सुर्खेतको पञ्चपुरी नगरपालिकामा कांग्रेस निर्वाचित
सुर्खेतको पञ्चपुरी नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् ।
कांग्रेसबाट मेयरका उमेदवार उपेन्द्रबहादुर थापाले ५ हजार १३४ मत प्राप्त गरी निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मनबहादुर कामीले ४ हजार ७३२ मत प्राप्त गरे ।
नगरपालिकाको उपमेयरमा पनि कांग्रेसकै मुक्तिदेवी रेग्मी पुरी ५ हजार २०४ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी राजकुमारी तिवारीले ४ हजार ८२४ मत प्राप्त गरिन् ।
नगरपालिकाका ११ वटा वडा मध्ये ६ वटा वडामा कांग्रेस र ५ वटा वडा एमालेले जितेको छ ।
यस्तै नेपाली कांग्रेसले पञ्चपुरी नगरपालिकासँगै गुर्भाकोट नगरपालिका, चिङगाड गाँउपालिका र बराहाताल गाँउपालिका जितेको छ भने एमालेले
लेकबेसी नगरपालिका र सिम्ता गाउँपालिकामा जीत हात पारेको छ ।
चौकुनेमा एमाले
जिल्लाको चौकुने गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उमेदवार निर्वाचित भएका छन् ।
एमालेका धीरबहादुर शाहीले ३ हजार २४२ मत प्राप्त गरि अध्यक्षमा निर्वाचित भए भने उनका प्रतिद्धन्द्धी माओवादी केन्द्रका खड्क विवस बासपानीले २ हजार ७४५ मत प्राप्त गरे ।
उपाध्यक्षमा पनि एमालेकै निर्मला राना निर्वाचित भएकी छन् । रानाले ३ हजार ३५६ मत प्राप्त गरिन् । उनकी प्रतिद्वन्द्वी माओवादी केन्द्रकी विमला जिसीले २ हजार ३१५ मत प्राप्त गरेकी छन् ।
लक्ष्मी भण्डारी, सुर्खेत