मुलुकलाई निकास दिन निर्वाचनमा सहभागी भयौं: उपेन्द्र यादव
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई निकास दिन आफ्नो दल निर्वाचनमा सहभागी रहेको बताएका छन् ।
३१ वैशाखमा हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनले देशभर उत्साहप्रद माहोल बनेको भन्दे उनले निर्वाचनमा व्यापक जनसहभागिता हुने विश्वास व्यक्त गरेका छन् ।
"निर्वाचनमा नजाँदा किन गईनस् भन्छन्, अनि निर्वाचनमा भाग लिँदा किन गइस् भन्छन्," रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले भने, "यो कस्तो प्रश्न होला, बडा विचित्र छ।"
उनले आफू जन्मिएको माटो र जन्मभूमिलाई सम्झिएर निर्वाचनमा भाग लिएको बताए ।
"मैले आफू जन्मेको भूमिलाई सम्झिएँ, माटोलाई सम्झिएँ, निर्वाचनबाट मुलुकलाई अघि बढाउन सकिन्छ भन्ने सोचेर नै सहभागी हुने निर्णय गरेको हुँ," यादवले भने ।
विभिन्न आन्दोलनहरुबाट प्राप्त भएका उपलब्धिहरुलाई संस्थागत गर्नको लागि निर्वाचनमा जानुको विकल्प नभएको देखेपछि अपर्झट यस्तो निर्णय लिएको उनले दाबी गरे ।
यादवले चुनावलाई पनि आफूहरुले संघर्षको रुपमा लिएको भन्दै थपे, "निर्वाचनमा भाग लिनु भनेको जनतामा जानु हो, त्यसैले यो पनि एउटा संघर्ष नै हो नि।"
सरकारले परिमार्जन सहितको संविधान संशोधन विधेयक सदनमा अघि बढाएकोले पारित हुने विश्वासका साथ आफ्नो पार्टी चुनावमा होमिएको पनि बताए। भने, "बैशाख ९ गते सत्तारुढ दल र मधेशी मोर्चावीच संशोधन प्रस्ताव अघि बढाउने भन्नेबारेमा विषयवस्तुमा नै सहमति भएको हो, सहमति अनुसार नै १७ गते संशोधन प्रस्ताव पारित गराउने प्रयास गरेको भए पनि त्यही दिन १० जना सांसद गायब भएकोले पारित हुन सकेन ।"
उनले अब जेठ ४ गतेको लागि संसद बैठक बोलाईएकोले सकेसम्म त्यही दिन नभए त्यही आसपासमा संशोधन प्रस्ताव पारित हुने समेत विश्वास व्यक्त गरे ।
उनले भने, "मलाई विश्वास छ, संशोधन प्रस्ताव पारित हुन्छ,एमाले संशोधनमा बाधक बन्दैन।"
'महन्तले षडयन्त्र गरे'
यादवले हालै संघीय गठबन्धनबाट आफूलाई हटाएको भनी राजपा अध्यक्ष मण्डलका नेता विज्ञप्ति जारी गरेकोमा आक्रोश व्यक्त गरे ।
उनले भने, "महन्थ ठाकुरजीले आफू अध्यक्ष भएको भनेर आँफै मनगढन्ते वक्तव्य जारी गर्नुभएछ, मलाई भनेको भए त म आँफै उहाँलाई फुल, माला र अविर लगाएर पद दिन्थें, यो त घटिया षड्यन्त्र हो।"
"एक दुई जना मान्छे बोलाएर आफूले आँफैलाई गठबन्धनको संयोजक तोक्नु लाजमर्दो कुरा हो," यादवले अगाडि भने ।