टिप्पणीमंगलवार, बैशाख १९, २०७४

राजधानी हाँक्ने को?

शेखर खरेल

कुनै अनिष्ट नभए आजको ठीक दुई सातामा स्थानीय तह निर्वाचनका लागि पहिलो चरणको मतदान हुनेछ। तर, करीब दुई दशकपछि स्थानीय तहमा आफ्ना प्रतिनिधि रोज्ने अर्थात् स्वराजको यो दुर्लभ अवसर यति सन्निकट हुँदा पनि मतदाता पनि ढुक्क हुनसकेका छैनन्। संविधान संशोधनका नाममा मधेशी मोर्चाको एकपछि अर्को बखेडा र मोर्चा मनाउने नाममा सरकारको अस्पष्ट मार्गचित्रका कारण चुनावको घामलाई अनिश्चयको बादलले छोप्दै गरेको देखिन्छ।

किशोर थापा।

ढिलै सही मुलुकका सबै राष्ट्रिय हैसियतका दल, गठबन्धन र नवआगन्तुक राजनीतिक पार्टीहरूले चुनावी घोषणापत्र सार्वजनिक गरिरहेका छन्। यीमध्येका धेरै दलले यो आलेख लेखिंदासम्म दलका तर्फबाट उम्मेदवारको प्रारम्भिक सूची तयार पारिसकेका छन्। रोचक चाहिं, उम्मेदवार घोषणामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस तुलनात्मक रूपमा सुस्त देखिन्छ।

उता, चुनावप्रति सबैभन्दा उत्साही प्रमुख प्रतिपक्ष एमाले देखिन्छ, जसलाई पार्टीले ५० प्रतिशतभन्दा बढी जनादेश प्राप्त गर्ने आत्मविश्वास छ। सकस मधेशी दलहरूमा देखिन्छ। उनीहरू पनि अब चुनावका पक्षमै छन् भनेर शंकाको सुविधा दिन सकिन्छ। समय खेर नफाली राम्रो तयारी गरे ३१ जेठको मिति अझ्ै पनि उनीहरूका लागि अनुकूल छ।

नेपालभर कस्ता उम्मेदवार उठ्दैछन् र उनीहरूले कस्तो तरङ्ग ल्याइरहेका छन् वा ल्याउने छन्, त्यसको एकमुष्ट वा साङ्गोपाङ्ग समीक्षा अहिल्यै सम्भव छैन। संसदीय निर्वाचन जस्तो बहुमत प्राप्त गरेर सरकार बनाउने कुरा पनि नभएकाले एकठाउँको निर्वाचनलाई अर्को ठाउँसँग जोडेर हेरिनु न आवश्यक छ, न उचित नै। तर पनि मुलुकका मुख्य क्षेत्रका उम्मेदवारी बारे आम चासो पाइनु स्वाभाविक हो। राजधानी काठमाडौंवासी र यहाँका मतदाताको विशेष चासो चाहिं काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरमा मुख्य पार्टीले कस्ता उम्मेदवार उठाउने छन् भन्नेमै छ। तर, मुख्य र परम्परागत पार्टीलाई चुनौती दिने नाममा नवप्रवेशी पार्टीहरूले जस्ता नामहरू सार्वजनिक गरेका छन्, तिनले मतदातालाई उति आकर्षित गरेको पाइँदैन।

रञ्जु दर्शना।

सर्वप्रथम त, पुराना र नवप्रवेशी पार्टी दुवैले काठमाडौंका जनताको मनस्थिति बुझन सकिरहेका छैनन्। काठमाडौंमा 'लट्ठी उठाए पनि कांग्रेसले जित्नेछ' भन्ने उद्घोषका साथ पार्टी प्रतिबन्धित भइरहेको बेला पनि हरिबोल भट्टराईलाई प्रधानपञ्चमा जिताउने कांग्रेस यस पटक पनि शायद 'लट्ठी' कै खोजीमा छ। किनकि, आधा करोडमाथिको आवादीको राजधानीको एक मुख्य कस्मोपोलिटन शहर काठमाडौंमा उसले राष्ट्रिय हैसियतका करिश्मायुक्त नेता उठाउन जरूरी देखिरहेको छैन। कांग्रेसको यस रवैयाका कारण एमाले पनि मध्यमस्तरका नेताहरूलाई नै मैदानमा उतार्दैछ। माओवादी केन्द्रका उम्मेदवार बारे उति चर्चा सुनिंदैन। 

युवालाई अवसरको नाममा विवेकशील नेपाली दलले जसरी २१ वर्षीया रञ्जु दर्शनालाई मैदानमा उतारेको छ त्यसले राजधानीको मेयर हाँक्नका लागि अनुभव र पृष्ठभूमि गौण कुरा हो भन्ने देखाउँछ। विवेकशीलको तुलनामा बरु साझा पार्टीले शहरी विकासको अनुभव सम्हालेका पूर्व राष्ट्रसेवक किशोर थापालाई उतारेर 'जोश भन्दा होश' महत्वपूर्ण हुन्छ भन्ने सन्देश दिएको छ।

राजधानी शहर वा मुलुकका मुख्य महानगरका मेयरको पद कुनै एक सांसद् भन्दा धेरै महत्वपूर्ण हो। भ्रमणमा रहने मित्र देशका विशिष्ट पाहुनालाई शहरको साँचो सुम्पने मेयरका निम्ति पार्टीप्रतिको वफादारी (जुन नेपालमा नियुक्तिको मुख्य कारण रहँदै आएको छ) भन्दा पनि कुशल योजनाकार सँगसँगै वाक्पटुता र ओजपूर्ण व्यक्तित्व दरकार पर्छ। तर, काठमाडौंका मेयरको विगत हेर्दा यो शहरले हावामा महल बनाउन पोख्त वाचाल मेयरहरू मात्र पायो।

संभवतः आसन्न निर्वाचनमा यहाँका मतदाताले यो कुरा भुल्ने छैनन्। राजधानी वा मुख्य शहरको मेयरबाट राष्ट्रकै कार्यकारी प्रमुखको हैसियतमा पुगेका उदाहरण सर्वत्र पाइन्छन्। फ्रान्सका पूर्व राष्ट्रपति ज्याक शिराक, टर्कीका राष्ट्रपति रेसेप एर्डोगान, बेलायतका विदेशमन्त्री वोरिस जोन्सनको विगत मेयर नै हो। ली म्युङ् बाक सोलको मेयर हुँदै दक्षिण कोरियाका राष्ट्रपति नै बने। यी दृष्टान्तले पनि राजधानीको मेयर पदलाई कम आँक्न नहुने देखाउँछन्। विडम्बना, हाम्रो मुलुकमा एकपल्ट राष्ट्रिय राजनीतिमा पुगेको मान्छे मेयर बन्न चाहँदैन, यसबाट उसले आफ्नो पद र कद घटेको अनुभव गर्छन्।

के दलहरू क्षमताशील उम्मेदवार उठाउने तयारीमा छन्? राजधानीवासी यसैको भरोशामा छन्।

प्रतिकृया दिनुहोस