दस्तावेजशनिवार, बैशाख १६, २०७४

भोटमा नेपाली पाठशाला

ज्ञानमणि नेपाल

राणाशासनको अन्त्यतिर ल्हासामा नेपाली पाठशाला खुलेको थियो।

नेपालको उत्तर हिमाल पारि विस्तृत भूभाग भए पनि आवादी ज्यादै कम भएको देश थियो, भोट। जति दाजुभाइ भए पनि एउटै पत्नीसँग घरजम गरेर बस्ने हुँदा छुट्टिएर भिन्न भई आवादी फैलिंदैनथ्यो।

जनता सुतिथाती गरेर बाबुबाजेदेखिको खेतीपातीबाट जीविका गर्दथे। स–साना गाउँ र प्रदेशहरू अनेक शासकबाट शासित थिए।

सातौं शताब्दीमा स्रोङ्गचन गम्पोका बाबुले भोटलाई एकतामा ल्याउने प्रयास गरे। उनले ल्हासालाई राजधानी बनाए। स्रोङ्गचन गम्पो पनि शूरवीरमा गनिए। उनले बाबुले थालेको कार्य अघि बढाए।

नेपाल लिच्छवि राजाहरूकै पालामा छैटौं शताब्दीदेखि एक समृद्ध राष्ट्रको रूपमा प्रसिद्ध भएको थियो। भारतीय गुप्त सम्राटहरूसँग वैवाहिक सम्बन्ध गाँसिएकोमा पछि उदाएका भोटका राजासँग पनि नेपालका राजाकी छोरीको विवाह हुन आयो।

त्यतिन्जेलसम्म भोट बोन धर्म र धामीझँक्रीकै प्रभावमा थियो। भोटमा न लिपि थियो न लेखापढी हुन्थ्यो। भृकुटीले भोटमा अवलोकितेश्वर आदिबुद्धको मूर्ति लगेर स्थापना गराइन्। उनले अनेक बौद्ध गुम्बाहरू स्थापना गराइन्, थुप्रै बौद्ध विद्वान्लाई भोटमा झिकाइन्।

मुख्यतः स्रोङ्गचन गम्पोका मुख्यमन्त्री थोन्वी सम्भोटाले नेपालमा चलेको लिपि लगेर विद्वान्द्वारा त्यही लिपि र भोटको भाषामा संस्कृत र प्राकृत ग्रन्थहरूको अनुवाद गराए।

यो काम गर्न नेपाल, भारत र चीनतर्फका अनेक विद्वान्‌हरू ल्हासामा निम्त्याइएका थिए। यसमा नेपाली विद्वान् शीलमन्जुको नाम प्रसिद्ध छ।

अचम्म जस्तो लाग्ने कुरो के छ भने नेपाल र भारतमा अहिले अप्राप्य भएका संस्कृत ग्रन्थ पनि भोट भाषामा अनूदित भएर क्यङ्गुरत्यन्जुरमा संग्रहित छन्।

त्यसबेला भोटमा स्रोङ्गचन गम्पो यति प्रसिद्ध भए कि चीन वादशाहकी छोरी उनकी अर्की रानी भइन्। पछि वंशावलीकारहरूले स्रोङ्गचन गम्पोलाई अवलोकितेश्वर र भृकुटीलाई आर्यताराका रूपमा प्रस्तुत गरे।

नेपालका शिवदेव (देवह्ला) की छोरी ठिचुङ्ग र चीन वादशाहको शाहजादी कोङ्गजो दुवै रानी बौद्ध धर्मका प्रतिष्ठापक पनि हुँदा बौद्धधर्मकै पक्षपाती भोटवासीले राजालाई अवलोकितेश्वर र रानीहरूलाई श्वेततारा, हरितताराको रूपमा प्रतिस्थापन गरी मान्छन्, पुज्छन्।

एक देशका वर र अर्को देशका वधुको मिलनबाट भाषा, धर्म संस्कृतिमा समस्या मात्र होइन कस्तो–कस्तो संवेदनशीलता पनि आउँछ भन्ने कुरा भोटे राजा स्रोङ्गचन गम्पोसँग भएको नेपाली र चिनियाँ राजकुमारीको विवाहले देखाउँछ।

नेपालमा सं. ६७८ मा अंशुवर्मा वितेपछि राजगद्दीमा युवराज उदयदेव बसे भने उपराजाको गद्दीमा जिष्णु गुप्त आए।

जिष्णु गुप्त ठूलै विद्रोह गरेर उपराजा बनेका थिए। उनले राजालाई गद्दीच्यूत गरी आफू अनुकूलका राजकुमारलाई राजा थापी उपराजा बनेर शासन चलाउन थाले।

