रिपोर्टमंगलवार, बैशाख २६, २०७४

बाटो, बत्ती र भत्किएका घर: हिमाली भेगका चुनावी नारा

हिमालखबर

मुलुकका शहरी इलाकामा सुनिने मेट्रो रेल, ट्राम, निःशुल्क वाईफाई भन्ने जस्ता चुनावी नारा हिमाली भेगमा सुनिंदैनन् । बाटो, बत्ती र भूकम्पले भत्काएको घर बनाउन सघाउने बाचा त्यहाँका प्रमुख चुनावी नारा हुन् ।


खोज पत्रकारिता केन्द्रका लागि नवराज महतारा –हुम्ला, अनु आचार्य – रसुवा र सुजाता तामाङ– सोलुखुम्बु

रसुवामा नयाँ शक्ति पार्टीको चुनावी सभा ।

हुम्ला सदरमुकाम सिमकोट गाउँपालिकाका एमाले अध्यक्षका प्रत्यासी नरबहादुर रोकायाले सिमकोट माथिल्लो गाउँका मतदाताको समर्थन पाउन एउटा खसी राखेका छन् । २० वैशाख बेलुकादेखि नै गाउँमा खसी राखिएको हो ।

नेपाली कांग्रेसबाट सोही गाउँपालिकामा उपाध्यक्षकी प्रत्यासी सुशीला रोकायाले पनि आफ्नै पार्टीको तर्फबाट उपाध्यक्ष पदकी आकांक्षी रम्बा शाहीको घरमा दुइटा खसी राखेकी छन् ।

उपाध्यक्ष उम्मेदवारको दौडमा रहेकी शाहीलाई खुशी पार्न र मतदाता रिझाउन रोकायाले शाहीको घरमा ती खसी राखेकी हुन् ।

यहाँ मतदाता फकाउने परम्परागत शैली ‘भोज’ हो । तर यसको धार्मिक मान्यता छ । प्रचलन अनुसार त्यो खसी देवताको थानमा चढाइन्छ र त्यसको मासु प्रसादस्वरुप खाइन्छ ।

जसले एक टुक्रा पनि मासु खान्छ उसले खसी राखिदिनेलाई भोट दिनुपर्छ भन्ने मान्यता छ । त्यसलाई चलनचल्तीको भाषामा ‘मानमनितो’ भनिन्छ ।

प्रायः सबै उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्दा मतदाता रिझाउन ‘मानमनितो’ का लागि खसी बाँध्ने र देवताको माडु (मन्दिर) मा धजाखुटो (भेटी) चढाउने गर्छन् ।

‘मानमनितो’ संस्कृतिको प्रभाव बुझेका माओवादी केन्द्रबाट सिमकोट गाउँपालिकामा अध्यक्षका उम्मेदवार महेन्द्रबहादुर शाही पनि के कम, उनले त झन् आफ्नै गाउँ डाँडाफया र सिमकोटमा गरी ४ वटा खसी राखेका छन् ।

अहिले पनि हुम्लामा नाम र राशि मिल्नेसँग मीत लगाउने चलन छ । त्यसमा पनि अलिक राजनीतिक चेत हुनेले त मतदाता सुरक्षित गर्न धेरै जनासँग मीत लगाउने गर्छन् ।

भौगोलिक विकटता र सडक सञ्जाल नभएका कारण उम्मेदवार आफैंले सबैतिर घरदैलो नभ्याउने भएकाले त्यस्ता

‘मीत’ हरू उम्मेदवारको कोसेली बोकेर घरदैलो गर्छन् । त्यसैले हुम्लामा मीत लगाउनुको अर्थ अब सांस्कृतिक मान्यता मात्र रहेन, चुनावका बेला त्यसको राजनीतिक महत्व पनि बढ्न थाल्यो ।

उत्तरी क्षेत्रमा खासै चहलपहल नदेखिए पनि हुम्लाको दक्षिणी भेगमा चुनावी रौनक तातिएको छ । बाजुरा जिल्लाको सीमाना नजिक पर्ने अदानचुली गाउँपालिका वडा नम्बर १ कल्खेका प्रायः घर माओवादी र एमालेका झण्डाले राताम्य छन् ।

