गायक गुरुङको अन्त्येष्टि
लोकगायक खेमराज गुरुङको आज साँझ पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज दिउँसो नेपाल प्रज्ञा–प्रतिष्ठानमा राखिएको थियो । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीलगायत श्रद्धाञ्जलि दिन प्रज्ञाप्रतिष्ठान पुगेका थिए ।
त्यस्तै आर्यघाटमा नेकपा एमालेका कावा अध्यक्ष वामदेव गौतमले गुरुङ्को शवमा पार्टीको झन्डा ओढाएका थिए । यसअघि गुरुङ्को पार्थिव शरीरलाई आज बिहानै विशेष हेलिकप्टरबाट गृह जिल्ला सङ्खुवासभाको खाँदबारीमा लगिएको थियो जहाँ हजारौँ सर्वसाधारणको उपस्थिति थियो ।
लोकप्रिय ‘वारि जमुना पारि जमुना, जमुनाको फेदैमा मनकामना’ गीतका गायक गुरुङको ४२ वर्षका उमेरमा ९ भदौमा चाबहिलस्थित मेडिकेयर हस्पिटलमा निधन भएको थियो ।
गुरुङका आमा र दिदी बेलायतमा भएका कारण उनीहरू आएपछि मात्र अन्त्येष्टि गरिएको हो । त्यतिन्जेल शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको थियो ।
गुरुङका ‘जीवन’, ‘जीवन–२’, ‘अनमोल’, ‘धरान–पोखरा’, ‘सोल्टी’, ‘आलुतामा’, ‘ढाक्रे, ‘ढाक्रे (लोकगीत)’, ‘घुमफिर’लगायत लोक तथा पप गीतका सङ्ग्रह बजारमा उपलब्ध छन् ।