प्रधानमन्त्री पद हस्तान्तरण कति सहज, के छ कानुनी व्यवस्था ?
स्थानीय तहको पहिलो चरणको निर्वाचन ३१ बैशाखमा सम्पन्न भएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिने र लगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने चर्चाले यतिखेर राजनीतिक वृत्त तातेको छ ।
कांग्रेस सभापति देउवाले निकटस्थहरुसँग आफू जेठ पहिलो साता प्रधानमन्त्री बन्ने र आफ्नै सरकारले बजेट ल्याउने बताइरहेका छन् । संविधानमा गरिएको व्यवस्था अनुसार सरकारले १५ जेठमा व्यवस्थापिका–संसदमा बजेट प्रस्तुत गर्नुपर्छ ।
३१ बैशाखको निर्वाचनलगत्तै १ जेठमा प्रधानमन्त्री दाहालले राजीनामा दिए भने पनि देउवा जेठ पहिलो साता नै प्रधानमन्त्री बन्न सक्छन् त ? नयाँ प्रधानमन्त्री चयनका लागि कति समय लाग्छ ?
बहालवाला प्रधानमन्त्रीले पदबाट राजीनमा गरेपछि र सबै प्रक्रिया सहज रुपमा सम्पन्न हुँदा पनि नयाँ प्रधानमन्त्री नियुक्त हुन कम्तीमा १० दिनको समय लाग्छ ।
अधिवक्ता रेशमराज रेग्मी बहालवाला प्रधानमन्त्रीले राजीनामा गरेको खण्डमा नयाँ प्रधानमन्त्रीको चयनका लागि सबै प्रक्रिया द्रुत गतिमा अघि बढाउँदा पनि संविधानको संक्रमणकालीन व्यवस्था र संसद नियमावली अनुसार नयाँ प्रधानमन्त्रीले शपथ ग्रहण गर्न कम्तीमा १० दिन लाग्ने बताउँछन् ।
प्रधानमन्त्रीले आफ्नो पदबाट राजीनामा दिएमा नेपालको संविधानको संक्रमणकालीन व्यवस्था सम्बन्धी धारा २९८ (२) अनुसार राष्ट्रपतिले सहमतीका आधारमा सात दिनभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद गठन गर्न व्यवस्थापिका–संसदलाई आह्वान गर्ने व्यवस्था छ ।
राष्ट्रपतिले सहमतिमा प्रधानमन्त्री चयनका लागि दिएको ७ दिनको समयसीमाभित्र सहमति जुट्न नसकेमा पुनः सहमतिकै लागि आह्वान गर्न सक्ने अभ्यास पनि छ । त्यसो हुँदा नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया अझैं लामो हुन सक्छ ।
तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले मंसीर २०६९ मा सहमतिका आधारमा सरकार गठनका लागि दुई पटकसम्म म्याद थप गरेका थिए ।
सहमतिका आधारमा प्रधानमन्त्री चयन नभएमा राष्ट्रपतिले बहुमतीय आधारमा प्रधानमन्त्री चयनका लागि संसदलाई आह्वान गर्ने व्यवस्था छ ।
अहिले सहमतीका आधारमा प्रधानमन्त्री चयन हुने अवस्था लगभग नरहेकाले ७ दिनको म्याद सकिएपछि संसद सचिवालयले सहमति हुन नसकेको जानकारी राष्ट्रपतिलाई गराउनेछ । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतका आधारमा प्रधानमन्त्री चयन गर्न संसदलाई आह्वान गर्नेछिन् ।
त्यसपछि संसद सचिवालयले राजनीतिक दलहरुसँग परामर्श गरी प्रधानमन्त्री पदका लागि निर्वाचन कार्यक्रम घोषणा गर्नेछ ।
प्रधानमन्त्रीका लागि एक जनाको मात्रै प्रस्ताव दर्ता भएमा पनि संसदमा त्यससम्बन्धी छलफल र निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा गरेको ११ दिनपछि पुष्पकमल दाहालले प्रधानमन्त्रीको शपथ ग्रहण गरेका थिए । ९ साउन २०७३ मा ओलीले राजीनामा गरेपछि पुष्पकमल दाहालले प्रधानमन्त्रीको शपथ ग्रहण गर्दासम्म ११ दिन लामो प्रक्रिया चलेको थियो ।
ओलीको पालामा त्यसअघि नै संसदमा अविश्वासको प्रस्ताव दर्ता भए पनि त्यससम्बन्धी प्रक्रिया शुरु नहुँदै उनले राजीनामा दिएपछि संसदमा त्यस सम्बन्धी छलफल र मतदान गर्नु परेको थिएन ।
पुष्पकमल दाहालको नेतृत्वमा वर्तमान सरकार गठन हुँदाका बेला स्थानीय तहको निर्वाचन लगत्तै दाहालले राजीनामा गर्ने र शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री बन्ने ‘भद्र सहमति’ भएको कांग्रेस नेताहरुले बताउँदै आएका छन् ।
