कला/साहित्यशनिवार, बैशाख १६, २०७४

कवि अधिकारीको ‘भरियाको भूगोल’ सार्वजनिक

हिमालखबर

कवि तथा गीतकार दिनेश अधिकारीको नयाँ पुस्तक ‘भरियाको भूगोल’ पलेटी श्रृंखलामा सार्वजनिक गरिएको छ । १५ वैशाखमा कवि अधिकारीले अर्का कवि श्रवण मुकारुङलाई पहिलो प्रति हस्तान्तरण गरेर पुस्तक विमोचन गरे ।

“हाम्रो पुस्ताले कविता लेख्न प्रारम्भ गर्दा तत्कालीन ठूलो स्कुलमध्येको एउटा दिनेश दाइ पनि हुनुहुन्थ्यो”, कवि मुकारुङले भने, “उहाँहरु मध्येमा पनि गद्य कविताको मामलामा दिनेश अधिकारीको नाम सबैभन्दा अगाडि आउँछ ।”

२०५६ मा ‘अतिरिक्त अभिलेख’का लागि मदन पुरस्कार र २०५१ मा ‘इन्द्रजात्रा’का लागि साझा पुरस्कार पुरस्कार प्राप्त गरेका अधिकारीले २०३७ मा ‘अन्तरका छिटाहरु’ कवितासंग्रह प्रकाशन गरेर पुस्तक यात्रा सुरु गरेका थिए । त्यसयता उनका एक दर्जनभन्दा बढी कविता संग्रह र त्यति नै संख्यामा गीति संग्रह प्रकाशित भएका छन् ।

१५ वैशाखदेखि पलेटी श्रृंखला पनि पुनः सुरु भएको छ । पहिलो श्रृंखलामा नारायण गोपालले गाएका ‘यो सम्झिने मन छ’ बाट सुरुवात गरिएको थियो । ‘ठमेल बजार’ गीतबाट चर्चा कमाएकी गायिका मिना निरौलाले ‘यो सम्झिने मन छ’ गाएकी हुन ।

यो गीत दिनेश अधिकारीले नै लेखेका हुन । “नारायण दाइको अनुरोध अनुसार ४१ सालमा बैतडीबाट यो गीत पठाएको थिएँ” रचनागर्भ खोतल्दै अधिकारीले भने, “सरुवा भएर ४४ सालमा कलैया पुग्दा दाइले पठाइदिनुभएको गीत रेकर्डको चक्का सुनेर रमाउन पाएँ ।”

प्रतिकृया दिनुहोस