ब्लगशनिवार, बैशाख १६, २०७४

बुद्धपछिको कपिलवस्तु

वसन्त महर्जन

प्राचीन कपिलवस्तुको सन्दर्भमा विडूडभको आक्रमणपछि पतन भएको र सन् १८९५ को प्राप्तिपछिको मात्र चर्चा चलाउँदा इतिहासको एउटा लामो कालखण्ड उपेक्षित हुन पुगेको छ।
 
प्राचीन कपिलवस्तुको चर्चा गर्दा प्रायः त्यो राज्य गौतम बुद्ध (इ.पू. ५६३–४८३) को जीवनकालमै कोशल नरेश विडूडभको आक्रमणबाट पतन भएको उल्लेख गरिन्छ।

ठूलो नरसंहार भएको, भाग्न सक्नेहरूले यताउता गएर ज्यान जोगाएको, वैभवपूर्ण कपिलवस्तु निर्जन खण्डहर बनेको भन्दै प्राचीन कपिलवस्तुको इतिहासलाई इतिश्री गरिदिने गरेको पाइन्छ। यही 'इतिश्री' माथि पनि प्रश्न उठाउन नसकिने भने होइन, जसबाट कपिलवस्तुको इतिहाससम्बन्धी अन्य पक्षहरू उजागर गर्न मद्दत गर्छ। 

विडूडभको कपिलवस्तु आक्रमणबारे बौद्ध वाङ्मयमा विस्तृत वर्णन पाइन्छ, जहाँ ७० हजार शाक्यको वध भएको उल्लेख छ। यो संख्या अलि अतिशयोक्तिपूर्ण लाग्छ।

आक्रमणका बेला महानाम शाक्य त्यस गणराज्यका गणनायक वा राजा थिए। उनी नाताले गौतम बुद्धका काका थिए। महानामले कपिलवस्तुको विनाश हेर्न नसकेर पोखरीमा हामफालेर आत्महत्या गरेको पनि उल्लेख पाइन्छ।

सय वर्षअघि जर्मन पुरातत्वविद् डा. एन्टोन एलोइस फुहररलगायतले गरेको उत्खनन्मा केही मानव कंकाल भेटेका थिए। ती कंकाल विडूडभकै आक्रमणसँग सम्बन्धित भएको कल्पना पनि गरिन्छ। तर के ती कंकाल त्यति पुराना हुन् त? यो प्रश्नको उत्तर पाइँदैन। कंकालहरूको 'ल्याबटेस्ट' त टाढाको कुरा, ती कहाँ छन् भन्ने समेत खुल्दैन।

प्राचीन कपिलवस्तु पतनको केही वर्षपछि नै मगध साम्राज्यले आक्रमण गरेर कोशललाई आफूमा विलय गरेको थियो। त्यति बेला कोशल महाजनपद थियो भने कपिलवस्तुको हैसियत आफ्नो स्वतन्त्र अस्तित्व कोशलमा सुम्पिसकेको जनपद मात्रै थियो।

सम्राट अजातशत्रुले पूरै कोशल र काशी मगधमा गाभेपछि कपिलवस्तु पनि स्वतः मगध साम्राज्यअन्तर्गत पर्न गयो भन्ने अनुमान हुन्छ। इ.पू. तेस्रो शताब्दीमा मगध सम्राट अशोकले निर्धक्कसँग यहाँ गतिविधि चलाएबाट यस्तो अनुमानले बल पाउँछ।

वर्तमान नवलपरासी क्षेत्र भने मगध साम्राज्यअन्तर्गत नरहेको संकेत रामग्राम स्तूपबाट बुद्धको अस्थिधातु निकाल्न खोज्दा नागहरूले रोकेको बौद्ध वाङ्मयको वर्णनले गर्छ। यहाँ नाग भन्नाले जमीनमा घस्रिने सर्प नभएर नाग जाति वा नागसँग सम्बन्धित मानव समूह भनेर बुझनुपर्छ।

