निर्वाचनको बीचमा बजेट नल्याऊः आयोग
निर्वाचन आयोगले दुई चरणको निर्वाचनको बीचमा सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनु आचार संहिता विपरीत हुने बताएको छ ।
आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै १८ फागुनदेखि लागू भएको निर्वाचन आचार संहिता दोस्रो चरणको निर्वाचन अर्थात् ३१ जेठसम्म यथावत रहने भन्दै निर्वाचनको बिचमा बजेट ल्याउनु आचार संहिता विपरीत भएको ठहर गरेको हो ।
निर्वाचन आयोगले यो विषयमा सरकारको ध्यानाकर्षण गर्ने निर्णय समेत गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘एक महिनाको अन्तरालमा हुने दुई चरणको निर्वाचनकाबीच सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्ने कार्य निर्वाचन आचार संहिता अनुकूल नहुने र दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्न सक्ने देखिएको हुँदा सो सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण गर्ने ।’
सरकारले ३१ वैशाख र ३१ जेठमा दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । तर, निर्वाचनको बीचमा अर्थात् १५ जेठमा बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था रहेको छ ।