ब्लगआइतवार, जेठ ७, २०७४

ह्याप्पी बर्थडे रेडियो सगरमाथा !

कनकमणि दीक्षित

रेडियो सगरमाथाले २० वर्ष काटेछ । उसलाई बधाई दिनुपर्छ दक्षिणएशियाको यो कुुनामा रेडियोलाई राज्यको बन्धनबाट फुकाइदिएकोमा ।

त्यतिबेला, २०४६ पश्चात् अभियन्ताहरू वास्तविक जुझारु थिए, जबकि आज धेरै कन्सल्ट्यान्सी, आयआर्जन, करिअर र दलीय पक्षपोषणमा लागेका छौं । आजभोलिको एनजीओको घनत्वमाझ वास्तविक एक्टिभिस्ट र एक्टिभिजम् खोज्न हामीलाई हम्मे हुन्छ ।

रेडियो सगरमाथाको शुरुआत जुझारुपनको उपज थियो, त्यसैले उतिबेलाका चुनौती सम्झनु लाभदायक हुन्छ । रेडियो सगरमाथाको त्यतिबेलाको संस्थापनाको कसरतले यो कुरा पनि पुष्टि गर्दछ कि नेपालमा ठीक मुद्दा लिएर तर्कसहित निरन्तर लागिपर्ने हो भने ढिलोचाँडो सफलता पाइन्छ, किनकि राम्रो कुरालाई वितर्कले काट्न सक्दैन ।

कसैले आसाम, सिन्ध, तमिलनाड, पञ्जाब वा दिल्लीमा कसरत गर्छ भने नेपालमा जस्तो सफलताको सम्भावना त्यहाँ छैन– मुलुक ठूलो, राज्य संयन्त्रको कठोर सञ्जाल, कर्मचारीतन्त्रको कडा पकड तथा राज्य–नागरिकबीचको दूरीका कारण । हाम्रो मुलुक त्यस्तो अप्ठेरो अवस्थामा छैन ।

मैले सम्झेका त्यतिबेलाका रेडियो जुझारुमध्येका केही हुन्– भारतदत्त कोइराला, हेमबहादुर बिष्ट, रघु मैनाली, राजेन्द्र दाहाल । युनेस्कोको पेरिसमा कार्यरत विजयानन्द जयवीराले थोरै आर्थिक सहयोग र धेरै संस्थागत ढाडस नेपाल वातावरण पत्रकार समूहलाई दिलाए, र गुन ठूलो लगाए ।

तस्वीर: उषा तितिक्षु

सम्झन्छु, काठमाडौंको पकनाजोल, कालधारास्थित उपेन्द्र अर्यालको घरको छतमा पहिलो ट्रान्समिटरको एन्टेना ठड्याउँदाको क्षण लागेको थियो– कसरी बज्ला यो रेडियो ! तर मज्जाले प्रसारण भयो र घरघरमा सुनियो । अनि एकपछि अर्को रेडियो खुल्न थाले । अभियान होइन, क्रान्ति ल्यायो सगरमाथाले ।

शुरुमा भोजराज पोखरेल सूचना तथा संचार मन्त्रालयका सचिव हुँदा त्यसतर्फबाट चुनौती आयो, तर साथीहरू निरन्तर लागिपरे । र चमत्कार त यो भयो कि रेडियो सगरमाथाको लागि भनेर तयार गरिएको विधेयक यसरी तयार पारियो कि त्यसले अन्य खेलाडीका लागि पूरै रेडियो फाँट खुला गरिदियो, सार्वजनिक रेडियो भन्नुस् या निजी ।

उतिबेला भर्खर न्यूयोर्कबाट बसाइ सरेर नेपाल आएको म उताको एफएम ब्याण्डको भरिभराउ स्टेशनको कोलाहल सम्झन्थें । नेपालमा चीनबाट आयात गरिएको बजारमा पाइने रेडियोको सर्टवेभ र एफएम ब्याण्डमा रेडियो नेपाल सुनिन्थ्यो । एफएम ब्याण्डमा भने पूर्णतः शून्यता थियो । आज काठमाडौंमा पनि न्यूयोर्क जस्तै कोलाहल छ, जो दक्षिणएशियामा अन्त कतै पाइँदैन ।

