कांग्रेस–माओवादीको तालमेल कहाँ–कहाँ ?
नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सात स्थानीय तहमा चुनावी तालमेल भएको छ ।
आज नेपाली कांग्रेस केन्द्रीय प्रचारप्रसार उपसमितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै समिति संयोजक रमेश लेखकले दुई महानगर, एक उपमहानगर र चार नगरपालिका गरी सात स्थानीय तहमा तालमेल भएको बताएका हुन् ।
नेपाली कांग्रेसले चितवनको भरतपुर र कास्कीको पोखरा–लेखनाथ महानगर, मकवानपुरको हटौंडा उपमहानगरकासाथै धादिङको निलकण्ठ, दोलखाको भिमेश्वर, मकवानपुरको थाहा र डोल्पाको ठुलीभेरी गरी चार नगरपालिकामा माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको जनाएको छ ।
गणतन्त्र, सङ्घीयता र संविधानको पक्षधर शक्तिबीच तालमेल भएकोले यो प्राकृतिक र राजनीतिक रहेको कांग्रेसको भनाई छ ।
लेखकले कांग्रेस–माओवादी तालमेलले संविधान कार्यान्वनमा सहजता आउने पनि बताए ।
संयोजक लेखकले नेपाली कांग्रेस मुलुकको सबैभन्दा बढी समावेशी पार्टी भएको दाबीसमेत गरे । कांग्रेसले पहिलो चरणको निर्वाचन हुने कुल २८३ स्थानीय तहमा १०८ तहमा जनजाति, दलित तथा मधेसीलाई प्रमुखमा उम्मेदवारी बनाएको र ९७ स्थानीय तहमा उपप्रमुख बनाएको छ ।