त्यसबेलाको ‘भद्र सहमति’ अनुसार दाहालले सहजै राजीनामा गरेर देउवालाई सत्ता हस्तान्तरण गर्लान् ? या दाहालले एमाले लगायतका दलहरुको समर्थनमा आफू प्रधानमन्त्री बनिरहने रणनीति अख्तियार गर्लान् ? यसको छिनोफानो हुन भने अबका केही दिनका राजनीतिक दाउपेच निर्णायक हुनेछन् ।
संविधानमा के उल्लेख छ हेर्नुहोस:
२९८. मन्त्रिपरिषदको गठन सम्बन्धी व्यवस्था:
(२) यो संविधान प्रारम्भ हुँदाका बखत व्यवस्थापिका–संसदको अधिवेशन चलिरहेको रहेछ भने यो संविधान प्रारम्भ भएको मितिले र अधिवेशन चलिरहेको रहेनछ भने धारा २९६ को उपधारा (६) बमोजिम आह्वान गरिएको व्यवस्थापिका–संसदको अधिवेशन प्रारम्भ भएको मितिले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुनेछ ।
(३) उपधारा (२) बमोजिम सहमति कायम हुन नसकेमा व्यवस्थापिका–संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचित हुनेछ ।
मन्त्रिपरिषदको गठन:
(१) राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुनेछ ।
व्यवस्थापिका संसद नियामली, २०७३
प्रधानमन्त्रीको निर्वाचन:
(१) संविधानको धारा २९८ को उपधारा ( २) बमोजिम प्रधानमन्त्रीको निर्वाचन राजनीतिक सहमतिबाट हुनेछ ।
(२) उपनियम (१) बमोजिम सहमति कायम हुन नसकेमा प्रधानमन्त्रीको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुनेछ र त्यसको सूचना महासचिव वा सचिवले प्रकाशन गर्नेछ ।
(३) प्रधानमन्त्रीको निर्वाचनको लागि तोकिएको दिनको निर्धारित समयभित्र कुनै सदस्यले आपूmलाई प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भनी अनुसूची – ७ मा निर्धारित उम्मेदवारीको सूचनाको ढाँचामा आवश्यक सम्पूर्ण विवरण भरी एकजना सदस्यलाई प्रस्तावक र अर्को एकजना सदस्यलाई समर्थक राखी उम्मेदवारीको सूचना महासचिव वा सचिवलाई दिनु पर्नेछ ।
उम्मेदवारीको सूचना पेश गर्ने समयावधि समाप्त भएपछि महासचिवले निर्धारित समयभित्र प्राप्त हुन आएका उम्मेदवारीको सूचनाहरुको दर्ता क्रमानुसार सूची तयार गरी प्रकाशन गर्नेछ ।
(
४) उपनियम (३) बमोजिमको उम्मेदवारीको सूचना सम्बन्धित उम्मेदवारले बैठकमा प्रस्तुत गरेपछि प्रस्तावक र समर्थक सदस्यले समर्थन गर्नेछन ।
(५) उपनियम (३) बमोजिमको उम्मेदवारीको सूचना एउटा मात्र प्राप्त भएमा प्रस्तावक र समर्थक सदस्यले बोलिसकेपछि सभामुखले उक्त उम्मेदवारीलाई बैठकसमक्ष निर्णयार्थ प्रस्तुत गर्नेछ । सो उम्मेदवारी उपर उपनियम (७) बमोजिम मत विभाजन गर्दा व्यवस्थापिका –संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भएमा सम्बन्धित उम्मेदवार प्रधानमन्त्री पदमा निर्वाचित भएको घोषणा गरिनेछ । तर सो उम्मेदवारी संविधानको धारा २९८ को उपधारा ( ३) बमोजिम प्राप्त गर्नु पर्ने बहुमतबाट पारित हुन नसकेमा सभामुखले उपनियम (२) बमोजिम प्रारम्भ भएको निर्वाचन प्रक्रिया अन्त्य भएको घोषणा गर्नेछ ।
(६) उपनियम (३) बमोजिम उम्मेदवारीको सूचना एकभन्दा बढी प्राप्त भएमा दर्ता क्रममा प्रत्येक उम्मेदवारको प्रस्तावक र समर्थक सदस्यहरूले बोलिसकेपछि सबै उम्मेदवारीका सूचनाहरूमाथि संक्षिप्त छलफल हुनेछ र त्यसपछि सभामुखले कुनै उम्मेदवारले आफ्नो उम्मेदवारी मौखिक रुपमा फिर्ता लिन चाहेमा बैठक समक्ष फिर्ता लिनको लागि समय प्रदान गर्नेछ ।