कल्खे थापा गाउँकी ६७ वर्षीया माङ्गली थापा भोट माग्नेको ताँती देखेर हैरान छन् । दिनमा चार–पाँच वटा भोट माग्ने टोली आउन थालेपछि दिक्क भएकी माङ्गलीले भनिन्, “एईपाली भोट माग्न्याले त अचाक्ली गन्न अँट्या । न घर भित्त निझर्को गरी खाना खान पाइदो छ, न त घरको काम गन्न पाइदो छ । (यसपटक भोट माग्न आउनेहरूले त अचाक्ली नै गरे । न घरभित्र झर्को नमानी बस्न पाइएको छ, न घरको काम गर्न) ।”

नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका टोली छिनछिनमा माइकिङ गर्दै भोट माग्न गाउँ आउने गरेको अदानचुली–२ का बुध भण्डारीले बताए ।

हुम्लाको थेहे गाउँमा टाँसिएका चुनावी पोस्टर । सदरमुकाम सिमकोटबाट यहाँ पुग्न चारघण्टा लाग्छ ।

हुम्ला सदरमुकाम सिमकोटका सबैजसो घरका भित्तामा चुनावी पोष्टर टाँसिएका छन् । चोक, गल्ली, होटल र पसलमा निर्वाचनको मात्रै चर्चा छ । कुन गाउँपालिकामा कुन दलको उम्मेदवारले जित्ला भन्ने अड्कलबाजी हुन थालेको छ ।

राजधानीसँग जोडिएर पनि विकट रहेको हिमाली जिल्ला रसुवामा पनि चुनावी भोज–भतेर शुरू भइसकेको छ । भोज–भतेरको संस्कृति रसुवाका लागि पनि सामान्य हो ।

चुनावी प्रचारका क्रममा दलहरूले भोजभतेर गरेर भोट माग्न थालेका छन् । यहाँ धेरथोर पैसाको पनि चलखेल हुन्छ ।

रसुवा सरमथलीका एक मतदाता भन्छन्, “चुनाव हो, गाउँमा भैंसी, बोका, खसी काटेर भोज त लगाइन्छ । पहिला पहिला त दैनिक ज्याला तोकेर प्रचारप्रसारमै हिंडाइन्थ्यो ।”

उनका भनाइमा अलिक हुनेखाने उम्मेदवारले पैसा पनि बाँड्छन् । मान्छे हेरेर दैनिक १ हजारदेखि ३ हजारसम्म दिएर प्रचारप्रसार गराउने चलन पहिल्यैदेखिको हो । पछिल्लो समय भोजभतेर र पैसाका पछि लाग्नुहुन्न भन्ने युवा पंक्ति पनि तयार हुँदैछ गाउँमा ।

दोस्रो चरणमा चुनाव हुने पूर्वको हिमाली जिल्ला सोलुखुम्बुमा त भोज गर्न चुनाव नै कुर्नुपर्दैन । शेर्पा संस्कृतिमा खादा लगाउने, भोज खाने र नाचगान गर्ने परम्परा नै छ ।

नेपाल तरुण दल सोलुका अध्यक्ष अशोक झा चुनावका बेलामा पनि स्थानीय संस्कृतिमा आधारित भएर दलहरूले कार्यक्रम गर्ने बताउँछन् । ठाउँ–ठाउँमा राँगा, खसी काट्ने, भोज खाने परम्परागत चलन यहाँ अहिले पनि छ ।

मीत लगाएर भोट माग्ने चलन यहाँ पनि रहेछ । झा भन्छन्, “पकड हुनेहरूले मीत लगाउने चलन छ । बलबहादुर दाई (कांग्रेस नेता बलबहादुर केसी) कै पनि यहाँ थुप्रै मीत छन् ।”

रसुवामा नेपाली कांग्रेसको चुनावी र्‍याली ।

गाउँ पसेन चुनाव
उम्मेदवारी मनोनयन र चुनावको मिति बीच प्रचारका लागि समय छोटो छ । दलबाट टिकट लिएर मनोनयन दर्ता गराएपछि मात्रै उम्मेदवारको धपेडी शुरू हुन्छ ।

भौगोलिक विकटता र सडक सञ्जाल नहुनुजस्ता कारणले सदरमुकाम ताते पनि हिमाली जिल्लाका ग्रामीण भेगलाई भने अहिलेसम्म पनि चुनावले छोइसकेको छैन ।

सिमकोटबाट साढे एक घण्टा पैदल दूरीको नल्ना गाउँका ६५ वर्षे आस्या कामीलाई अहिलेसम्म चुनावले छोएकै छैन ।

