दाहाल र ओलीबीच भेट, महाभियोग फिर्ता लिन ओलीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीका सम्बन्धमा सर्वोच्च अदालतको आदेशपछिको अवस्थाका बारेमा छलफल भएको थियो ।
एमाले महासचिव ईश्वर पोखरेलका अनुसार ओलीले प्रधानमन्त्री दाहाललाई सर्वोच्चको आदेशलाई मान्दै महाअभियोग प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् ।
जवाफमा दाहालले सहमतिमा नै सबै कुरा अघि बढाउने भन्दै यसबारे छलफल भइरहेको जवाफ दिएका थिए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच छलफल भएको र सहमतिमा नै सबै प्रक्रिया अगाडि बढाउने विषयमा कुराकानी भएको जानकारी दिए ।
रासस