दाहाललाई १६ दलको समर्थन
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबार हुने प्रधानमन्त्रीको निर्वाचनमा १६ दलका ३५८ सांसदको समर्थन प्राप्त गर्ने निश्चित भएको छ ।
व्यवस्थापिका–संसद् सचिवालयले प्रकाशन गरेको सूचनाअनुसार आजको निर्धारित समयमा प्रधानमन्त्रीमा अध्यक्ष दाहालको मात्र उम्मेदवारी परेको छ । सचिवालयका अनुसार दाहालको उम्मेदवारीमा नेपाली कांग्रेका सभापति शेरबहादुर देउवा प्रस्तावक छन् भने संसद्का अन्य १६ दलका नेताले समर्थन जनाएका छन् ।
दाहालको उम्मेदवारीमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ला, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता परशुराम तामाङ, सदभावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले समर्थन जनाएका छन् ।
त्यस्तै नेकपा संयुक्तका जयदेब जोशी, समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह, नेपाली जनता दलका हरिचरण साह, जनजागरण पार्टीका लोकमणि ढकाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटका रुक्मिणी चौधरी, खुम्बुवान राष्ट्रिय मोर्चा नेपालका रामकुमार राई, थरुहट तराई पार्टी नेपालका गंगा चौधरी,मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरी, अखण्ड नेपालका कुमार खड्का, दलित जनजाति पार्टी नेपालका यसोदाकुमारी लामा र स्वतन्त्र सांसद चन्द्रेश्वर झाले पनि समर्थन जनाएका छन् । उनुभएको छ ।
दाहालको पक्षमा ३५८ सांसद
निर्वाचनमा दाहाललाई कांग्रेसका २०७, माओवादी केन्द्रका ८१, सङ्घीय समाजवादीका १५, फोरम लोकतान्त्रिकका १४, राप्रपाका १२, तमलोपाका ११, सद्भावना पार्टीका पाँच, नेकपा संयुक्तका तीन, थरुहट तराई पार्टीका दुई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटका एक, समाजवादी जनता पार्टीका एक, नेपाली जनता दलका एक, खुम्बुवान राष्ट्रिय मोर्चाका एक, अखण्ड नेपाल पार्टीका एक, दलित जनजाति पार्टीका एक, जनजागरण पार्टीका एक र स्वतन्त्र सांसद एक गरी जम्मा ३५८ सांसदले समर्थन जनाउने भएका छन् ।
यो सङ्ख्या भोलि मतदानको समयसम्ममा अझ बढ्नसक्ने नयाँ गठबन्धनका नेताहरुले बताएका छन् ।
प्रधानमन्त्रीको निर्वाचन भोलि बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रारम्भ हुनेछ । संसद्मा हाल ५९५ सांसद छन् । संसद् नियमावलीअनुसार प्रधानमन्त्रीमा निर्वाचित हुन संसद्मा तत्काल कायम सदस्य सङ्ख्याको बहुमत अर्थात २९८ मत ल्याउनुपर्छ ।
रासस