विद्यालय बन्द गरी शिक्षकहरु आन्दोलनमा
आन्दोलनरत अस्थायी शिक्षकहरुले बारा र पर्साका सामुदायिक विद्यालयहरुमा दुईदिनका लागि पठनपाठन ठप्प पारेर धर्नामा बसेका छन् ।
गत चैत महिनामा शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरूको आन्तरिक प्रतिस्पर्धा गराई पदपूर्ति गर्न खोलेको विज्ञापनविरुद्ध पर्सा सहित देशभरका अस्थायी शिक्षकहरू १३ बैशाखदेखि नै आन्दोलनमा छन् ।
आन्दोलनरत अस्थायी शिक्षकहरूले पर्सामा रहेका सामुदायिक विद्यालयहरुमा आज र भोलि गरि दुइदिनका लागि पठनपाठन ठप्प पारेका हुन् ।
“हामी २०/२५ वर्ष देखि अस्थायी छौं, सरकारले हाम्रो पेशाको ग्यारेन्टी दिएन्, त्यसैले आन्दोलन गर्नु प¥यो,” शिक्षिका किरण शर्माले बताईन् ।
बैशाख १३ गते देखि जिल्ला शिक्षा कार्यालय पर्सामा धर्ना दिंदै आएका आन्दोलनरत अस्थायी शिक्षकहरुले आज पनि कार्यालयको कामकाज ठप्प पारेका छन् ।
वर्षौ देखि कामगर्दै आएका अस्थायी शिक्षकहरुलाइ सरकारले स्थायी नगरी विज्ञापन खोलेर बेरोजगार बनाउने षडयन्त्र गरेकाले आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको नेपाल शिक्षक संघका प्रतिनिधि भुपेन्द्र तिवारीले बताए ।
यस्तै बारामा पनि दुई दिन देखि अस्थायी शिक्षकहरुले सामुदायिक विद्यालयहरुमा पठन पाठन ठप्प पारेका छन् ।
अस्थायी शिक्षकहरु विद्यालय जानै छाडेर आन्दोलनमा उत्रिएपछि सामुदायिक विद्यालयमा अध्ययनरत विधार्थीहरुको पठन पाठनमा असर परेको छ ।
जियालाल साह, पर्सा