सदरमुकामसँगै जोडिएको खार्पूनाथ गाउँपालिकाको ५ नम्बर वडाका बासिन्दा उनलाई अहिलेसम्म एकजनाले पनि ‘चुनाव आयो, भोट हाल्नुपर्छ’ भनेको छैन । सिमसिमे पानीमा गहुँबारीमा झार उखेल्दै गरेका आस्याले भने, “चुनावका बारेमा केही थाहा छैन । कोही सिकाउन पनि आएका छैनन् ।”

नल्नाकै ६१ वर्षे दूधकला कामीलाई अहिलेसम्म प्रचारप्रसारका लागि कोही नआएकाले ‘३१ वैशाखमा चुनाव नहुने पो हो कि’ भन्ने शंका छ ।

४ मंसीर २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा एक महीना अघिदेखि नै गाउँमा तडकभडक थियो ।

सदरमुकाम सिमकोटदेखि १० कोस उत्तरको नाम्खा गाउँपालिकाको खगाल गाउँमा पनि अहिलेसम्म निर्वाचनको प्रचारप्रसार शुरु नभएको ६५ वर्षे सोनाम ग्याल्जन लामा बताउँछन् ।

गाईगोरु चराउँदै गर्दा मेलामा भेटिएका लामाले भने, “गाउँघरभरि चुनाव आयो भन्ने हल्ला छ तर अहिलेसम्म भोट माग्ने नेताको टोली गाउँ आइपुगेकै छैन ।” साविकमा २७ गाविस भएको हुम्ला नयाँ संरचना अनुसार ७ गाउँपालिकामा सीमित भएको छ ।

दोस्रो चरणमा भनेर मिति धकेलिएपछि पूर्वको हिमाली जिल्ला सोलुखुम्बुमा चुनाव प्रचारप्रसारको गति सुस्ताएको छ ।

राजनीतिक दलहरूको दौडधूप घटेको छ भने जिल्ला निर्वाचन कार्यालय पनि सुनसान छ । हिजो जति उत्साह थियो चुनाव ठ्याक्कै एक महीना पछि ३१ जेठका लागि धकेलिएपछि त्यसमा कमी आएको छ । आन्तरिक गुटबन्दीका कारण कांग्रेस र एमालेले नगरपालिकासहित केही गाउँपालिकामा अहिलेसम्म पनि उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् ।

जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता भएका खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, नेपाल मजदूर किसान पार्टी जस्ता दलका त जिल्लामा नेता भेट्टाउनै मुश्किल पर्छ ।

सगरमाथा क्षेत्रमा त चुनावी चहलपहल शून्यप्रायः छ । पर्यटकीय सिजन भएकोले यस क्षेत्रका चौरीखर्क, नाम्चे र खुम्जुङमा चुनावी गतिविधि शून्य छ ।

एमालेबाट खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार निम दोर्जी शेर्पाले भने, “यहाँका धेरै युवा यतिबेला आधार शिविरमा छन् । घरमा बूढाबूढी र केटाकेटी मात्रै भेटिन्छन् । त्यसैले यतिबेला घरदैलो कार्यक्रमसमेत गर्न सकिंदैन ।”

एकाध ठाउँमा पर्चा टाँसेको भेटिए पनि यस क्षेत्रमा चुनावको अरू गतिविधि देख्न पाइँदैन । आधारशिविर जाँदै गरेका स्थानीय ल्हाक्पा शेर्पाले भने, “अहिले चुनावका बारेमा सोच्न पनि भ्याइँदैन ।”

जेठसम्म पर्यटकीय सिजन हुने भएकोले त्यो बेलासम्म यस क्षेत्रमा चुनाव नै नलाग्ने स्थानीयको भनाइ छ ।

माओवादी केन्द्रका खुम्बु पासाङ ल्हामु गाउँपालिका संयोजक नाम्गेल शेर्पाले भने, “सगरमाथा क्षेत्रमा पर्यटकीय सिजन नै नसकिने भएकाले धेरैले यो पटक चुनावमा भोट हाल्न पाउँदैनन् ।”

नेपाली कांग्रेसले चुनावी कार्यक्रम नै शुरू गरेको छैन । “वैशाखको अन्त्यतिरबाट मात्रै शुरू गर्छाैं”, कांग्रेस जिल्ला सभापति विनोद बस्नेतले भने । एमालेले चुनावी सभा गरेर प्रचारलाई निरन्तरता दिइरहेको बताएको छ ।

