रिपोर्टबुधवार, बैशाख २७, २०७४

नेपाली बौद्ध सर्किट

बच्चु विक

ट्रान्स एशियन र अन्तर्राष्ट्रिय बौद्ध सर्किटको चर्चासँगै देशभित्रका बुद्धसँग सम्बन्धित स्थान जोड्ने गरी राष्ट्रिय बौद्ध सर्किट बनाउने तयारी थालिएको छ।

गौतमबुद्ध हिंडेको तिलौराकोट दरबार क्षेत्रको बाटो। जस माथिपट्टिबाट काठ बिछ्याइएको छ।

१८ साउन, २०७१ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमण र त्यसअघि भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणका क्रममा चर्चामा रहेको विषय थियो, अन्तर्राष्ट्रिय बौद्ध सर्किट। जसमा शाक्यमुनि बुद्ध (गौतम बुद्ध) जन्मिएको नेपालको लुम्बिनीदेखि मृत्यु भएको भारतको कुशीनगरसम्म जोड्ने प्रस्ताव गरिएको थियो। 

त्यसको सात महीनापछि ८ फागुन, २०७१ मा नेपाल–भारत सचिवस्तरीय टोलीबीच नयाँदिल्लीमा त्यसअनुरूपको बौद्ध सर्किट निर्माणबारे सहमति भयो। ७०० किलोमिटर लामो सर्किटमा नेपालको लुम्बिनी, भारतको बोधगया, सारनाथ र कुशीनगर जोडिने उल्लेख छ। नेपालसँगको यस्तो सहमतिअघि नै मुलुकमा उपलब्ध तीन वटा स्थान जोडेर भारतले बौद्ध सर्किट सञ्चालनमा ल्याइसकेको थियो।

त्यसअघि पनि १०–११ मंसीर, २०७१ मा भएको १८औं सार्क शिखर सम्मेलन र २९–३० असोज, २०७३ मा भारतको गोवामा भएको बेे अफ बंगाल इनिसिएटिभ फर मल्टिसेक्टरल टेक्निकल एन्ड इकोनोमिक कोअपरेसन (बिम्सटेक) शिखर सम्मेलनमा 'ट्रान्स एशियन बुद्धिस्ट सर्किट' को चर्चा भएको थियो। जसमा नेपाल, भारत, जापान, श्रीलंका, थाइल्याण्ड, कम्बोडिया र इन्डोनेशियाका बुद्धसँग सम्बन्धित स्थानलाई जोड्ने योजनाबारे छलफल गरिएको थियो।

तर, यी दुवै बौद्ध सर्किट निर्माणले अपेक्षित गति लिन नसकिरहेका बेला सरकारले भने आफ्नै 'राष्ट्रिय बौद्ध सर्किट' बनाउने भएको छ। लुम्बिनी विकास कोषले 'बुद्धिस्ट सर्किट अफ नेपाल (बीसीएन)' योजनामार्फत यसलाई अघि बढाएको छ। “बुद्धसँग सम्बन्धित देशभित्रका सबै स्थानलाई जोडेर बौद्ध सर्किटको तयारी थालेका छौं”, लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत एवं काठमाडौं सम्पर्क कार्यालय प्रमुख ज्ञानिन राई भन्छन्।

आफ्नै सर्किट
अहिलेको नेपाली भूमिमा जन्मिएका तीन बुद्ध कनकमुनि, क्रक्रुच्छन्द र शाक्यमुनिमध्ये शाक्यमुनि (गौतम) बुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर राष्ट्रिय बौद्ध सर्किट बनाउन लागिएको हो।

