दुई उम्मेदवारको गाडीमा आगजनी
नुवाकोटमा नेपाली काँग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका रामकृष्ण थापाको गाडीमा अज्ञात समूहले गए राति आगजनी गरेको छ ।
शिवपुरी गाउँपालिका अध्यक्षका उम्मेदवार थापाको बा ११ च ३४९९ नं को स्कार्पियो गाडीमा तोडफोड गरी आगजनी भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।
चुनावी प्रचारबाट फर्केर राति ११ बजे पञ्चकन्या गाउँपालिका–५ शिवालयमा रोकिराखिएको गाडी अज्ञात समूहले जलाएको प्रहरीले जनाएको छ । आगजनीबाट गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
त्यस्तै धादिङको थाँक्रे गाउँपालिकामा चुनाव प्रचारका लागि प्रयोग गरिएको एउटा गाडीमा आगजनी भएको छ । थाँक्रे सङ्ग्रामटारमा बा ९ च ८९२९ नं को हाइलक्स जिपमा आगजनी भएको हो । नेकपा एमालेका तर्फबाट थाँक्रे–२ का वडाध्यक्षका उम्मेदवार राजकुमार पौडेलले आफ्नो चुनावी प्रचार सकेर घरको परिसरभित्र राखेको अवस्थामा गाडी जलाइएको हो ।
मध्य रातमा आएका तीन जनाको अज्ञात समूहले गाडीमा तोडफोड गरी पेट्रोल छर्केर आगो लगाई भागेको बताइएको छ । प्रहरीले घटनामा संलग्नको खोजीलाई तीव्र बनाएको जनाएको छ । रासस