एमाले जिल्ला सचिव हर्कबहादुर राई भन्छन्, “वैशाखपछि व्यापक रूपमा प्रचारमा लाग्ने योजना छ ।”नेकपा माओवादी केन्द्रले चाहिं वडादेखि नगरपालिकासम्मका उम्मेदवारको टुंगो लगाइसकेको छ । जिल्ला सहसंयोजक हिमाल गिरी भन्छन्, “हाम्रो त चुनावी कार्यक्रम ९० प्रतिशत सम्पन्न भइसकेको छ ।”

मतदान केन्द्र पनि पर–पर तोकिएको र त्यहाँ पुग्न ४–५ घण्टासम्म लाग्ने भएकाले पनि सोलुखुम्बुका यस क्षेत्रका मतदातामा चुनावप्रति धेरै उत्साह देखिंदैन ।

सिसाखोलाका रमेशकुमार मगर भन्छन्, “चुनाव भएकाले युवाहरू त उत्साहित भएर भाग लेलान् तर बूढापाका र बच्चाका आमाहरू यति टाढा पुगेर कसरी भोट हाल्लान् ?” मतदान केन्द्र टाढा भएकोले वाकु–४ सिबुचेका वृद्धहरूले गएको संविधानसभाको चुनावमा समेत भोट हालेका थिएनन् ।

यसपटक पनि उनीहरू भोट हाल्न जाने सम्भावना न्यून रहेको नेपाली कांग्रेस गाउँ पार्टी सभापति सबुजित राईले बताए ।

हिमाली जिल्ला, थोरै जनसंख्या र टाढा–टाढा बस्तीहरू भएकाले पनि समस्या भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यसपटक १० वटा केन्द्रहरू थप गरिए पनि अझै धेरै ठाउँमा समस्या छ ।

रसुवामा एमालेको चुनावी र्‍याली 

सोलुमा ११ वटा दल दर्ता छन् भने १२० वटा मतदान केन्द्र निर्धारण गरिएको छ । एक नगरपालिकासहित ८ स्थानीय तह छन् । जिल्लामा महिला र पुरुष मतदाता बराबर छन् । महिला ३० हजार ८७२ र पुरुष ३० हजार ८७२ गरी ६१ हजार ७४४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सोलुले जनाएको छ ।

३१ वैशाखमा चुनाव हुन गइरहे पनि रसुवाको ग्रामीण भेगमा अहिलेसम्म पनि चुनावी प्रचारप्रसार पुगेको छैन ।

दलहरूले गर्ने घरदैलो कार्यक्रम ‘घर न दैलो’ भएको मतदाताको आरोप छ । उम्मेदवार र तिनका प्रचारकहरू मोटरबाटो भएको ठाउँमा मात्रै जाने गरेको रसुवाको विकट गाउँ हाकुका मतदाताको भनाइ छ ।

स्थानीय मेन्दो तामाङले भनिन्, “अहिलेसम्म हाम्रो गाउँमा भोट हाल्नुपर्छ, मलाई जिताउनुपर्छ भनेर कोही पनि आएको छैन ।”

दलहरू मतदाताका घरदैलोमा नजानुको कारण पनि छ । २०७० सालमा भएको संविधानसभा चुनावमा जनतासँग गरेका प्रतिबद्धता पूरा नगरेकाले पनि उनीहरू मतदातासँग अहिले के भनेर भोट माग्ने भन्नेमा छन् ।

हाकुकी यान्जेन तामाङ भन्छिन्, “पहिलाको चुनावमा भोट माग्न आउँदा मोटरबाटो ल्याउँछु, विकास ल्याउँछु भन्यो । चुनाव जिताएर पठायो । जितिसकेपछि गाउँमै आएन । अब त गाउँको विकास गर्ने व्यक्ति छान्ने हो ।”

रसुवामा कुल २७ हजार ७५६ मतदाता छन् भने १४५ जनप्रतिनिधि निर्वाचित हुँदैछन् । जिल्लाभरिमा ३४ मतदान स्थल र ४२ मतदान केन्द्र छन् । ५ गाउँपालिकामा २७ वटा वडा छन् । चुनावलाई लक्षित गरी सरकारले करीब २५० कर्मचारी खटाउँदैछ ।

