित रुपमा आफ्ना नेता तथा कार्यकर्तामाथि आक्रमण भएको भन्दै दोषीलाई कारबाहीको माग राख्दै बन्द गरेका हो ।
एमाले धादिङले विजय जुलुस मनाएर फर्कदै गर्दा नेपाली कांग्रेसका कार्यकर्ताले नेकपा एमालेका कार्यकर्तालाई आक्रमण गरेपछि झडप भएकोे दाबी गरेको छ ।
झडपका क्रममा गाउँपालिका प्रमुखमा निर्वाचित कांग्रेसका विनोद तिमल्सिना तथा कांग्रेसका नरेन्द्र भट्ट र दामोदर भट्ट घाइते भएका छन् । भट्टद्वयको काठमाडौँ ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने नरेन्द्रलाई ग्रिनसिटी अस्पतालमा पुनः भर्ना गरिएको छ ।
बन्दको घोषणा भएपछि धादिङबेशी लगायत आसपासका क्षेत्रहरु अहिले सुनसान छन् । एक्कासी बन्द हुँदा यात्रामा निष्केका यात्रुहरु अन्यौलमा परेका छन् ।
बन्दका कारण धादिङवेसीबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन भने धादिङवेसी बजार पनि बन्द रहेको छ । साथै शैक्षिक संस्था पनि बन्द रहेको छ ।
घटनामा सामान्य घाइते भएकाहरु अहिले उपचार पछि घर फर्केका र २ जनालाई थप उपचारको लागि काठमाडौं लगिएको र घटनाको विषयमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
-सानुबाबु तिमिल्सिना