उम्मेदवारी फिर्ता लिने समय समाप्त भएपछि सभामुखले कायम रहेका सबै उम्मेदवारीका सूचनालाई एकै पटक बैठकसमक्ष निर्णयार्थ प्रस्तुत गर्नेछ । त्यसरी निर्णयार्थ प्रस्तुत उम्मेदवारी मध्ये जुन उम्मेदवारले संविधानको धारा २९८ को उपधारा ( ३) बमोजिम व्यवस्थापिका –संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमत प्राप्त गर्छ सो उम्मेदवार प्रधानमन्त्री पदमा निर्वाचित भएको मानिनेछ ।
(७) उपनियम (३) बमोजिम प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भनी प्राप्त उम्मेदवारीको सूचना माथि व्यवस्थापिका – संसदको निर्णय मत विभाजनद्वारा हुनेछ । एउटा मात्र उम्मेदवारीको सूचना प्राप्त भएको अवस्थामा सभामुखले उम्मेदवारको पक्षमा रहने अर्थात “हुन्छ” भन्ने र उम्मेदवारको विपक्षमा रहने अर्थात “हुन्न” भन्ने सदस्यहरुलाई भिन्नाभिन्नै ढोकाबाट उपकक्ष (लबी) मा प्रवेश गराएर मत संकलन गर्नेछ । एकभन्दा बढी उम्मेदवारीको सूचना प्राप्त भएको अवस्थामा सभामुखले प्रत्येक उम्मेदवारको पक्षमा रहने सदस्यहरुलाई भिन्नाभिन्नै ढोकाबाट उपकक्ष (लबी) मा प्रवेश गराएर मत संकलन गर्नेछ । त्यसरी सङ्कलित मतगणनाको परिणाम सभामुखले तत्काल सुनाउने छ र त्यस प्रति कसैले पनि असहमति प्रकट गर्न पाउने छैन ।
(८) दुई वा सो भन्दा बढी उम्मेदवारीको सूचना प्राप्त भई उपनियम (७) मा उल्लिखित प्रक्रिया बमोजिम निर्णयार्थ प्रस्तुत गरिएकोमा कुनै पनि उम्मेदवारले संविधानको धारा २९८ को उपधारा ( ३) बमोजिम व्यवस्थापिका –संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमत प्राप्त गर्न नसकेमा सभामुखले सबै उम्मेदवारीको सूचनालाई एकपटक पुनः निर्णयार्थ प्रस्तुत गर्ने प्रयोजनको लागि व्यवस्थापिका –संसदको अर्को बैठक बोलाउनु पर्नेछ ।
(९) उपनियम (८) बमोजिम सबै उम्मेदवारीका सूचनालाई पुनः निर्णयार्थ प्रस्तुत गरिएकोमा कुनै पनि उम्मेदवारले संविधानको धारा २९८ को उपधारा ( ३) बमोजिम प्राप्त गर्नु पर्ने बहुमत प्राप्त गर्न नसकेमा दुई वटामात्र उम्मेदवारीको सूचना प्राप्त भएको अवस्थामा सभामुखले उपनियम (२) बमोजिम प्रारम्भ भएको निर्वाचन प्रक्रिया अन्त्य भएको घोषणा गर्नेछ ।
(१०) उपनियम (८) बमोजिम तीन वा सो भन्दा बढी उम्मेदवारीको सूचना प्राप्त भई सबै उम्मेदवारीका सूचनालाई पुनः निर्णयार्थ प्रस्तुत गरिएकोमा कुनै पनि उम्मेदवारले संविधानको धारा २९८ को उपधारा ( ३) बमोजिम प्राप्त गर्नु पर्ने बहुमत प्राप्त गर्न नसकेमा सभामुखले सबैभन्दा बढी मत प्राप्त गर्ने दुईवटा उम्मेदवारीका सूचनालाई पुनः दोस्रो पटक निर्णयार्थ द्दठ द्दड प्रस्तुत गर्ने प्रयोजनको लागि व्यवस्थापिका –संसदको अर्को बैठक बोलाउनु पर्नेछ ।
(११) उपनियम (१०) बमोजिम सबैभन्दा बढी मत प्राप्त गर्ने दुईवटा उम्मेदवारीको सूचनालाई पुनः दोस्रो पटक निर्णयार्थ प्रस्तुत गरिएकोमा कुनै पनि उम्मेदवारले संविधानको धारा २९८ को उपधारा ( ३) बमोजिम प्राप्त गर्नु पर्ने बहुमत प्राप्त गर्न नसकेमा सभामुखले उपनियम (२) बमोजिम प्रारम्भ भएको निर्वाचन प्रक्रिया अन्त्य भएको घोषणा गर्नेछ ।
(१२) उपनियम (५), (९) वा (११) बमोजिम निर्वाचन प्रकृया अन्त्य भएको घोषणा भएमा पुनः निर्वाचनको प्रयोजनको लागि उपनियम (२) बमोजिमको प्रकृया अवलम्बन गरिनेछ ।
(१३) यस नियम बमोजिम प्रधानमन्त्री निर्वाचित भएको व्यहोरा सभामुखले राष्ट्रपति समक्ष पेश गर्नेछ ।
(१४) प्रधानमन्त्री पद कुनै कारणले रिक्त भएमा संघीय संसदको गठन नभएसम्म यसै नियमको कार्यविधि अनुरुप निर्वाचन गरी पूर्ति गरिनेछ ।