अन्तर्वार्ता/विचारआइतवार, भाद्र १२, २०७३

‘पाठक पनि पूर्वाग्रही छन्’ ( कवियत्री सीमा आभाससँग पाँच प्रश्न)

हिमालखबर

पितृसत्ताले महिलामाथि थोपरेका शोषणका अनेक स्वरुप विरुद्ध अघिल्लो साता मात्र तेस्रो कृति म स्त्री अर्थात् आइमाई कविता संग्रह सार्वजनिक गरेकी विराटनगरकी कवयित्री सीमा आभास भन्छिन्, “महिलाको साहित्य लेख्नै बाँकी छ ।”

म स्त्री अर्थात् आइमाई कविता कृतिमार्फत तपाईंले भन्न खोज्नुभएको कुरा के हो ?
समाजका घटना परिघटनाहरूलाई मैले जसरी देखें र भोगें तिनीहरूलाई सकारात्मक सोचका साथ कवितामार्फत भन्न खोजेकी छु ।

आफैं चाहिं सजना दाहालबाट सीमा आभास भनिन रुचाउनुहुन्छ तर महिलालाई किन पुरानै आइमाई बनाउन चाहनुहुन्छ ?
आइमाई शब्द न पुरानो हो न त नयाँ नै । आइमाई सार्वभौमिक र शाश्वत स्वरुप हो । तर, आधुनिकताको नाममा आइमाई शब्दलाई अपव्याख्या मात्र होइन, वर्जित नै गर्न खोजियो । आइमाईलाई वर्जित हैन पुनर्व्याख्या गर्नुपर्छ भनेर नै यो शब्द रोजेकी हुँ । पुस्तकको भूमिकामै मेरो प्रस्तावना र स्पष्टोक्ति छ । पढ्नेले थाहा पाउँछन् भन्ने लाग्छ ।


नेपाल विद्यार्थी संघको कार्यकर्ताको पृष्ठभूमि भएकै कारण तपाईंका कतिपय विचार वामपन्थीप्रति पूर्वाग्रही छन् भन्ने आरोपमा कत्तिकोे सत्यता छ ?
कसैको विचारसँग तर्कसंगत ढंगले विमति राख्ने अधिकार हुन्छ । तर पूर्वाग्रह राखिनु आफैंमाथिको धोका हो भन्ने ठान्छु म । अरुको सम्मान गर्न सकिएन भने आफूलाई कसरी सम्मान गर्न सकिन्छ र ? मैले पूर्वाग्रह राखेको प्रमाण भए देखाइदिनुस् ।


तपाईं भन्नुहुन्छ– साहित्य लिंगले होइन चेतनाले लेखिन्छ । नेपाली साहित्यमा महिला र पुरुषको भेद कत्तिको छ ? के पाठकको दृष्टिकोण पनि पूर्वाग्रही छ ?
चेतना र सौन्दर्यको संयोजन गराएर साहित्य लेखिनुपर्छ । तर यहाँ लिंगले लेखिन्छ भने झैं गरी व्याख्या गरिन्छ । महिलाका कलममाथि बारम्बार प्रश्न उठाइन्छ । अर्को कुरा, महिला पात्रमाथि लेखिएको अधिकांश नेपाली साहित्य पुरुष दृष्टिकोणबाट लेखियो । र, पाठकमा पनि त्यही अवधारणा जड बनेर बसेको छ । महिलाको साहित्य लेख्नै बाँकी छ ।

एउटा साहित्यकारका रुपमा तपाईं कस्तो देश, समाज र परिवारको कल्पना गर्नुहुन्छ ? कस्तो साहित्य लेखियोस् भन्ने चाहनुहुन्छ ?
यस्तै र यही भन्ने ठोस उत्तर नहोला । तर, जे लेखे पनि समाज, घर, परिवारलाई सकारात्मक ऊर्जा दिने लेखनी चाहिं हुनुपर्छ ।

प्रतिकृया दिनुहोस