भारत र अन्यत्र रेडियो प्रसारण या त राज्यको नियन्त्रणमा छ या बेलगाम ‘कमर्सियल इन्टरटेनमेन्ट’ को कब्जामा । नेपालको रेडियो क्रान्ति किन पूरै दक्षिणएशियामा भन्दा फरक छ भन्ने सवालमा यति भनौं– यहाँ राज्यले एफएम स्टेशनलाई आफ्नो सम्पादनमा ‘न्यूज’ र ‘करेन्ट अफेयर्स’ प्रसारण गर्न स्वतन्त्र छाडिदिएको छ ।

निजी वा सामुदायिक क्षेत्रलाई यस्तो स्वतन्त्रता दिन कुनै छिमेकी राष्ट्र तयार छैनन् र आज त्यताका सबै रेडियो अभियन्ता नेपालतर्फ हेरेर लालायित छन् ।

एफएम रेडियो यति छिटो अगाडि बढ्यो र विश्वास कमायो कि ज्ञानेन्द्रको प्रत्यक्ष शासनको बेला रेडियो सगरमाथालाई बन्द गर्ने कोशिश हुँदा पनि श्रोता र अन्य प्रतिरक्षकको दबदबाले विफल भयो । उषा तितिक्षुले खिचेको रेडियो सगरमाथामा तैनाथ सैनिक जवान (हे. तस्वीर) त्यस खतरनाक घडीको प्रतीक हो ।

पक्कै पनि यो रेडियो क्रान्ति अपुरो छ र यसका नकारात्मक पक्ष पनि छन् नै । अन्तरसामुदायिक विग्रहलाई मलजल गर्न एफएम रेडियोको प्रयोग भएको छ र यो सन्दर्भमा रुवान्डाको उदाहरण हामीलाई थाहा भएकोले सतर्कताको खाँचो छ कि प्रेस र वाक्स्वतन्त्रताको प्रयोग अतिवादले नगरोस् ।

रेडियो जति नै स्वतन्त्र छ भने पनि, स्थानीय तहमा सुरक्षा स्थिति कमजोर भएका कारण एफएम रेडियो स्टेशनहरूले अपेक्षा अनुसार स्वतन्त्र र खोजमूलक समाचार सम्प्रेषण गर्न सकेका छैनन् ।

र, मैले अहिलेसम्म नबुझेको कुरा यो हो कि स्वतन्त्र र सफल रेडियो अभ्यास भएका मुलुकमा हुने गरेजस्तो राष्ट्रव्यापी ख्याति कमाएका ‘रेडियो पर्सनालिटी’ नेपालमा यो दुई दशकमा किन जन्मेनन्, जसको विश्वसनीयता तथा प्रस्तुतिले गर्दा जल्दाबल्दा मुद्दाहरूमा जनताको चासो र जाँगर जगाउन सकुन् ।

समस्या र चुनौतीको समीक्षा गर्नु हाम्रो कर्तव्य हो, जसबाट रेडियोको वास्तविक फाइदा श्रोता–नागरिकसम्म पुगोस्– सूचना, खोजखबर, विचार, मनोरञ्जन सबै । अन्त्यमा शुक्रबारको नेपाली टाइम्स को सम्पादकीयको एक अंश यहाँ पेश गर्दछु ः

“गत तीन दशकमा नेपालमा धेरै कुरा बिग्रँदा पनि राम्रो भएका कार्यहरूमा ‘सामुदायिक’ शब्द गाँसिएको हामी पाउँछौं– सामुदायिक रेडियो, सामुदायिक ग्रामीण सिंचाइ, सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य चौकी र सामुदायिक वन आदि ।

रेडियो सगरमाथा यो हप्ता २० वर्ष टेक्दैछ, र उसको अग्रसरतामा भएको सामुदायिक रेडियोको फैलावटले ‘रेडियो स्पेक्ट्रम’ सरकारी नभई जनताको अधीनको क्षेत्र भन्ने स्थापित गरिदियो । रेडियो सगरमाथाले रेडियो विकेन्द्रीकरणको कल्पनालाई यथार्थ बनाइदियो र आज मुलुकभरि ४०० भन्दा बढी रेडियो स्टेशन आम जनतासँग संवाद गरिरहेछन् ।”

ह्याप्पी बर्थडे एफएम १०२ थोप्ला चार ! 

प्रतिकृया दिनुहोस