शान्तिपूर्ण तवरले निर्वाचन सफल पार्न जिल्लाका सुरक्षा निकाय तदारुकताका साथ लागेको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने बताउँछन् ।

बाटो, बिजुली र घर

सोलुखुम्बुमा निर्वाचन प्रचारमा खटिएका माओवादी केन्द्रका कार्यकर्ता 

काठमाडौंलगायत शहरी इलाकामा सुनिने मेट्रो रेल, ट्राम, स्मार्ट सिटी, निःशुल्क वाईफाईजस्ता हवाई नारा हिमाली भेगमा सुनिंदैनन् । सडक, आधारभूत पूर्वाधार र भूकम्पपछिको पुनःनिर्माणलाई उम्मेदवारहरूले प्राथमिक विषय बनाएका छन् ।

जिल्ला सदरमुकाम नै सडक सञ्जालले नछोएकाले होला सिमकोटका प्रमुख पदका सबैजसो उम्मेदवारको चुनावी अजेण्डामा सडक र बत्ती ल्याउने कुरा समेटिएको छ ।

हवाईजहाजको चर्को भाडा तिरेर पनि समयमा आवतजावत गर्न नपाउने हुम्लावासीको पीडा बुझेका दलहरू मतदाता रिझाउन बाटो र बत्तीलाई चुनावी मुद्दा बनाइरहेका छन् ।

सदरमुकाम सिमकोट गाउँपालिकाका एक स्वतन्त्रसहित पाँच जना अध्यक्षका प्रत्यासीले आफ्नो पाँचवर्षे कार्ययोजनामा ‘सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने’ भनेका छन् ।

त्यसबाहेक दैनिक २२ घण्टा लोडसेडिङ खेपिरहेको सिमकोटलाई लोडसेडिङ मुक्त बनाउने विषय उनीहरूका घोषणापत्रमा छ ।

नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार पदम लामा भन्छन्, “जिल्लाको पहिलो माग सडक र दोस्रो बिजुली हो ।”

अबको दुई वर्षभित्रै हुम्ला सदरमुकामसम्म सडक पु¥याउन आफ्नो दलको नेतृत्वमा रहेको सरकारले पूरै ध्यान केन्द्रित गरेको दाबी गर्दै माओवादी केन्द्रका उम्मेदवार महेन्द्रबहादुर शाही भन्छन्, “म चाहिं विकास निर्माणमा हुने अनियमितता विरुद्ध पनि सशक्त रूपमा उभिनेछु ।”

सदरमुकामसम्म सडक पुगेको बाजुरा जिल्लासँग सिमाना जोडिएको हुम्लाको ताँजाकोट गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका छन्, एमाले उपसचिव पूर्णप्रसाद ढकालले ।

बाजुरासम्म आइसकेको सडक अबको दुई वर्षमा आफ्नो गाउँपालिकामा ल्याइपु¥याउने दाबी ढकालको छ ।

अदानचुली गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्षका प्रत्यासी दल फडेरा पनि दुई वर्षमा आफ्नो गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने दाबी गर्छन् ।

आन्तरिक सडक विस्तारलाई पनि आफूले प्राथमिकता दिने फडेराको भनाइ छ । मुगु सदरमुकाम नजिक पर्ने चंखेल्नी गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार परिलाल शाहीले त ‘एक वर्षमा गाउँमा गाडी गुडाउने’ नारा नै अघि सारेका छन् ।

यसबाहेक वडा सदस्यहरूले पनि चुनाव जित्न थरीथरी बाचा गरेका छन् । वडा अध्यक्षहरू चाहिं ‘पशुले बाली खाएको विवाद सल्ट्याउने, घरायसी झगडा मिलाउने’ जस्ता बाचा गर्दै हिंडेका छन् ।

रसुवा जिल्ला, १२ वैशाख २०७२ को भूकम्पबाट अतिप्रभावित मध्ये एक हो । लाङटाङ जस्ता पर्यटकीय गन्तव्य पूर्णरूपमा क्षतविक्षत भएको यस जिल्लामा अझै धेरै जनता घरबारविहीन छन् ।

