भरतपुरमा दलहरुको विरोधपछि मतगणना स्थगित
भरतपुर महानगरपालिकाको जारी मतगणना दलहरुको विरोधपछि स्थगित भएको छ ।
माओवादी केन्द्र र कांग्रेसका कार्यकर्ताले मतगणना पारदर्शी नभएको, बदर मतसंख्या सार्वजनिक नगरिएको, प्रत्येक १०० मत गनिसकेपछि गणना सार्वजनिक गरिनुपर्ने भन्दै गणनास्थल बाहिर नाराबाजी गर्न थालेपछि मतगणना स्थगित गरिएको हो ।
उनीहरुले निर्वाचन अधिकृतमाथि मतगणना सार्वजनिक गर्दा झुक्याइएको जस्ता आरोप लगाएका छन् ।
विशेषगरी माओवादी कार्यकर्ताहरुले वडा नं. ९ को मतगणनामा माओवादी केन्द्रकी उमेदवार रेणु दाहालले प्राप्त गरेको मतमा असन्तुष्टि व्यक्त गरेका छन् ।
वडा नं. ९ मा एमालेका यमलाल कँडेल वडा अध्यक्षमा विजयी भएका थिए। काँग्रेस, माओवादीका बुथ प्रतिनिधिले टिपोट गरेको मतसंख्या र कम्प्युटरमा इन्ट्रीमा भएको मतसंख्या फरक रहेको उनीहरुको दाबी छ ।
भरतपुरमा एमालेले वडा नं २, ४, ५, ७ मा जितेको छ भने काँग्रेसले १, ३,६ र ८ मा जितेको छ। ९ नम्बर वडाध्यक्षमा एमाले उमेदवार निर्वाचित र यो वडाबाट माओवादीबाट मेयरका उमेदवार पछि परेपछि उनीहरुको असन्तुष्टी बढेको हो । भरतपुरमा जम्मा २९ वटा वडा छन् ।
दलहरुको विरोधपछि सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ ।