सर्वदलीय सहमतिपछि भरतपुर महानगरको मतगणना शुरु
हिजो रातिदेखि स्थगित भएको भरतपुर महानगरपालिकाको मतगणना सर्वदलीय बैठकले सहमति गरेपछि पुनः शुरु भएको छ ।
विहान बसेको पार्टीका जिल्ला प्रमुखहरुको बैठकले अबदेखि बदर मतको अभिलेख राख्ने, मेयर पदमा रुख चिन्हमा दिइएको मतको पनि अभिलेख राख्ने, निर्वाचन अधिकृतले एकजना सूचना अधिकृत राखेर उनैमार्फत मतपरिणाम सार्वजनिक गर्ने लगायतका १० बुँदे सहमति भएको छ । त्यसैगरी मतगणना स्थलमा राजनीतिक दलका प्रमुख वा प्रतिनिधिका लागि छुट्टै डेस्क राख्ने र कुनै विवाद आएमा उनीहरुले समाधान गर्ने पनि सहमति भएको छ ।
वडा नं. ९ को मतगणना पारदर्शी नभएको भन्दै माओवादी र कांग्रेसका कार्यकर्ताले विरोध गर्न थालेपछि मतगणना गए राति ८ बजेदेखि स्थगित भएको थियो ।
२९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा वडा नम्बर १,३,६ र ८ का वडाध्यक्षमा कांग्रेसका उमेदवारहरु निर्वाचित भएका छन् भने २, ४, ५, ७ र ९ मा एमालेका उमेदवार निर्वाचित भएका छन् ।
हिजो राति वडा नं. को मतगणना सकिदासम्म एमालेबाट मेयरका उमेदवार देवी ज्ञवालीले १५,१५५ मत प्राप्त गरेका थिए भने माओवादीकी रेणु दाहालले १४,८०९ मत प्राप्त गरेकी थिइन् ।
महानगरको मेयर र उपमेयर पदमा कांग्रेस र माओवादीले तालमेल गरेका छन् ।