टिप्पणीशनिवार, बैशाख २३, २०७४

लुम्बिनीमा केशरका काम

वसन्त महर्जन

भारतीय पुरातत्वविद् देवला मित्राको कुत्सित मनसायप्रेरित निष्कर्षको पछिपछि लागेर केशरशमशेरलाई अपमान गर्न बन्द गरिनुपर्छ।

गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा पुरातात्विक संरचना नष्ट गरेको भनी तत्कालीन फिल्ड मार्सल (सन् १९३३–१९३९) केशरशमशेरमाथि आक्षेप लगाइन्छ।

नेपाली विश्वविद्यालयहरूमा पुरातत्व विषय अध्ययन गरेकाहरूले त लामो समयदेखि पाठ्यक्रममै यस्तो आरोप पढ्नु परिरहेको छ। तर, यी आरोप अध्ययन गर्दै जाने हो भने, यसको स्रोत नेपालमा भेटिन्न।

यस्तो आक्षेप सबैभन्दा पहिले भारतीय पुरातत्वविद् देवला मित्राले लगाएको भेटिन्छ। जसको, आजसम्म पुनरावृत्ति भइरहेको छ। 

केशर शम्शेर

केशरशमशेरले औपचारिक रूपमा पुरातत्व विज्ञान पढेका थिएनन्, यो पक्का हो। तर, उनले गरेका कामहरूप्रति सूक्ष्म दृष्टि दिने हो भने, पुरातत्वलगायतका विषय क्षेत्रमा उनलाई अज्ञानीका रूपमा लिन सकिन्न।

केशर पुस्तकालयमा उनीद्वारा संकलित सामग्री नियाल्ने मात्र हो भने पनि उनमा इतिहास, संस्कृति तथा पुरातत्व क्षेत्रको ज्ञान, चासो र चिन्ता थिएन भन्नु सरासर झूट ठहरिन्छ।

जंगलको बीचमा ढुंगाको खम्बा (अशोक स्तम्भ) भेट्टाएर अचम्म मान्दै तत्कालीन बडाहाकिम खड्गशमशेरले त्यसलाई उखेल्न लगाउँदा लुम्बिनी खोज्दै हिंडेका पुरातत्वविद् डा. एलोइस एन्टोन फुहरर टुप्लुक्क पुगेका थिए।

बुद्धको जन्मस्थल भनी चिनाउने अशोक स्तम्भ भेटिएको दुई वर्षपछि सन् १८९८ मा भारतीय पुरातत्व सर्वेक्षणका पूर्णचन्द्र मुखर्जीले लुम्बिनीमा व्यापक उत्खनन् तथा अनुसन्धान गरेका थिए।

त्यसको पनि करीब तीन दशकपछि सन् १९३३ मा पुनः अध्ययन गर्न काठमाडौंबाट केशरशमशेर खटिए। उनले सन् १९३९ सम्म काम गरेको देखिन्छ।

तर, उनको उत्खनन्बारे कुनै रिपोर्ट नपाइँदा आलोचना गर्नेहरूलाई खुराक मिलेको छ। प्रा.डा. मुकुन्दराज अर्यालका अनुसार यससम्बन्धी लेखिएको रिपोर्ट केशर लाइब्रेरीमा थियो तर प्राप्त हुन सकिरहेको छैन।

अशोक स्तम्भभन्दा पूर्व माटोको ठूलो ढिस्को थियो। हाल मायादेवी मन्दिर भनी चिनिएको संरचना त्यही ढिस्को हो।

सातौं शताब्दीको सप्तरथ शैलीमा निर्मित मन्दिरको भग्नावशेषमाथि रहेको यो ढिस्कोलाई वनदेवी मानेर पूजा गरिन्थ्यो, जहाँ बोधिसत्व जन्म अंकित मायादेवीको मूर्तिसहितको सानो संरचना थियो। खड्गशमशेरले त्यसलाई ईंटाले पक्की बनाएर बज्र लेपन गरी रोमन शैली दिएका थिए।