सर्किटमा लुम्बिनीसँगै सिद्वार्थ गौतमले २९ वर्ष विताएको २७ किलोमिटर पश्चिममा रहेको कपिलवस्तुस्थित तिलौराकोट र ५७ किलोमिटर उत्तरपूर्वको मावली गाउँ देवदह (प्राचीन कोलिय राज्यको राजधानी) समेटिएको छ। यी तीन प्रमुख ठाउँसँगै लुम्बिनीबाट करीब ३०० किलोमिटर पश्चिममा रहेको सुर्खेतको काँक्रेविहार पनि जोडिनेछ, जहाँ १२औं शताब्दीमा विहार निर्माण गरिएका तथ्यहरू उत्खननका क्रममा भेटिएका छन्।

पोखराका शान्ति स्तूप, मुस्ताङको लोमान्थाङ, मुक्तिनाथलाई पनि सर्किटमा समाविष्ट गरिनेछ। सर्किटको चौथो प्रमुख गन्तव्य भने काठमाडौं रहनेछ, जहाँ स्वयम्भू, बौद्ध, काभ्रेको नमोबुद्धलगायतका बुद्धसँग सम्बन्धित सम्पदा छन्।

गुरु पद्मसम्भवले ज्ञान प्राप्त गरेको स्थान मानिएको खोटाङको हलेसीलाई सर्किटको पाँचौं र छैटौं तथा अन्तिम गन्तव्य चाहिं झापाको दमकमा बनाउन लागिएको छ। दमकमा बौद्धसँग सम्बन्धित विशेष सन्दर्भ नभए पनि पर्यटकीय गन्तव्यका रूपमा जोड्न लागेको लुम्बिनी विकास कोषले जनाएको छ।

युनेस्कोको लुम्बिनी उत्खनन् कार्यक्रमका सह–निर्देशक एवं पुरातत्व विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य बुद्धसँग सम्बन्धित स्थानहरूलाई सर्किटका रूपमा जोड्नु आवश्यक भइसकेको बताउँछन्। “बुद्ध सर्किटका बारेमा काम गर्दा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै हिसाबले सोच्नुपर्छ” आचार्य भन्छन्, “तर, पहिले आन्तरिक 'कनेक्टिभिटी' नै बढाउनुपर्छ।”

अन्तर्राष्ट्रिय बौद्ध सर्किटमा जोडिनु अघि आन्तरिक बौद्ध सर्किट तयार गर्नु आवश्यक रहेको अध्येताहरू बताउँछन्। बौद्ध दर्शन तथा पर्यटकीय दृष्टिकोणले लुम्बिनी पुग्ने पर्यटक केही दिन नेपालमै बस्ने गरिको आन्तरिक बौद्ध सर्किट बनाइनुपर्ने पनि कतिपयको धारणा छ।

बौद्ध दर्शन तथा बुद्धसँग सम्बन्धित पुरातात्विक महत्वका स्थानहरूको अध्ययन गरिरहेका बसन्त महर्जन भन्छन्, “अहिले लुम्बिनी पुग्ने, एक/दुई घण्टा घुमफिर गर्ने र फर्किने मात्रै भइरहेको छ, प्याकेज बनाउने हो भने केही दिन नेपालमै घुमाउन र बुद्ध दर्शनबारे जानकारी पनि दिन सकिन्छ।”

ओझेलमा 'मिनी सर्किट'
राष्ट्रिय बौद्ध सर्किटको चर्चा भइरहँदा पाँच वर्षदेखि नै थालिएको लुम्बिनी, तिलौराकोट, देवदह र रामग्रामसहितको १५० किलोमिटर लामो 'मिनी बुद्ध सर्किट' ओझेलमा परेको छ।

“हामीले गौतम बुद्ध जन्मेको लुम्बिनीलाई मात्रै प्रचार गर्‍यौं, उनले २९ वर्ष विताएको तिलौराकोटको चर्चा गर्न सकेनौं”, लुम्बिनी र तिलौराकोटको उत्खनन्मा संलग्न त्रिभुवन विश्वविद्यालयका प्रा.डा. मदनकुमार रिमाल भन्छन्।

सन् १८९९ मा गरिएको अध्ययन अनुसार तिलौराकोटलाई राजधानी मानिंदै आएको थियो भने पछि सन् १९७० मा तिलौराकोट होइन भन्ने विवाद आयो।

