मतदाता शिक्षा प्रभावकारी नहुँदा मत बदर हुने डर
मतदाता शिक्षा प्रभावकारी नहुँदा अधिकतम मत बदर हुने डर भएको राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय जुम्लाले जनाएको छ ।
२७ वैशाखमा आयोजित अन्तरक्रियामा मानवअधिकार उपक्षेत्रीय कार्यालय जुम्लाका निमित्त निर्देशक मानबहादर कार्कीले अनुगमनका क्रममा मतदाता शिक्षाअन्तर्गत मत कसरी हाल्ने भन्ने विषयमा मतदातालाई जानकारी नभएको बताएका हुन् ।
“जिल्ला निर्वाचन कार्यालय जुम्लाले ८३ मतदाता शिक्षा कार्यकर्ता खटाए पनि अनुगमनमा जाँदा मतदातासम्बन्धी जान्नुपर्ने कुरा नागरिकलाई सूचित नभएको पाइयो, यसले मतपत्र बढी नै बदर हुने देखिन्छ,” उनले भने ।
अन्तरक्रिया कार्यक्रममा नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले नागरिकलाई मतदानसम्बन्धी शिक्षा प्रभावकारी नभएको बताए ।
उम्मेदवारी दर्ताको समयमा सूचना माग्दा पनि व्यस्त छौँ भन्ने, फोन नउठाउने तथा स्विच अफ गर्ने गरेको दुःखेसो उनीहरुको थियो । महिला विकास अधिकृत गोमा प्रसार्इंले जिल्लामा मानव अधिकारको विषयमा लैङ्गिक समानताको सवाललाई मुख्यरुपमा ध्यान दिन आग्रह गरेकी थिइन् । रासस