माओवादी केन्द्रले महोत्तरीमा शुरु गर्यो चुनावी अभियान
पहिलो चरणको निर्वाचन सकिएलगत्तै माओवादी केन्द्र महोत्तरीले दोस्रो चरणको चुनावका लागि जिल्ला सदरमुकाम जलेश्वरबाट चुनावी अभियान शुरु गरेको छ ।
‘गाउँ नगर घरघर जाऔँ, माओवादी केन्द्रलाई विजयी गराऔँ’ भन्ने नाराका साथ माओवादी केन्द्र, महोत्तरीले आजदेखि जिल्लाका तीन नगरपालिका र १२ वटा गाउँपालिकामा चुनावी अभियान शुरु गरेको हो ।
'माओवादी केन्द्र युवा परिचालन तथा जनसम्बन्ध अभियान–२०७४' नाम दिइएको चुनावी अभियानलाई सदरमुकाम जलेश्वरस्थित महोत्तरी क्लबमा पार्टीका सांसद लालेन्द्रकुमार मण्डल, निशा साह, भूपू सांसद भरत साह, बुधनी देवी र कार्यक्रमका प्रमुख अतिथि स्थायी समिति सदस्य राजु खड्काले संयुक्तरुपमा उद्घाटन गर्दै अभियानको शुरुआत गरेका छन् ।
कार्यक्रममा वाइसिएल केन्द्रीय सदस्य शङ्कर महतो र विद्यार्थी नेता सूर्यनारायण साहको नेतृत्वमा दुईवटा अभियान टोली निर्माण गरिएको छ भने दुवै टोलीले आज जलेश्वरबाट अभियान शुरु गरी छ/छ वटा गाउँपालिका र एक/एक वटा नगरपालिकाको जिम्मेवारी बहन गर्ने जनाएको छ ।
सात दिनसम्म चल्ने अभियानमा माओवादी केन्द्रका नेता कार्यकर्ताले जिल्लाका प्रत्येक गाउँ र घरमा गएर जिल्लावासीलाई स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भाग लिन तथा माओवादी केन्द्रलाई विजयी बनाउन आग्रह गर्नेछन् ।
रासस