विवादपछि पोखरा महानगरको मतगणना स्थगित
पोखरा–लेखनाथ महानगरपालिकाको वडा नं. १७ को मतगणनाका क्रममा फर्जी मत भेटिएको भन्दै एमाले बाहेकका दलका प्रतिनिधिहरु बाहिरिएपछि मतगणना स्थगित भएको छ ।
पोखरा– १७ मा १,५०० भन्दा बढी मत गणना भएपछि फर्जी मत भेटिएको भन्दै एमाले बाहेकका दलले मतगणना बहिस्कार गरेका हुन् ।
सूर्य चिन्हमा फरक रंग र फरक स्वस्तिक छापसहित एउटै मतपत्रमा मतदान अधिकृतको दुईवटा हस्ताक्षर भेटिएपछि मतगणना स्थगित गर्न माग गरेको मतगणनामा खटिएका कांग्रेस प्रतिनिधि युवक लामिछानेले बताए ।
फर्जी मत बारे अनुसन्धान हुनुपर्ने र सत्यतथ्य वाहिर आएपछि मात्रै मतगणना शुरु गर्नुपर्ने पार्टीको माग रहेको उनले बताए ।
साथै वडानम्बर १७ को विवाद टुङ्गो नलागेसम्म अन्य वडाको पनि मतगणना हुन नदिने अडान कांग्रेसको छ । उक्त मागमा एमाले बाहेकका अन्य दलले समेत समर्थन जनाउँदै विवादित वडामा पुन: निर्वाचनको माग समेत गरेका छन् ।
३३ वटा वडा रहेको पोखरा लेखनाथ महानगरको १४ वटा वडाको अन्तिम परिणाम सार्वजनिक भैसकको छ भने १४, १६, १७, १८ र १९ नम्बर वडाको केही मतगणना हुँदाहुँदै स्थगित भएको छ ।
निर्वाचन कार्यालयले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन । क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले पार्टी प्रतिनिधीहरुसँग बैठक चलिरहेकाले सहमति पश्चात मतगणना सुचारु गर्ने प्रतिक्रिया दिए । उनले फर्जी मत नभएको दाबी गरेका छन् ।