अन्तर्वार्ता/विचारशनिवार, बैशाख ३०, २०७४

‘असल’ रोज्ने अवसर

केदार शर्मा

निर्वाचनमा भोट खसाएर ‘खराब’ व्यक्ति र प्रवृत्तिाहरूलाई पराजित नगरी ‘असल’ हरूले ठाउँ पाउँदैनन् ।

“तपाइँ आफ्नो हैसियत अनुसारकै नेता पाउनुहुन्छ । तपाइँ मतदान गर्नुहुन्न, निर्वाचनमा ध्यान दिनुहुन्न र निर्वाचन प्रक्रियामा सहभागी हुनुहुन्न भने आफ्नो भावना प्रतिबिम्बित गर्ने नेता पनि पाउनुहुन्न ।”

अघिल्लो साता इटालीको मिलानमा आयोजित खाद्य नवरचना सम्बन्धी शिखर सम्मेलनमा अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले भनेको कुरा हो, यो ।

यता अहिलेसम्मका प्रायः सबै गलत कामका लागि नेताहरूलाई दोष दिएर पन्छिइरहेका हामी सबैले बुझनुपर्ने कुरा हो– लामो समयदेखिका हाम्रा शासकहरू हामीले नै चुनेर पठाएका व्यक्तिहरू हुन् ।

निर्वाचन वास्तविक र धाँधलीरहित भएको छ भने हामीले मात्र होइन, संसारमा सबैतिर मतदानबाट छानिने नेताले आफ्ना मतदाताको रुचि, चाहना, विचार आदिको प्रतिनिधित्व गर्छन् । निर्वाचित व्यक्तिलाई ‘जनप्रतिनिधि’ भनेको पनि त्यसैले हो ।

स्थानीय निकायहरूका लागि हामीले जनप्रतिनिधि नछानेको दुई दशक हुन लाग्यो । अर्थात्, अहिले ३७–३८ वर्ष पुग्न लागेका व्यक्तिसित पनि स्थानीय जनप्रतिनिधिलाई मत दिएको अनुभव छैन । हामीसित दलीय राजनीतिक अभ्यासको अनुभव भने २५ वर्षभन्दा बढीको छ ।

हामीले देशका प्रमुख राजनीतिक दलहरूलाई राम्रोसित चिनेका हुनाले कुनै दलको नीति र कार्यशैलीबाट सन्तुष्ट छौं भने उनीहरूका उम्मेदवारलाई आँखा चिम्लेर मत दिए पुग्छ, नयाँ दल र नेताबारे सोच्ने झ्न्झ्ट नगरे पनि हुन्छ ।

तर प्रायः त्यस्तो हुँदैन । आफैंले माया गरेका, रगत पसिना सिंचेर जोगाएका दलहरूप्रति पनि चित्त नबुझ्ेका कुरा धेरै हुन्छन् । हाम्रा अपेक्षाहरू पनि दिन प्रतिदिन बढिरहेका हुन्छन् ।

त्यसैले, हामी अहिले जे भइरहेको छ त्यससित सन्तुष्ट छैनौं र आफ्नो आर्थिक, सामाजिक, राजनीतिक हैसियत फेरियोस् भन्ने चाहन्छौं भने फरक ढङ्गले सोच्न पनि तयार हुनुपर्छ ।

हामीले आफ्नो विचार, भावना, राजनीतिक दृष्टिकोणलाई प्रतिनिधित्व गर्ने र ती सबै कुरालाई अझ् माथि लैजान सक्ने व्यक्ति रोजेर जिताउने प्रयत्न गर्नुपर्छ ।

पुनर्विचार पनि गर्नुपर्छ
लामो समयसम्म राजनीतिक विचारका आधारमा सङ्गठित हुन नपाएका नेपालीलाई दलहरूप्रतिको मोह चर्को हुनु स्वाभाविक हो । २०१७–२०४७ को दलहरूमाथिको प्रतिबन्धको धङधङी अहिलेसम्म पनि बाँकी छ ।

हामी पार्टीहरूलाई माया गर्छौं । त्यसैले पनि हामीमध्येका धेरै व्यक्ति आफूलाई कुनै खास पार्टीको मान्छे ठान्छौं ।

भनेको सुनिन्छ– “म त खानदानी कांग्रेस, २०१५ सालमा मेरा बा बीपीको चुनाव अभियानमा हिंड्नुभएको !” वा “हाम्रो त परिवारै कम्युनिस्ट । पहिले माले, अहिले एमाले । झापा विद्रोहभन्दा अघिदेखिका कम्युनिस्ट हामी, अरू पार्टीमा भोट दिने कुरै भएन ।” वा “पञ्चको नाति, राप्रपा बाहेक अन्त कता जानु ?”

