वीरगञ्जः ९ महिनामा लक्ष्यभन्दा ३ प्रतिशत बढी राजश्व संकलन
वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ९ महिनामा लक्ष्य भन्दा करिब ३ प्रतिशत बढी राजश्व संकलन गरेको छ ।
चालू आवको ९ महीनमा विभागबाट कुल रु ७९ अर्ब ३३ करोडको लक्ष्य पाएको कार्यालयले रु ८१ अर्ब ४२ करोड राजश्व संकलन गरेको हो । जुन लक्ष्यभन्दा २.६३ प्रतिशत बढी हो ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख सेवन्त पोखरेलका अनुसार चैत मसान्तसम्ममा लक्ष्य भन्दा रु २ अर्ब ९ करोड बढी राजस्व संकलन भएको हो ।
नेपाल राष्ट्र बैंकले सवारी साधनमा बैंकहरुले दिने ऋणमा कडाई गर्न निर्देशन दिएपछि तिन महीनायता सवारी साधनको आयातमा कमी आएको पनि पोखरेलले बताए । “त्यसका बाबजुद पनि लक्ष्यभन्दा बढी संकलन भएको छ,” उनले भने ।
वीरगञ्ज भन्सार कार्यालयले कूल राजश्वमध्ये सवारी साधनमामात्रै ४० प्रतिशत र पेट्रोलियम पदार्थमा १५ प्रतिशत राजश्व संकलन गर्दछ ।
अन्तर्राष्ट्रिय विमानस्थलको एक, चीनसँग जोडिने ९ वटा र भारतबाट जोडिने २० वटा गरी नेपालमा रहेका ३० वटा भन्सार कार्यालयमध्ये वीरगन्ज भन्सार कार्यालय एक्लैले देशको ५१ प्रतिशतभन्दा बढी राजश्व असुली गर्दछ ।
जियालाल साह, वीरगञ्ज