काठमाडौँलाई रेल होइन सफा सडक चाहिएको छ: रञ्जु दर्शना
विवेकशील नेपाली दलले आज काठमाडौंको सानो गौचरणमा चुनावी सभा गरेको छ ।
विवेकशीलबाट काठमाडौंमा मेयरकी उम्मेदवार रन्जु दर्शनाले सभालाइ सम्बोधन गर्दै आफू मेयर भएपछि काठमाडौंका साधारण समस्या समाधान गर्ने बताइन् ।
काठमाडौंको अहिलेको आवश्यकता मेट्रो र मोनो रेल नभएर सडकमा भएका खाल्डा खुल्डी पुर्नु रहेकोले आफ्नो प्राथमिकता त्यही रहने बताइन् । लुटतन्त्र विरुद्ध आफूमा आक्रोस रहेको भन्दै उनले केही दिन अघि बानेश्वरमा दिएको भाषण त्यसैको प्रस्फुटन भए पनि आफू शब्द चयनमा भने चुकेको स्वीकार गरिन् ।
आगामी दिनमा पनि भ्रस्टाचार बिरुद्धको अभियान जारी रहने भन्दै उनले उनले पुराना दलहरुले युवालाई ढुंगा मुढा गर्न सिकाउने तर नेतृत्वबाट भने बन्चित गरिरहेको आरोप लगाइन् l
कार्यक्रममा काठमाडौं महानगरपालिकाका वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरुको समेत सहभागिता थियो ।
सभालाई सम्बोधन गर्दै विवेकशील नेपाली दलका व्यवस्थापिका प्रमुख गोविन्द नारायणले भने, “अब इतिहास कागजमा होइन कर्ममा लेख्ने बेला भएको छ ।” उद्यमी आशुतोष तिवारीले विवेकशील नेपाली दल आर्थिक रुपमा पारदर्शि रहेको कुरा बताउंदै रन्जु दर्शनालाई साथ दिन काठमाडौंबासीलाई आग्रह गरे ।
सभामा गायिका प्राश्ना शाक्य, अराज केशव, रुसान श्रेष्ठले सांगीतिक प्रस्तुती दिएका थिए ।