विपक्षी दलको अवरोधपछि संसद्को दोस्रो बैठक पनि स्थगित
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन माग गर्दै विपक्षी दलहरुले अवरोध गरेपछि आजको व्यवस्थापिका–संसद्को दोस्रो बैठक स्थगित भएको छ ।
बैठक प्रारम्भ हुनासाथ सभामुख ओनसरी घर्तीले महाअभियोग प्रस्तावका प्रस्तावक नेपाली कांग्रेसका मीनबहादुर विश्वकर्मालाई प्रस्ताव प्रस्तुत गर्न समय दिएलगत्तै विपक्षी सांसदहरु आफ्नो स्थानबाट उठी प्रस्ताव फिर्ताको माग गर्दै वेल घेराउ गर्न पुगेका थिए ।
विपक्षीले नाराबाजी जारी राखेपछि बैठक यही वैशाख २४ गते दिउँसो १:०० बजेसम्मका लागि स्थगित गरियो ।
विपक्षीहरुले प्रस्तावक सांसद विश्वकर्मालाई रोस्टममा उक्लन लाग्दा घेराउ गरी त्यही रोकेका थिए ।
बैठक स्थगनको घोषणापछि घेराउ गर्न गएका सांसद र विश्वकर्माले हात मिलाएको रमाइलो दृश्य पनि देखिएको थियो ।
यसअघि आजै विहान बसेको संसद बैठकमा सभामुख ओनसरी घर्तीमगरले विपक्षी दलहरुको नारबाजीबीच प्रधानन्यायधीश कार्कीविरुद्धको महाअभियोग प्रस्ताव संसदमा टेबल गरेकी थिइन् ।
उक्त प्रस्तावबारे आजै दिउँसो १ बजे बस्ने बैठकमा छलफल हुने जानकारी गराएर उक्त बैठक स्थगित भएको थियो ।
संसद बैठक शुरु हुनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, र प्रमुख विपक्षी एमाले लगायत दलका नेताहरुबीच छलफल भएको थियो ।
बैठकमा एमालेका नेताहरुले महाअभियोग प्रस्ताव फिर्ता नलिए सदनको काम कारबाही चल्न नदिने अडान लिएका थिए ।