त्यसो भनिरहँदा के बिर्सिरहेका हुन्छौं भने, हामी जुन समयको आदर्श र छविको कुरा गरिरहेका हुन्छौं, ती पार्टीहरू नै त्यसबाट धेरै पर पुगिसकेका छन् ।

न चुनावका पोस्टर, पर्चामा बीपी र गणेशमानको तस्वीर प्रयोग गर्दैमा नेपाली कांग्रेसमा त्यो आदर्श आउँछ न त मदन भण्डारी र मनमोहनजीको तस्वीरले एमालेको ‘त्यो’ आदर्श पुनर्स्थापित गर्छ ।

पार्टीहरूका गाडी समयको राजमार्गमा अघि बढेर, कतिपय अवस्थामा त तिनका प्रणेताहरूले नै नसोचेका ठाउँमा पुगिसकेका छन् । यात्रीहरू भने १५ साल, ३६ साल, ४८ साल जस्ता विशिष्ट मोडहरूको रोमान्समा मग्न छन् । यस्तोमा यात्राको आनन्द न गाडी हाँक्नेलाई आउँछ, न यात्रीलाई नै ।

‘राजनीतिक आस्था’ राम्रो कुरा हो । विचारका आधारमा सङ्गठित हुन पाउने स्वतन्त्रतामा पटक–पटक कुठाराघात भएको हाम्रो जस्तो देशमा जनताले दलहरूलाई माया गरेर बहुदल पक्षमा उभिनु अझ राम्रो कुरा हो ।

तर दलविशेषप्रतिको आस्थाले हाम्रो विचार र छनोटको स्वतन्त्रतालाई कुण्ठित गराउँछ भने पुनर्विचार गर्नुपर्छ । नत्र हामी स्वतन्त्र चेतना र निर्णय क्षमता भएको व्यक्ति रहँदैनौं; कांग्रेस, एमाले, माओवादी, राप्रपा वा अरू कुनै दलका मान्छे मात्र हुनपुग्छौं । हामी आफ्नै आदर्शबाट चुकेका कुनै दलविशेषका मान्छे मात्र हौं त ?

‘असल’ हरूलाई ठाउँ
माथिका तीनवटा अनुच्छेदमा आफैंप्रति अलि आलोचनात्मक भए पनि हामी परिवर्तन नचाहने व्यक्ति होइनौं । २०३७ सालमा जनमतसंग्रहमा २० वर्षदेखि चिनेको ‘माटो र हावापानी सुहाउँदो’ पञ्चायत (त्यो पनि सुधारिएको) का तुलनामा २० वर्ष अघिदेखि हमेशा बदनाम मात्र गरिएको बहुदलीय व्यवस्थाले पाएको मत (आधिकारिक २४ लाख र २० लाख) कुनै हिसाबले कम होइन ।

२०४७ मा पञ्चायतको अवसान भएलगत्तै २०४८ सालको संसदीय निर्वाचनमा कांग्रेस, एमाले र अरू बहुदलवादी दलले पाएको मत पनि हाम्रो परिवर्तनप्रेमी मनको प्रतीक हो । संविधानसभाको पहिलो निर्वाचनमा नेकपा माओवादीले पाएको र दोस्रो निर्वाचनमा उसले गुमाएको मतले पनि हाम्रो राजनीतिक चेतनालाई प्रतिबिम्बित गर्छ ।

अर्थात्, हामी परिवर्तन चाहन्छौं । सम्भवतः पञ्चायतको निर्दलीय अभ्यासप्रतिको वितृष्णाका कारण हामी निर्दलीय उम्मेदवारलाई सितिमिति विश्वास गर्दैनौं ।

हामीले तमाम असन्तुष्टिका बाबजूद केही दललाई मत दिइरहनुको कारण पनि यही हो । यसरी हेर्दा असली बहुदलीय चरित्र हामीसित छ, जुन ६ दशकदेखि संसदीय प्रजातन्त्रको अभ्यास गरिरहेको भारतका कतिपय ठाउँको भन्दा परिमार्जित देखिन्छ ।

