खानेपानी व्यवस्थापनमा एशियाली विकास बैङ्कले सघाउने
एशियाली विकास बैङ्क (एडिबी)ले नेपालका साना सहरमा स्वच्छ खानेपानी आपूर्ति व्यवस्थापन सुधार तथा क्षमता अभिवृद्धिमा सघाउने घोषणा गरेको छ ।
‘एशियामा पानीको संरक्षण र आवासयोग्य सहर निर्माणमा एडिबीको भूमिका’ विषयक जापानको योकोहामा आयोजित पत्रकार सम्मेलनमा बैङ्कका नायब निर्देशक आमी लियोङले सो जानकारी गराएका हुन् ।
बैङ्कको स्वर्णमहोत्सवका अवसरमा २१ वैशाखदेखि हुने विशेष समारोहमा भाग लिन पुगेका सञ्चारकर्मीमाझ बैङ्कका दिगो विकास तथा जलवायु परिवर्तन विभागका प्राविधिक सल्लाहकार पद्नाभमले नेपालको साबिक लेखनाथ नगरपालिकामा सम्पन्न सानास्तरका खानेपानी आयोजना सञ्चालन तथा क्षमता विस्तारबाट झन्डै २७ लाख नेपाली लाभान्वित भएका बताए ।
उनले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको व्यवस्थापकीय क्षमता विस्तार तथा सम्पति व्यवस्थापनमा सघाउन तालिम तथा सहकार्यका निम्ति अष्ट्रेलियाली कम्पनीसँग समझदारीपत्रमा हस्ताक्षर भइसकेको पनि जानकारी दिए ।
साबिक लेखनाथ नगरपालिका तथा आसपासका क्षेत्रमा खानेपानी आपूर्ति व्यवस्थापन प्रभावकारी रहेको विश्लेषण सुनाउँदै उनले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पनि आपूर्ति व्यवस्थापन तथा क्षमता अभिवृद्धिमा लेखनाथ नगरको पद चिह्न पछ्याउने विश्वास व्यक्त गरे ।
नायब निर्देशक आमीले जलस्रोत व्यवस्थापन, जलाधार संरक्षण, सिँचाइ, ढल व्यवस्थापन, खानेपानी आपूर्ति, सरसफाइ, जलविद्युत् उत्पादनका क्षेत्रमा बैङ्कले चार अर्ब २० करोड अमेरिकी डलर लगानी गर्ने जानकारी दिए । उक्त रकम यो वर्षका लागि एशिया प्रशान्त क्षेत्रका पानी संरक्षणको अपरिहार्यता रहेका ४७ देशमा लगानी गरिनेछ ।
शरच्चन्द्र भण्डारी, रासस