हातिलका फर्निचर नेपालमा
अखिल ट्रेडिङले बङ्गलादेशको फर्निचर ब्राण्ड हातिलको शोरुम काठमाडौंमा सञ्चालन गरेको छ । क्यानडा, अष्ट्रेलिया र भुटानपछिको अर्को अन्तराष्ट्रिय शोरुम काठमाडौंमा खोलिएको हो ।
शोरुमको १७ वैशाखमा आपूर्तिमन्त्री दीपक बोहोराले उद्घाटन गरेका छन् । दुई देशबीचको व्यापारका लागि महत्वपूर्ण सहकार्य सुरु भएको बताउदै मन्त्री बाहोराले भने “बङ्गलादेशमा पनि नेपालको व्यापार प्रवर्द्धन गर्नु आवश्यक छ ।” नेपालबाट निर्यात हुनेभन्दा बङ्गलादेशबाट आयात हुने सामाग्री बढी रहेको जनाएको छ ।
कार्यालय तथा घरका लागि आवश्यक पर्ने फर्निचरको उत्पादन गर्ने हातिललाई बङ्गलादेशको प्रसिद्ध फर्निचर ब्राण्ड मानिन्छ । हातिलले पछिल्लो ३० वर्षयता घरको बेड रुम, लिभिङ रुम र डाईनिङ रुमको लागि आवश्यक फर्निचरहरुका साथै ढोका उत्पादन गर्दै आएको छ ।
‘स्लीम इच स्मार्ट’ अवधारणामा हातिलले स्लिम र मोर्डन फर्निचर उत्पादन गर्दै आएको अखिल ट्रेडिङका अध्यक्ष अखिलकुमार चापागाईले बताए । ट्रेडिङले नेपाली उपभोक्तालाई ब्राण्डेड फर्निचर उपलब्ध गराउने प्रयास गरेको उनको भनाई छ ।
आधुनिक जीवनशैलीलाई सुहाउँदो स्मार्ट फर्निचरको कारोबार स्वरुप ट्रेडिङले हातिल ब्राण्डको शोरुम नेपालमा खोलेको अध्यक्ष चापागाईले बताए ।
वल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा रहेको शोरुम उद्घाटनमा नेपालका लागि बङ्गलादेशका राजदुत मस्फी बिन्टे, बङ्गलादेशका निर्यात प्रर्बद्धन निर्देशक मोशीउर रेहमान, हातिलका बजार प्रबद्र्धन प्रमुख फिरोज अल ममुनले मन्तब्य राखेका थिए ।