सर्वोच्चद्वारा अख्तियारमा कार्कीको नियुक्तिसँग सम्बन्धित कागजात माग
सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीलाई नियुक्त गर्दाको सक्कली कागजात माग गरेको छ ।
अख्तियारमा कार्कीको नियुक्तिको विरुद्ध परेको रिट खारेज गर्ने सर्वोच्चकै फैसला पुनरावलोकनका लागि अधिवक्ता ओमप्रकाश अर्यालले दिएको निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीशत्रय दीपक कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वर खतिवडाको इजलासले सरकार र सामान्य प्रशासन मन्त्रालयसँग कागजात मागेको हो ।
सर्वोच्चले सरकारले कार्कीलाई तत्कालीन मुख्यसचिवबाट हटाउनुअघि लिएकोे स्पष्टीकरणको कागज (मिसिल) पनि माग गरेको सर्वोच्चका प्रवक्ता नहकुल सुवेदीले जानकारी दिए ।
अख्तियारमा कार्कीको नियुक्तिविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले वैशाख २०७० मा दायर गरेको रिट सर्वोच्चले असोज २०७० मा खारेज गरेको थियो ।
रिट खारेज भएपछि त्यसमा चित्त नबुझी अर्यालले २०७२ मंसीरमा कार्कीसँग अख्तियार प्रमुख हुन चाहिने अनुभव, योग्यता र चरित्र नभएको थप प्रमाण रहेकोे भन्दै खारेजको फैसला पुनरावलोकनका लागि निवेदन दिएका थिए ।
उक्त निवेदन अनुसार पुनरावलोकनको निस्सा (अनुमति) दिनपर्ने वा नपर्ने सम्बन्धमा निर्णय गर्नुअघि सर्वोच्चले अख्तियारमा कार्कीको नियुक्ति सम्बन्धी र उनलाई सरकारले तत्कालीन मुख्य सचिवबाट हटाउनु अघि मागेको स्पस्टीकरणसम्बन्धी मिसिल मगाएको अर्यालले जानकारी दिए ।
अदालतले पुनरावलोकनका लागि निस्सा दिएमा लोकमानसिंह कार्कीको नियुक्ति संविधान र कानून सम्मत हो वा होइन भन्ने विषयमा पक्ष–विपक्षको वहस भई फैसला हुने पनि उनले जानकारी दिए ।