गोरखामा नौवटा स्थानीय तहमा कांग्रेस, दुईमा माओवादी केन्द्र
गोरखाका एघारवटै स्थानीय तहमा मतगणना सम्पन्न भएको छ । दुई नगरपालिका र सातवटा गाउँपालिका गरी नेपाली कांग्रेसले ९ स्थानीय तहमा जितेको छ भने दुई गाउँपालिकामा माओवादी केन्द्रले जितेको छ ।
नेकपा एमाले र नयाँ शक्ति पार्टीले कुनै स्थानीय तहका प्रमुख पदमा जित्न सकेनन् ।
गोरखा नगरपालिकामा कांग्रेस
गोरखा नगरपालिकामा ६ हजार ५६० मत ल्याएर नेकाका राजनराज पन्त नगरपालिका प्रमुख पदमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्णबहादुर रानाले ५ हजार ६० मत प्राप्त गरे ।
उपप्रमुख पदमा कांग्रेसकी बिनाकुमारी श्रेष्ठले ६ हजार २६० मत प्राप्त गरी निर्वाचित भइन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सम्झना देवकोटाले ४ हजार ७०५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गोरखा नगरपालिकामा १४ वटा वडामध्ये १, २, ४, ५, ६, ८, ९ र १२ वडामा कांग्रेसका उमेदवार निर्वाचित भएका छन् । यस्तै, ३, १० र १४ नं वडामा नेकपा एमालेले जितेको छ भने माओवादी केन्द्रले ७, ११ र १३ वडामा जित हासिल गरेको छ ।
पालुङटारमा कांग्रेस
नयाँ शक्ति पार्टीका नेता बाबुराम भट्टराईको गृहनगर पालुङटार नगरपालिकाको प्रमुख पदमा कांग्रेसका दीपकबाबु कँडेल निर्वाचित भएका छन् । ४ हजार ६९८ मत ल्याएर कँडेल निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका विवश चिन्तनले ४ हजार ४९१ मत प्राप्त गरे ।
उपप्रमुख पदमा माओवादी केन्द्रकी पम्फा बसेल निर्वाचित भएकी छन् । बसेलले ४ हजार ४९४ मत प्राप्त गरिन् भने उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी चेतकुमारी श्रेष्ठले ४ हजार १९६ मत प्राप्त गरिन् । दशवटा वडा रहेको पालुङटारमा नयाँ शक्ति पार्टीले १, ४ र ५ वडामा विजय हासिल गरेको छ ।
यस्तै, २, ६, ८ र १० नं वडामा माओवादी केन्द्र विजयी भयो भने वडा नं ७ मा एमाले विजयी भएको छ । कांग्रेसले वडा नं ३ र ९ जितेको छ ।
भीमसेनमा कांग्रेस
गोरखाको भीमसेन गाउँपालिका प्रमुख पदमा कांग्रेसका ईश्वर पाण्डे ३ हजार ९४३ मतका साथ निर्वाचित भएका छन् । उपप्रमुखमा पनि कांग्रेसकै बिनु वाग्ले ३ हजार ९८३ मत प्राप्त गरी निर्वाचित भएकी छन् ।
आरुघाटमा कांग्रेस
आरुघाट गाउँपालिकाको प्रमुख पदमा कांग्रेसका पूर्णबहादुर दाहालले ३ हजार ६७६ मत ल्याएर निर्वाचित भएका छन् । उपप्रमुखमा कांग्रेसकै कल्पना नेपालीले ३ हजार ६०९ मत ल्याएर निर्वाचित भइन् ।
चुमनुब्रीमा कांग्रेस
उत्तरी हिमाली क्षेत्रमा रहेको चुमनुब्री गाउँपालिकाको प्रमुख पदमा नेकाका धनबहादुर गुरुङ १ हजार २५३ मतका साथ निर्वाचित भएका छन् । उपप्रमुखमा माओवादी केन्द्रकी धनकुमारी गुरुङ १ हजार २८५ मतले निर्वाचित भएकी छन् ।
धार्चेमा कांग्रेस
धार्चे गाउँपालिकामा कांग्रेसका सन्तबहादुर गुरुङ (सन्तोष) १ हजार ७०९ मतका साथ निर्वाचित भएका छन् । उपप्रमुख पदमा पनि कांग्रेसकै फूलमाया गुरुङ १ हजार ५९५ मतका साथ निर्वाचित भएकी छन् ।
अजिरकोटमा कांग्रेस
अजिरकोट गाउँपालिकामा काँग्रेसका फणिन्द्र धिताल ३ हजार ३३ मत प्राप्त गरी निर्वाचित भएका छन् । उपप्रमुखमा कांग्रेसकै चन्द्रमाया गुरुङ ३ हजार ३३ मतले निर्वाचित भइन् ।
सिरानचोकमा कांग्रेस
सिरानचोक गाउँपालिकामा कांग्रेसका राजु गुरुङले ३ हजार ४०२ मत ल्याएर निर्वाचित भएका छन् । उपप्रमुखमा कांग्रेसकै रीता देवकोटाले ३ हजार ४११ मत प्राप्त गरी निर्वाचित भइन् ।
गण्डकीमा कांग्रेस
गण्डकी गाउँपालिकामा कांग्रेसका होमबहादुर रानाले ४ हजार १६४ मत प्राप्त गरी निर्वाचित भएका छन् । उपप्रमुखमा कांग्रेसकै ललिता अधिकारीले ४ हजार ९७ मतले निर्वाचित भइन् ।
शहीद लखनमा माओवादी
शहीद लखन गाउँपालिकामा माओवादी केन्द्रका रमेश थापाले ३ हजार ८०८ मत ल्याएर निर्वाचित भए । उपप्रमुख पदमा पनि माओवादीकै इन्दिरा तिवारी ३ हजार ७९८ मतका साथ निर्वाचित भइन् ।
सुलिकोटमा माओवादी
गोरखाको सुलिकोट गाउँपालिकामा माओवादी केन्द्रका विष्णु भट्ट ४ हजार ६५९ मतका साथ प्रमुख पदमा निर्वाचित भए भने उपप्रमुख पदमा पनि माओवादी केन्द्रकै सनमाया गुरुङ ४ हजार ५०१ प्राप्त गरी निर्वाचित भइन् ।
मतगणनाको अन्तिम परिणाम घोषणा भएपछि एघारवटै स्थानीय तहमा दलहरुले विजय र्याली निकालेका छन् ।
करिब २० वर्षपछि निर्वाचित जनप्रतिनिधि पाएको खुसियालीमा गोरखा नगरवासीले प्रमुख पन्त र उपप्रमुख श्रेष्ठलाई बाजागाजासहित नगर परिक्रमा गरेका थिए । निर्वाचन जितेकाहरु अधिकांश हालै जागिर छाडेर राजनीतिमा प्रवेश गरेकाहरु छन् । रासस