निर्वाचन अघि गरेका वाचा पूरा गर्ने प्रतिवद्धता– नवनिर्वाचित प्रतिनिधिको शपथग्रहण
कास्कीको माछापुच्छ्रे गाउँपालिकाको पहिलो बैठकले आगामी दुई वर्षभित्र सबै घरमा खानेपानीको धारा पुर्याउने निर्णय गरेको छ ।
नवनिर्वाचित गाउँपालिकाका जनप्रतिनिधिले शुक्रबार पदभार ग्रहणलगत्तै बसेको बैठकले उक्त निर्णय गरेको हो ।
सपथ ग्रहण समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले चुनावी मैदानमा गरेका वाचा पूरा गर्ने प्रतिबद्धता जनाए । उनले प्रतिपक्षी दलहरुलाई संकेत गर्दै भने, “तपाईहरुको सकारात्मक सहयोगको सधैँ अपेक्षा गर्छौं, तपाईंहरुको भावना पनि समेट्छु ।”
गाउँपालिकाका उपाध्यक्ष कृष्णकुमारी दवाडीले संविधानमै महिलालाई अग्राधिकार दिएकाले महिलाहरु निर्वाचित भएको बताइन् ।
महिला खुलारुपमै पुरुषसँग प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिँदै उनले भनिन्, म महिलालाई सशक्तिकरणका कार्यक्रममा जोड दिन्छु ।
उनले महिलालाई आर्थिक रुपमा सक्षम बनाउन समेत गाउँपालिकामा योजना बनाएर लागु गर्ने प्रतिबद्धता जनाएकी छिन् ।
कार्यक्रममा बोल्दै माछापुच्छ्रेका प्रमुख प्रतिपक्षी कांग्रेस नेता एवं अध्यक्षका पराजित उम्मेदवार खुसीमान गुरुङले सकारात्मक काममा दिलोज्यानले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उनले पार्टीको नभई सबैको साझा जनप्रतिनिधिको रुपमा काम गर्न सुझाव दिँदै माछापुच्छ्रेलाई उज्यालो बाटोमा लैजान आग्रह गरे ।
यस्तै, माओवादी केन्द्रका माछापुच्छ्रे गाउँपालिका अध्यक्ष नवराज भण्डारीले जनताप्रति उत्तरदायी हुन सुझाव दिए । “पार्टीप्रति उत्तरदायी हुने होइन, जनता प्रति हुनुस्,” उनले भने, “उत्तरदायी नभएको खण्डमा हामी सचेत गराउँछौं ।”
सो अवसरमा माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुलाई निर्वाचन अधिकृत गंगाप्रसाद पौडेलले मुलुक, जनता र ईश्वरको नाममा शपथ खुवाएका थिए ।
नवनिर्वाचित माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र उपाध्यक्ष कृष्णकुमारी दवाडी पदभार ग्रहण पछि । विचमा गापाका कार्यकारी अधिकृत किरणप्रसाद कोइराला ।
युवाराज श्रेष्ठ, पोखरा