दक्षिण कोरियाको राष्ट्रपतिमा मून निर्वाचित
दक्षिण कोरियामा मून जाए–इन राष्ट्रपति निर्वाचित भएका छन् ।
दक्षिण कोरियामा मून जाए–इन राष्ट्रपति निर्वाचित भएका छन् । डेमोक्रेटिक पार्टीबाट उमेदवार मूनले कुल खसेको मतको ४१.०८ प्रतिशत मत प्राप्त गरी विजयी भएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी होङ जुन प्योले २४.३ प्रतिशत मत प्राप्त गरे ।
उनै मून गत वर्षको असार महीनामा नेपाल आएर १४ दिन विताएका थिए । यहाँ कुनै राजनीतिक भेटघाट नगरेका मून एक दिन काठमाडौं बसेपछि नुवाकोट हुँदै लाङटाङ ट्रेकिङमा गएको उनको भ्रमणको व्यवस्था मिलाएको ट्रेकिङ एजेन्सी ‘म्याप- नेपाल ट्रेक एण्ड एक्सपिडिसन’ का भक्तराम लामिछाने बताउँछन् ।
मूनले भूकम्पबाट क्षतिग्रस्त नुवाकोटको बेलकोटस्थित आरुखर्क मावि पुगेर श्रमदान समेत गरेका थिए । आरुखर्क माविलाई विज्ञान विषयको प्रयोगात्मक सामाग्री सहयोग गरेका मून अत्यन्तै सरल र उदार स्वभावका भएको लामिछाने बताउँछन् ।
“हामी लाङटाङ जाँदा भूकम्पले क्षतिग्रस्त बाटो बनिसकेको थिएन, बाटोमा ढुंगा पन्छाउने देखि कोदालो चलाउनेसम्मको काम गर्न उहाँ आफैं तम्सिनुहुन्थ्यो,” लामिछाने भन्छन, “त्यत्रो नेता यस्तो साधारण मानिस हुनुहोला जस्तो लागेको थिएन ।”
मून सन् २०१२ मा समेत राष्ट्रपतिका उमेदवार थिए भने त्यसअघि तत्कालीन राष्ट्रपति रो मू यूनका राजनीतिक सल्लाहकार । मून राष्ट्रपतिका सल्लाहकार हुँदाखेरी दक्षिण कोरियामा आप्रवासी मजदूरहरुको हितमा काम भएको लामिछाने बताउँछन् । लामिछाने आफैं पनि रोजगारका क्रममा तीन वर्ष दक्षिण कोरिया बसेका थिए ।
“मूनले यहाँ आएका बेला कोरिया पुगेर फर्केका नेपालीहरुसँग भेटी नेपाली मजदूरहरुको समस्याबारे जानकारी लिनु भएको थियो, अब पक्कै पनि उहाँबाट आप्रबासी मजदूरहरुको हितमा काम हुनेछ,” लामिछानेले भने ।
गोसाइँकुण्ड सम्म पुगेका मूनले नेपालका हिमाल र नेपालीलाई अत्यन्तै मन पराएको भन्दै लामिछानेले उनले हातले खाना खाएको पनि स्मरण गरे ।
"हामी ट्रेकिङ् स्टाफहरु गेष्टसँग बसेर खान मिल्दैन तर उहाँले कर गरेरै हामी सबैसँग बसेर खानुहुन्थ्यो," लामिछानेले भने, "नेपालीहरु हातले खाना खान्छन् भन्ने थाहा रहेछ, उहाँले पनि सजिलै हातले खानुभयो बरु उहाँसँगै रहेका अन्य कोरियालीलाई हातले खान गाह्रो भएको थियो,”
ट्रेकिङपछि काठमाडौं फर्केर उद्योगपति विनोद चौधरीसँग भेट गरेका मून नेपाल भ्रमणपछि सात सदस्यीय टोलीसँग भूटानतर्फ लागेका थिए ।
त्यसअघि पनि २००९ तिर मून नेपाल आएका थिए । त्यसबेला तत्कालीन कोरियाली राष्ट्रपतिको मृत्यु भएपछि उनी आफ्नो बसाई छोट्टयाएर कोरिया फर्केका थिए ।
गए राति विजय घोषणा हुनुअघि आफ्ना समर्थकमाझ बोल्दै मूनले देशमा न्याय र सुशासन कायम गर्ने वाचा गरेका छन् ।
पूर्व राष्ट्रपति पार्क गुन– हेलाई भ्रष्टाचारको आरोपमा दोषी पाइएपछि निर्धारित समय अगाडि नै कोरियामा राष्ट्रपतिको निर्वाचन गरिएको हो । निर्वाचनमा १२ जना उमेदवार प्रतिस्पर्धामा थिए ।
मूनले उत्तर कोरियाप्रतिको नीतिमा परिवर्तन गर्न सक्ने अनुमान गरिएको छ । उत्तर कोरियाली शरणार्थीका सन्तान मूनले दक्षिण कोरियाको विशेष फौजमा काम गरिसकेका छन् र उनी मानवअधिकार अधिवक्ता समेत हुन् ।