कला/साहित्यआइतवार, बैशाख १७, २०७४

मूर्च्छनामा सुगमा

हिमालखबर

२ वैशाखमा यलमाया केन्द्र, पाटनमा आयोजित यलमाया क्लासिक मा १८ वर्षीया सुगमा गौतमले 'राग भिन्न षडज' गाउन थालिन्, दर्शक एकैपटक आनन्दित र चकित परे। अमृत भर्सिनीको मूर्च्छनामा सुशील गडतौलासँग उनको यो राग प्रस्तुतिले सबैलाई मुग्ध बनायो।

मूर्च्छना नेपाली शास्त्रीय संगीतका लागि पुरानो अभ्यास होइन। त्यसैले मूर्च्छना गाउनुअघि सुगमा थोरै डराएकी पनि थिइन्। “अलिकति डराएकी थिएँ। यो नौलो थियो”, उनी भन्छिन्। मूर्च्छना नौलो भए पनि सुगमाका लागि राग नयाँ होइन। थुप्रै शास्त्रीय कार्यक्रमहरुमा उनको स्वर झंकृत भइसकेको छ।

राग भिन्न षडज, राग यमन, हंसध्वनि, जौनपुरीलगायत दर्जनौं धुनमा उनले लय दिइसकेकी छिन्। युवामा पाश्चात्य संगीतको लहड चलेका बेला सुगमा भने कसरी प्राचीन शास्त्रीय संगीतको घरानामा आइपुगिन्? उनी भन्छिन्, “पारिवारिक पृष्ठभूमिकै कारण हुनुपर्छ, बच्चैदेखि गाउन थालें।”

हुन पनि सुगमाको परिवारको चार पुस्ता शास्त्रीय संगीतमै समर्पित छ। पशुपतिनाथ मन्दिरको पश्चिमपट्टि जानकी जीवन कुञ्ज छ, जहाँ २६ पुस, १९६८ देखि निरन्तर हरेराम संकीर्तन हुँदैआएको छ। कुञ्जका संस्थापक थिए, कविप्रसाद गौतम। उनको मृत्युपछि छोरा अनन्तप्रसादले कुञ्जको व्यवस्थापन गर्दै आएका छन्। सुगमा उनकै छोरा अजितकी छोरी हुन्। सुगमाकी आमा चन्दा पनि सितारवादक हुन्। सुगमाकै काका हुन्, चर्चित तबलावादक अतुल गौतम।

जानकी जीवन कुञ्जको आऊजाऊ, घरको सांगीतिक माहोलले सुगमामा शास्त्रीय संगीतको संसर्ग बढाएको हो। ए लेभल अध्ययनरत उनी अहिले शास्त्रीय गायनका गुरु श्री केसीसँग नियमित कक्षा लिइरहेकी पनि छन्। “अब त बानी परिसक्यो। पढाइ र गायनलाई एकैसाथ लैजान सक्छु”, उनी भन्छिन्।

त्यसो त सुगमा शास्त्रीय संगीत र भजनमा मात्रै सीमित छैनन्। आधुनिक, लोक, हिन्दी र अंग्रेजी गीत पनि गाउँछिन्। 'सेमी–क्लासिकल' गीत उनको रोजाइमा पर्छ। तबलामा उनको विशेष रुचि छ।

शास्त्रीय गायन अन्य विधाभन्दा कठिन छ। तर, उनको मन अहिलेसम्म अन्यत्र गएको छैन। “गाउन गाह्रो भए पनि शास्त्रीय गायनमै आनन्द लाग्छ, सन्तुष्टि मिल्छ”, यो उमेरमै परिपक्व साधक बन्ने लक्षण देखाएकी सुगमा भन्छिन्।
-बच्चु विक

प्रतिकृया दिनुहोस