बल्लबल्ल दुई दशकमा स्थानीय तहहरूको निर्वाचन आएको छ । यो निर्वाचन कति महŒवपूर्ण छ भने, यसमा भाग लिइएन भने नेपाली राजनीतिको बस छुट्छ भन्ने कुरा सबैले बुझेका छन् ।

अरू त परै जाओस्, मोहन वैद्यको समूहले समेत यसमा भाग लिएर सधैंभरि आतङ्कको घुर्की लगाएर बस्ने दलको आफ्नो पहिचान फेर्न खोजेको बुझ्न्छि । जसलाई नेपालमा राजनीति बाहेकका गतिविधि मात्र गर्नु छ, उनीहरू यो निर्वाचन बाहिर छन् ।

यो लोकतान्त्रिक महायज्ञमा सबै दल आ–आफ्ना महत्वाकांक्षी घोषणापत्रसहित सहभागी भएर मतदाता रिझाउने प्रयत्न गरिरहेका छन् । मुलुकको राजनीतिको जग स्थानीय तहमा आफ्नो उपस्थिति बलियो पार्न दलहरू मरिमेटेर लाग्नु स्वाभाविक हो ।

तर त्यसभन्दा महत्वपूर्ण दायित्व मतदातामाथि छ, किनभने यो निर्वाचन हाम्रो लोकतन्त्रको मेरुदण्ड हो, हाम्रा गाउँठाउँलाई बलियो पार्ने अवसर हो ।

स्थानीय निर्वाचनले हामीलाई तीन वटा अवसर दिन्छ । पहिलो, सबै निर्वाचनले जस्तै उपयुक्त व्यक्ति रोजेर स्थानीय निकायलाई सोचेजस्तो बनाउने ।

दोस्रो, आफूलाई उपयुक्त लागेको दललाई बलियो बनाउने र तेस्रो, आफूलाई खराब लागेकालाई हराउने ।

तेस्रो बुँदा नकारात्मक सुनिन सक्छ, तर वास्तवमा यो बुँदा पनि सकारात्मक नै हो, किनभने ‘खराब’ व्यक्ति र प्रवृत्तिहरूलाई पराजित नगरी ‘असल’ हरूले ठाउँ पाउँदैनन् ।

असल र खराब
असल र खराब अलिकति मनोगत कुरा पनि हुन् । त्यसैले यसका लागि कुनै सूत्र निरुपण गर्नुभन्दा आफूलाई लागेको कुरा भन्न उचित हुन्छ । असल दल र उम्मेदवार छान्ने मेरा बुँदाहरू यस्ता छन्–

 जुन दल र उम्मेदवारले संवैधानिक प्रक्रिया र सीमाहरूलाई स्वीकार गरेको छ, चित्त नबुझेका कुरा परिवर्तन गर्न पनि संवैधानिक प्रक्रिया छाडेको     छैन,

 जसले गुट बनाएर आफ्नो दललाई कमजोर बनाएको छैन,

 जो हत्या–हिंसामा सैद्धान्तिक र व्यावहारिक हिसाबले विश्वास गर्दैन,

 जो अपराधीहरूलाई उन्मुक्ति दिन वैध–अवैध प्रयत्न गर्दैन,

 जो गुण्डाहरूको संरक्षण र प्रयोग गर्दैन,

 जो पर्दापछाडिका खेलमा लागेर आफैंले आफ्नो औचित्य सावित गर्न नसक्ने काम गर्दैन,

 जसले दल वा गुटको स्वार्थका लागि सार्वजनिक अहित हुने, तोडफोड, बन्द जस्ता नकाम गरेको छैन,

 जुन दलले राष्ट्रिय विषयवस्तुमा स्पष्ट विचार राखेको छ, जनताको पक्षमा बोलेको छ,

 जसले स्थानीय विषयवस्तु र समस्या राम्रोसित बुझेको व्यक्तिलाई उम्मेदवार बनाएको छ,

 जोसँग टीम परिचालन गर्ने क्षमता छ,

 जसले शिष्ट र अरूलाई बाधा नगर्ने प्रचारप्रसार विधि अपनाएको छ,

 जसले नहुने सपना देखाएर तपाइँको भावनाको अपमान गरेको छैन ।

थाहा छ, यस्ता मापदण्डहरूमा जाँचेर कुनै दलका उम्मेदवारलाई ‘असल’ साबित गर्न गाह्रो हुन्छ । तर हामी आफ्ना मापदण्डमा कठोर भएनौं भने समयको कठोर प्रहार खप्नुपर्छ ।

प्रतिकृया दिनुहोस