इसाको तेस्रो शताब्दीमा यस क्षेत्रमा पुगेका चिनियाँ यात्री लि ताओ युंगको कुनै वृत्तान्त पाइँदैन। त्यसको सय वर्षपछिका चिनियाँ यात्री सेङ साइको यात्रा विवरणमा लुम्बिनी र कपिलवस्तुबारेमा नकारात्मक कुरा पाइँदैन।

पाँचौं शताब्दीका चिनियाँ यात्री फाहियानको वर्णनले पनि कपिलवस्तु उजाड भइसकेको देखाउँदैन। ह्वेनसाङको बेलासम्म भने कपिलवस्तु खस्केको देखिन्छ। कपिलवस्तुमाथि कोशलको आक्रमणदेखि ह्वेनसाङको वर्णनसम्म ११२० वर्षको लामो अवधि भएकोले उहिलेको आक्रमणसँग सातौं शताब्दीको वर्णन जोड्नु तर्कसंगत लाग्दैन। (हे. इन्फोग्राफ)

गौतम बुद्धको महापरिनिर्वाण भएको करीब सय वर्षपछि बौद्ध संघ स्थविरवाद र महासांघिकमा विभाजित भएको थियो। त्यसको ५० वर्षपछि स्थविरवादबाट सम्मितीय फाटेको थियो। सम्राट अशोकको बेलासम्ममा यसरी चोइटिएका निकायहरूको संख्या १८ पुगेको थियो। ती जम्मैलाई एकमुष्टमा 'अष्टादश निकाय' भनिन्छ।

मूलभूत बौद्ध धर्मदर्शनसँग बाझिएको सम्मितीय सम्प्रदायको सिद्धान्तले वैदिक आत्मवादसँग नजीकको सम्बन्ध राख्छ। बौद्ध धर्मको मूलभूत सिद्धान्तसँग बाझिएको खण्डन इ.पू. तेस्रो शदीको उपतिष्यको 'कथावत्थु' र चौथौं शदीको बसुबन्धुको 'अभिधम्मकोश' मा पाइन्छ।

जतिसुकै आलोचना भए पनि सम्मितीय अभ्यास लामो समयसम्म रहेको पाइन्छ। सातौं शताब्दीमा ह्वेनसाङ आउँदा कपिलवस्तुमा सम्मितीय सम्प्रदायका ७०० भिक्षु रहेको उल्लेख छ। यतिका भिक्षुहरू हुनुको अर्थ कपिलवस्तुको आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक जीवन सुव्यवस्थित थियो भन्ने हुन्छ। कपिलवस्तु क्षेत्रमा अहिले देखिने विहारलगायत पुरातात्विक भग्नावशेषहरू त्यही समयका हुन्।

यता सिंजाका खस नरेश अशोक चल्लको समयमा खस साम्राज्य बोधगयासम्म पुगेको पुष्टि भएबाट लुम्बिनी र कपिलवस्तु पनि खस साम्राज्यका अधीनमा रहेको बुझिन्छ।

सन् १३१२ मा अर्का खस राजा रिपु मल्लले लुम्बिनी र कपिलवस्तुको भ्रमण गरेको दुई वटा अभिलेखबाट पुष्टि भएको छ। खस साम्राज्यको विघटनपछि पनि यहाँ सुव्यवस्थित जनजीवन रहेको यस क्षेत्रबाट प्राप्त अन्य ऐतिहासिक तथा पुरातात्विक सामग्रीको अध्ययनबाट भन्न सकिन्छ।

इतिहासको लामो कालखण्डमा अस्पष्ट हुनपुगेका पक्षहरूलाई उपेक्षा गर्न मिल्दैन। बरु त्यसैको गहन अध्ययन गरेर स्पष्ट पार्नु अध्येताहरूको काम हुन्छ। बुद्धको जीवनकालमै पतन भएको भन्दै प्राचीन कपिलवस्तुको अध्ययनमा पूर्णविराम लगाइदिनु इतिहासप्रतिको उपेक्षा ठहर्छ।

प्रतिकृया दिनुहोस