समाचारबिहिबार, ४ जेठ , २०७४

‘मैना सुनार हत्या प्रकरण न्यायिक निश्कर्षमा पुर्याउन अपील’

हिमालखबर

माओवादी द्वन्द्वका बेला हत्या भएको मैना सुनारकी आमाले न्यायका लागि सहयोग गर्न अपील गरेकी छन् । जिल्ला अदालत, काभ्रेले गैरन्यायीक हत्यामा जन्मकैद सुनाएका सेनाका तत्कालीन तीन अधिकारी पक्राउ नपरेको सन्दर्भमा मैनाकी आमा देवी सुनारले ४ जेठमा विज्ञप्तिमार्फत यस्तो आग्रह गरेकी हुन ।

अदालतले वीरेन्द्र शान्ति तालिम केन्द्रका तत्कालीन महासेनानी बबी खत्री, सह–सेनानीद्वय अमित पुन र सुनील अधिकारीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) अनुसार जन्मकैदको फैसला सुनाएको थियो । तर फैसला भएको दुई महिना बितिसक्दा पनि अदालतबाट दोषी ठहर गरेका कोही पनि पक्राउ नपरेपछि उनले पुनः न्यायका लागि अपिल गरेकी हुन ।

१५ वर्षीय मैनालाई ५ फागुन २०६० मा सेनाको तालिम केन्द्रमा यातना दिएर हत्या गरिएको अदालतको निश्कर्ष छ । हत्याको ३२ महिनापछि राष्ट्रिय तथा अन्तराष्ट्रिय मानवअधिकारकर्मीको दबावमा उत्खनन् गर्दा उनको शव ब्यारेकभित्रकै खोल्सामा भेटिएको थियो । काभ्रेको खरेलथोकस्थित भगवती माविमा कक्षा ९ मा अध्ययनरत मैना हत्या प्रकरणमा अदालतले १३ वर्षपछि फैसला सुनाएको हो ।

चार जना विरुद्ध किटानी जाहेरी दिएकोमा निरञ्जन बस्नेतले उन्मुक्ति पाउँदा आफूले पूर्ण न्यायको अनुभूति गर्न नपाएको उनले विज्ञप्तिमा उल्लेख गरेकी छन् । बस्नेत विरुद्धको आफ्नो अपिल जिल्ला न्यायाधिवक्ताले उच्च अदालतमा प्रस्तुत नगरेको भन्दै उनले कडा आपत्ति प्रकट गरेकी छन् । विभिन्न राजनीतिक दवावमा पीडकलाई उम्काउन यस्तो गरेको हुनसक्ने देवी सुनारको आशंका छ ।

अदालतबाट जन्मकैद सजाय पाएकालाई पक्राउ गर्न हतार नगरेको जिल्ला न्यायाविक्ताले मुद्दा पुनरावलोकन गर्न नपाओस् भनेर फाईल भने छिटो बन्द गर्न खोजेको उनको आरोप छ । “हत्याराहरू पक्राउ नपरेसम्म मेरो छोरीको आत्माले शान्ति पाउने छैन” उनले भनेकी छन्, “भविष्यमा कुनै पनि आमालाई यस्तो नहोस् भन्नका लागि पनि यो न्यायिक लडाईमा मलाई तँपाईहरूको साथ चाहिएको छ ।”

प्रतिकृया दिनुहोस