निर्वाचनको सन्देश बोकेर गुड्दै साझा
स्थानीय तहका मतदानको दिन नजिकिँदै गर्दा ‘मेरो मत अमूल्य छ’ भनी लेखिएको निर्वाचनको सन्देश बोकेका साझा बस राजधानीका सडकमा गुड्न थालेका छन् ।
आज कान्तिपथस्थित निर्वाचन आयोग परिसरमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले साझा बसमा निर्वाचन आयोगको लोगो अङ्कित झन्डा फहराएर निर्वाचनको सन्देश प्रचारप्रसारको शुभारम्भ गरेका हुन् ।
साझा बसका २३ वटा गाडीमा यस्ता स्टिकर टाँसिएको निर्वाचन आयोगले जनाएको छ । गाडीमा टाँसिएका स्टिकरले मतदातालाई आफ्नो अमूल्य मतको महत्व झल्काउनुका साथै मतदानका लागि प्रेरित गर्ने विश्वास गरिएको छ ।
कार्यक्रमपछि पत्रकारसँग कुराकानी गर्दै प्रमुख आयुक्त डा यादवले पहिलो चरणको निर्वाचनमा खटिएका कर्मचारी आजबाट सबै मतदान केन्द्रमा पुगिसकेको जानकारी दिए ।
प्रदेश नं ३, ४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहका छ हजार ६४२ मतदान केन्द्रमा मतदान अधिकृतको टोलीले आजदेखि शनिबारसम्म मतदाताको परिचयपत्र वितरण गर्ने उनले जानकारी दिए । रासस