भक्तपुरमा नेमकिपा चौब्बर मतले अगाडि, दुई वडा गन्न बाँकी छँदै जीत सुनिश्चित
भक्तपुर नगरपालिका प्रमुखमा नेपाल मजदुर किसान पार्टीका उमेदवार सुनिल प्रजापतिको जित सुनिश्चित भएको छ ।
भक्तपुरका १० मध्ये आठ वटा वडाको मतगणना सम्पन्न हुँदा नेमकिपाका प्रजापतिले नेपाली कांग्रेसका रामप्रसाद कासुलाभन्दा झन्डै चौब्बर मत अन्तरले अग्रता लिएका छन् ।
पछिल्लो मतगणनामा प्रजापतिले २० हजार एक सय ९४ र कासुलाले ५ हजार ६१७ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा पनि नेमकिपाकी रजनी जोशीको जित पक्का भएको छ । जोशीले २० हजार ३३३ र कांग्रेसकी गङ्गालक्ष्मी अवालले ५ हजार २९४ मत प्राप्त गरेका छन् ।
मतगणना सम्पन्न भएका आठ वटै वडामा नेमकिपाको समूह नै विजयी भएको छ । विजयी हुने वडाध्यक्षमा क्रमशः श्यामकृष्ण खत्री, हरिप्रसाद वासुकला, राजकृष्ण गोरा, कुमार चवाल, प्रेमगोपाल कर्माचार्य, हरिराम सुवाल, उकेश कवां र महेन्द्र खायमली छन् ।
त्यसैगरी मध्यपुर थिमी नगरपालिकाको मतगणना सम्पन्न भएका चार वटा वडामध्ये सबै वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
प्राप्त परिणामानुसार मध्यपुर–१ मा सुरज खड्का, २ मा राम थापा मगर, ३ मा प्रेमबहादुर कुटु र ४ मा कुमार श्रेष्ठ निर्वाचित भएका हुन् ।
मध्यपुर वडा नं १ र ३ मा कांग्रेसको समूह तथा वडा नं २ मा नेकपा एमालेले महिला सदस्य एक र वडा नं ४ मा खुला सदस्यमा जित हासिल गरेको छ ।
सूर्यविनायक नगरपालिकामा पनि मिश्रित परिणाम आएको छ । सूर्यविनायकका पाँच वटा वडाको नतिजा सार्वजनिक हुँदा काँग्रेसले दुई र एमालेले तीन वटा वडामा अध्यक्ष जितेको छ ।
सूर्यविनायक–१ मा एमालेका सानुकाजी कायस्थको समूहले जित हासिल गरेको छ भने वडा नं २ मा कांग्रेसले खुला एक सदस्यबाहेकमा कमलनाथ आचार्यको नेतृत्वमा जित हासिल गरेको छ ।
वडा नं ३ मा कांग्रेसका शिवशरण खत्रीको समूह तथा वडा नं ४ मा एमालेका उत्तम थापा र ५ मा राजकुमार जोशीको समूह विजयी भएको छ ।
चाँगुनारायणमा भने अहिलेसम्म वडाध्यक्षमा कांग्रेसका क्रमशः राजेश खड्का र शिवहरि केसीका समूह विजयी भएका छन् ।
रासस