कति भूकम्पपीडितले अहिलेसम्म सरकारी राहत रकम पनि पाउन सकेका छैनन् । साविकका यार्सा, हाकु सरमथली जस्ता ठाउँमा अहिले पनि सर्वसाधारणको बिजोग छ । भूकम्पले ध्वस्त भएका घरटहरा पुनःनिर्माण नहुँदै मुलुक निर्वाचनमा गएको छ ।

गाउँघरको अवस्था कतिसम्म नाजुक छ भने गाउँपालिकामा निर्वाचनको लागि खटिने कर्मचारी र सुरक्षाकर्मीलाई बस्ने ठाउँको समेत अभाव छ ।

निजी घर सार्वजनिक संरचनाहरू तहसनहस भएका कारण बस्ने ठाउँको अभाव रहेको जिल्ला समन्वय समिति रसुवाका कार्यक्रम अधिकृत लीलानाथ नेपाल बताउँछन् ।

उनी भन्छन्, “२०७० सालको निर्वाचनमै बस्ने पर्याप्त ठाउँ थिएन, विद्यालय भवनहरूमा दुःखसुख गरेर बसिन्थ्यो । अहिले त बिजोगै छ ।” चुनाव गराउन जाने कर्मचारी कहाँ बस्लान्, के खालान् भन्ने प्रश्नमा जिल्ला निर्वाचन अधिकारी नवीन खालिङ ‘खान, बस्न भत्ता दिएकाले खटिने कर्मचारी आफैंले आफ्नो व्यवस्था गर्नुपर्ने’ भनेर उम्किए ।

तामाङ समुदायको बाहुल्य रहेको रसुवा जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीको चहलपहल अन्यको तुलनामा बढी छ ।

भूकम्पले भत्काएका घर र सार्वजनिक संरचनाको पुनःनिर्माण यहाँको प्रमुख चुनावी मुद्दा हो । हाकु–३ का कार्साङ तामाङ भन्छन्, “हामी वैशाख ३१ कहिले आउला भनेर पर्खेर बसेका छौं । अब चुनवा जित्ने नेताले हाम्रो भत्केका घर बनाउन सहयोग गर्ला भन्ने आशा छ ।”

चुनावी माहोल बढेसँगै राजनीतिक दलहरूले आश्वासनका पोका पनि खोल्दै गएका छन् । हाकुको पहिरो रोकथाम, गाउँमै बस्ती निर्माण, मोटरबाटो, पर्यटकीय बाटो निर्माण, गुणस्तरीय स्वास्थ्य, शिक्षा रसुवाका सबैजसो दलको चुनावी अजेण्डामा छन् ।

मतदातामा त्यतिविघ्न उत्साह नदेखिए पनि सोलुमा समेत दलहरूले सानाठूला चुनावी बाचा सार्वजनिक गरिरहेकै छन् । ठाउँ अनुसार जनताका भिन्नाभिन्नै माग छन् । त्यसैले दल र उम्मेदवारहरूले पनि ठाउँ अनुसार फरकफरक घोषणापत्र तयार गरेका छन् ।

माओवादी केन्द्रका जिल्ला सहसंयोजक हिमाल गिरी भन्छन्, “बिजुली र सडक पुर्‍याउने । एक घर एक रोजगार, प्रत्येक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउने, एक घर एक होम स्टे सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटकहरू भित्र्याउने, एक घर एक धाराजस्ता मुद्दा प्रायः सबै दलले आ–आफ्ना घोषणापत्रमा राखेका छन् ।”

मतदाताले पनि चुनावमा आफ्नो समस्या समाधान गर्न दलहरूलाई बाचा गराउन थालेका छन् । पावैकी इन्द्रकुमारी गुरुङले ‘आफ्नो गाउँमा पानी ल्याइदिने पार्टीलाई भोट दिने’ बताइन् ।

उनले भनिन्, “मंसीर लाग्नासाथ मुहान सुकेर खानेपानीको हाहाकार हुन्छ र नूनतेल भन्दा पानी जोहो गर्नुपर्ने बाध्यता छ । त्यसैले भोट माग्न आउने नेतासँग हामी पानी माग्छौं ।”

पावैको गुरुङ बस्ती र वरिपरिका ठाउँहरूमा पानीको ठूलो समस्या छ । घरदैलो कार्यक्रम लिएर पुगेका एमाले नेतालाई उनीहरूले प्रतिबद्धता समेत गराएको एमाले जिल्ला सचिव हर्क राईले बताए ।

प्रतिकृया दिनुहोस