निष्कासित राजा उदयदेव बहिनी भृकुटीसहित सपरिवार भोटको शरण गए। विल्कुल अमिल्दो भेष–भूषा, धर्म–संस्कृति भएका भोटे राजासँग विवाह भएपछि नेपाली राजाकी छोरी भृकुटीले राजशक्तिबाट भोटमा बौद्ध धर्म–संस्कृति स्थापना त गराइन्, तर संस्कार–संस्कृति तत्काल बदलिने कुरा भएन। सिक्नलाई समय लाग्ने नै भयो।

स्रोङ्गचन गम्पोभन्दा भृकुटी अलि बढी उमेरकी थिइन्। स्रोङ्गचन त १३ वर्षमै राजा भएका थिए। बालक राजा र जवान रानीबीच प्रेमालाप हुने कुरा भएन।

यसको स्पष्ट छनक वंशावलीमा पाइन्छ। रानीलाई बाहिरफेर घुमघाम, वार्तालाप गर्ने मन छ, तर भन्न सक्तिनन्। भनौं भने पनि राजाले बुझदैनन्। उनको भाषा पनि म बुझिदनँ, रानी भृकुटी चिन्तित बनेर बसेकी छन्। भाषाको समस्याले रानीले पतिसँग मात्रै होइन, अरूसँग पनि खुलेर बात गर्न पाएकी छैनन्।

स्रोङ्गचन गम्पो–भृकुटी विवाहले भोटमा बौद्धधर्मको प्रवेश र प्रचार मात्र नभई नेपालसँगको आर्थिक–राजनीतिक सम्बन्ध पनि अत्यन्त राम्रो भयो।

नेपाली व्यापारी महाजनहरू धेरै जाने–आउने र उतै बस्ने पनि गर्न लागे। त्यसपछि त भोटमा यताको भाषा–संस्कृति पनि फैलन लाग्यो। यो परम्परा धेरै शताब्दीसम्म चल्दै आयो।

पछिल्लो मल्लकालमा यो परम्परामा केही तल–माथि पर्दा राजा प्रताप मल्लले काजी भीम मल्लको नेतृत्वमा भोट अभियान चलाए।

भीम मल्लले बिना रोकतोक अघि बढेर ल्हासा शहर दाखिला भई त्यहाँका शासक लामाहरूसँग सम्झौता गरे। त्यस अनुसार, यताका सामान कुती र केरुङ दुइटा नाकाबाट विना महसुल भोट पठाउन पाउने भयो।

ती दुई नाकाबाट पस्ने व्यापारीहरू जो भए पनि नेपाली महाजनमै गनिन्थे। तसर्थ, काश्मिरी मुसलमानहरू पनि सामानसाथ नेपाल आएर भोटमा कोठी खोली नेवार महाजन सरह व्यापार गर्न थाले– पूरा सुविधाका साथ। गिरी, पुरी, वन आदिले पनि त्यही गरे।

भोटमा गएर उहीं बस्ने नेवार वा अरू जो भए पनि श्रीमती लिएर जान पाउँदैनथे। त्यहाँ विवाह गर्न केटी पाउन गाह्रो थियो। साथी, मीत वा साझेदार बनेर उसैकी श्रीमतीसँग बस्न भने पाउँथे।

त्यस्तो सम्बन्धबाट जन्मेका सन्तान 'खचडा' कहिन्थे। छोरी भए भोटकै हुन्थी, छोरो भयो भने नेपाली प्रजामा खचडामा दरिन्थ्यो।

नेपालीले भोटमा बेपार गर्दा भन्सार महसुल तिर्नुपर्दैनथ्यो। मुद्दामामिला केही परे ल्हासामा नेपाल सरकारबाट नियुक्त नेपाली वकीलले हेर्थे, दण्ड जरिवाना उनैले लिन्थे। भोटले प्रत्येक व्यक्तिबाट ग्यानपन्जी रकम लिन्थ्यो। नेपाली व्यापारी र खचडाहरूले त्यस्तो रकम पनि तिर्नु पर्दैनथ्यो।

अठारौं शताब्दीको झगडा पछि भोटमा चीनको प्रभाव फैलियो। त्यसबेलादेखि चीनको प्रतिनिधिका रूपमा दुईजना वडा अम्बा र छोटा अम्बा ल्हासामा रहन लागे।

