विपक्षी दलहरुको विरोधका बीच महाअभियोगमाथि छलफलको समय तोकियो
व्यवस्थापिका संसदमा एमाले लगयातका विपक्षी दलका सांसदहरुको नाराबाजीकाबीच प्रधानन्यायाधीश सुशीला काकीविरुद्ध महाभियोगको प्रस्तावमाथि छलफलको समय तोकिएको छ ।
आज बसेको संसद बैठकमा सभामुख ओनसरी घर्तीमगरले प्रधानन्यायधीश कार्कीविरुद्धको महाअभियोग प्रस्ताव आजै दिउँसो १ बजे बस्ने बैठकमा छलफल हुने जानकारी गराएकी हुन् ।
संसद बैठक शुरु भएलगत्तै एमाले सांसदहरु उठेर नाराबाजी शुरु गरेका थिए । त्यसैबीच सभामुख घर्तीले शून्य र विशेष समय कार्यसूचिबाट हटाएको जानकारी गराउँदै गर्दा एमालेसहितका विपक्षी दलहरु रोष्टमले घेराउ गरेका थिए ।
होहल्ला र घेराउका बीच सभामुखले आजै १ बजे बस्ने बैठकमा महाअभियोगबारे छलफलका लागि समय तोकेकी हुन् ।
संसद बैठक शुरु हुनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, र प्रमुख विपक्षी एमाले लगायत दलका नेताहरुबीच छलफल भएको थियो ।
बैठकमा एमालेका नेताहरुले महाअभियोग प्रस्ताव फिर्ता नलिए सदनको काम कारबाही चल्न नदिने अडान लिएका थिए ।