वास्तवमा केशरशमशेरले ढिस्को र त्यसमा रहेको संरचनालाई अलिकति पनि काँटछाँट नगरी ईंटाले छोपेर संरक्षण मात्रै गरेका थिए। भविष्यमा अन्योल नहोस् भनी काम गरेको साल सन् १९३९ अंकित ईंटा प्रयोग गरेका थिए।

नयाँ ईंटाले छोप्दै लैजाने क्रममा जुन संरचना बन्यो, त्यो सन् १९९३–९६ मा पुरातत्व विभाग, लुम्बिनी विकास कोष र जापानी बौद्ध संस्थाको संयुक्त उत्खनन् कार्यसम्म कायमै थियो। त्यसैको प्रतिरूप अहिले मायादेवी मन्दिरमा देख्न पाइन्छ।

कपिलवस्तुको कुदान र तिलौराकोटमा मुखर्जीद्वारा गरिएको उत्खनन्लाई निश्चितता दिन सन् १९६१ मा आएकी भारतीय पुरातात्विक सर्भेकी सुपरीटेन्डेन्ट पुरातत्वविद् देवला मित्रा लुम्बिनी पनि पुगिन्। र, सरकारको स्वीकृति विना नै अशोक स्तम्भको जग हेर्नतिर लागिन्।

विभागले उनको यो मनसुवामा आपत्ति जनाउँदै रोक लगाएपछि केशरशमशेरको कामगराइ अवैज्ञानिक भएको भन्दै पुरातात्विक संरचना बिगारेको आरोप लगाएर नेपाली पक्षलाई निचो देखाउने मनसाय देखाइन्।

पूरा उत्खनन् नगरी 'तिलौराकोट कुषाण कालभन्दा पुरानो होइन' भनी उनले निकालेको निष्कर्ष नै कपिलवस्तु विवादको शुरूआत हो।

जमीनमा मानवीय गतिविधि हुनुअघिसम्मको तह अर्थात् 'भर्जिन स्वाइल' सम्म पुगेको हाल जारी उत्खनन् कार्यले देवला मित्राका निष्कर्षहरूको खण्डन गर्नुका साथै बुद्धको समयभन्दा पनि पुरानो अवशेष भेट्टाइदिएको छ।

केशरशमशेरले लुम्बिनीबाट गान्धार शैलीको बुद्ध मूर्तिको शीर्ष भाग, मैत्रेय बुद्ध, बोधिसत्व मञ्जुश्री, ललितासन बोधिसत्व, उभिइरहेका दुई पुरुषमूर्ति, भूमिस्पर्श मुद्राको बुद्धमूर्तिलगायत थुप्रै मूर्ति संकलन गरेका थिए।

त्यहाँबाट निस्केको माटोलाई अन्यत्र नफाली नजीकै दुई ढिस्को बनाएका थिए। उनले लापरवाही गरेको भए, ढिस्कोबाट केही महत्वपूर्ण कुरा पाउनुपर्दथ्यो। तर, ढिस्को हटाउँदा केही नपाइएबाट पुरातत्वका विषयवस्तुमा केशरशमशेर होशियार रहेको बुझिन्छ।

खासै उत्खनन् कार्य नगरेका केशरशमशेरले संरक्षण गर्दा पनि साल अंकित नयाँ ईंटा प्रयोग गर्नु पुरातत्व विज्ञान अनुसार उच्चस्तरको सजगता हो।

तर उनलाई अबुझ् र अज्ञानी भन्नेहरूले चाहिं साना चैत्य संरक्षण गर्दा पनि विभिन्न कालका ईंटाहरू एकै ठाउँमा मिसमास गर्ने गरेका छन्, जसले ती ईंटा कुन समयका हुन् भनी ठम्याउन नसकिने बनाइदिएको छ। पुरातत्व अध्ययनमा यो अत्यन्तै गम्भीर विषय हो।

मित्रा पुरातत्वविद् हुन्, तर उनले केशरशमशेरमाथि लगाएको आरोप दूराग्रहपूर्ण छ। त्यसैले यससम्बन्धी जानकार विद्वानहरूले उनीमाथिको 'दाग' हटाउनुको साटो मित्राकै आक्षेपमा लय मिलाउनु सुहाउने कुरा होइन।

प्रतिकृया दिनुहोस