सं १७७४ तिर पृथ्वीनारायण शाहसँग ती अम्बाहरूको सम्पर्क भएको बुझिन्छ। पृथ्वीनारायणको नेपाल दून विजयपछि खोटाटक र शुद्धटकको सटहीलाई लिएर भोटसँग खटपट शुरू भयो, जुन नसुल्झ्ँदै पृथ्वीनारायण बिते।

प्रतापसिंह शाहका पाला भोटसँग सन्धि त भयो तर त्यसबाट पनि समस्या सुल्झिएन। त्यो सन्धिको लिखत विशुद्ध नेवारी भाषामा छ। त्यसको मूल प्रति राष्ट्रिय अभिलेखालयमा सुरक्षित छ।

खोटाटकको समस्या समाधान नहुदा सं. १८४६ मा भोटसँग युद्धै भयो। युद्ध जित्दै दामोदर पाँडे दिगर्चा पुगे। त्यो मुद्दा सल्टाउन अम्बाको अनुरोधमा चीन वादशाहले एक सेनापतिको नेतृत्वमा सैन्य दल पठाए। सेनापतिले दुवैतर्फको क्रय–विक्रय बुझेर भोटले प्रति वर्ष नेपाललाई पचास हजार दिने र नेपालले जितेको जमीन छोड्ने शर्तमा सन्धि गराइदिए।

त्यसबेला सन्धि गराइदिएबापत वादशाहलाई धन्यवाद ज्ञापन गर्न राजामुनिका उच्च अधिकारीको नेतृत्वमा हरेक पाँच वर्षमा प्रतिनिधिमण्डल सौगात लिएर जाने समझ्दारी पनि भएको थियो।

प्रतिनिधिमण्डल जाने बेलामा चिनियाँ भाषा जान्ने कोही दोभाषे नभेटिंदा भोट र नेपाली भाषा जान्ने दोभाषेबाट ल्हासासम्म काम चलाइयो। त्यहाँ चिनियाँ अम्बाको अड्डामा काम गर्ने दुई जना काश्मिरी मुसलमान चिनियाँ भाषा जान्ने रहेछन्। खनखाँचोमा तिनैलाई दोभाषे बनाएर पेचिङ पठाइयो।

तत्काल त काम चल्यो, अब पछिको लागि चिनियाँ भाषा जान्ने ५–६ जना नभई नहुनेभयो। अनि चिनियाँ र तिब्बती भाषा सिक्न वृत्ति दिने व्यवस्था मिलाई चार जना छात्र भोट पठाइयो, तर उनीहरू ६ वर्षमा पनि पारङ्गत हुन सकेनन्।

चिनियाँ भाषा तिब्बती जस्तो सजिलो थिएन, बहुतै अप्ठ्यारो थियो। चिनियाँ भाषाको आवश्यकता चाहिं धेरै थियो। पेचिङको नेपालीवासा (लियाङ्गफू) मा दुई जनाको माग थियो। अब ल्हासामा पनि चाहियो। यहाँ परराष्ट्र जैसीकोठामा पनि राख्नै पर्‍यो।

बाहिर पढ्न धेरै पठाउन मिलेन, पठाउँदा पनि पढेनन् भनेर चिनियाँ र तिब्बती भाषा पढाउने शिक्षक खोज्न लागियो, तर लामो समयसमा सफल भएन।

राणाकालमा बौद्धको मेलम्ची गुम्बामा एक जना चिनियाँ लामालाई च्याग्रासि अवलोकितेश्वरको पुजारीमा नियुक्त गरियो। तिनले कति जनालाई चिनियाँ भाषा पढाए, त्यो थाहा भएन। त्यसपछि पनि नियुक्त भए, चिनियाँ लामाको नाममा भर्ना पाए, खाए, तर भाषा पढाउने कुरा हरायो।

चन्द्रशमशेरको पालामा चीन जाने प्रतिनिधिमण्डलका नेता काजी भैरवबहादुर गड्तौला चिनियाँ भाषा जान्दथे। उनले चीनबाट फर्केर नेपालमा चिनियाँ भाषा पढाउने पाठशाला खोल्नुपर्छ भनेर जाहेर गरेका थिए, तर सुनुवाइ भएन।

पछि जुद्धशमशेरले आफ्नो जन्म दिन पारेर ल्हासामा नेपाली भाषा पाठशाला खोले। नेपालीलाई तिब्बती र तिब्बतीलाई नेपाली भाषा पढाउने भनेर तलब वकील अड्डाबाट निकासा हुने गरी दुई जना शिक्षकको दरबन्दी स्थापित गरे। भाषा शिक्षा सम्बन्धी मूल प्रमाणहरू स्थानाभावका कारण यहाँ उद्धृत गर्न सम्भव भएन।

प्रतिकृया दिनुहोस