“अब विवाद सकिएको छ, शाक्य राज्यको राजधानी तिलौराकोट नै भएको थुप्रै प्रमाण फेला पारिसकेका छौं”, वरिष्ठ पुरातत्वविद् आचार्य भन्छन्।

जापानको सहयोगमा युनेस्कोले लुम्बिनी संरक्षण तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत सन् २०११–१२ मा लुम्बिनी क्षेत्रको उत्खनन् गरेको थियो।

उत्खनन्का क्रममा त्यहाँ बुद्धको जन्मसँग सम्बन्धित आकृतिहरू र थप दुइटा अशोक स्तम्भ समेत भेटिएको थियो। दोस्रो चरणमा सन् २०१४ देखि तीन वर्ष तिलौराकोटमा गरिएको उत्खनन्मा पनि तिलौराकोट नै शाक्य राज्यको राजधानी रहेको तथ्यहरू भेटिएका हुन्। इसापूर्व आठौं शताब्दीमा शहर रहेको र इसापूर्व छैटौं शताब्दीमा किल्ला निर्माण गरिएको तथ्यहरू भेटिएको थियो।

युनेस्कोको लुम्बिनी उत्खनन् कार्यक्रमका सह–निर्देशक आचार्य तिलौराकोटमा इसापूर्व छैटौं शताब्दीमा पाइने जस्ता पोलेका ईंटाले बनाइएका दरबार, किल्ला र घरहरूका अवशेष भेटिएको बताउँछन्।

युनेस्कोले तेस्रो चरणमा रामग्रामको उत्खनन् गर्ने भएको छ। मिनी सर्किटको चौथो गन्तव्य रामग्राममा प्राचीन बौद्ध स्तूप रहेको तर त्यसको उत्खनन् गर्न बाँकी रहेको पुरातत्वविद्हरूको ठम्याइ छ। तिलौराकोट र रामग्रामलाई युनेस्कोले 'संभाव्य विश्व सम्पदा सूची' भनेको छ।

बुद्ध हिंडेको बाटो
तिलौराकोट उत्खनन्मा युनेस्को, पुरातत्व विभाग, लुम्बिनी विकास कोष र त्रिभुवन विश्वविद्यालयको टोली संलग्न छन्। 'ग्रेटर लुम्बिनी' नामक उत्खनन् कार्यको नेतृत्व बेलायतको डुरहाम विश्वविद्यालयका प्राध्यापक रोविन कनिघमले गरेका छन्।

उत्खनन्का क्रममा दरबारको केन्द्र भाग, त्यसभित्रका विवरणहरू पनि भेटिएका छन्। किल्ला र त्यसभित्रका अवशेष पनि फेला परेका छन्। “प्राचीन समयमा बाह्रगंगा (भागीरथी नदी) बाट पानी ल्याएर दरबार क्षेत्र किल्ला (नहर) द्वारा घेरिएको थियो” उत्खनन्मा संलग्न प्रा.डा. रिमाल भन्छन्। अहिले त्यही स्वरुपमा नदीको पानी घुमाएर राख्न खोजिएको उनी बताउँछन्।

बुद्धत्व प्राप्तिका लागि घर छाड्नुअघिको २९ वर्ष सिद्धार्थ गौतमले तिलौराकोट दरबारमै विताएका थिए। उत्खनन्मा त्यसबेला दरबारको बाटो पनि भेटिएको छ।

प्राचीन समयमा ईंटाले बनाइएको उक्त बाटोमा अहिले काठ राखेर प्राचीन बाटोलाई नै निरन्तरता दिइएको छ। यसबाट प्राचीन समयमा सिद्धार्थ गौतमले हिंडेको पुरानै बाटो हिंड्दै प्राचीन सम्पदाहरूको अवलोकन गर्न सकिनेछ।

प्रतिकृया दिनुहोस