दुईवटा बाह्रसिङ्गे चितवन राष्ट्रिय निकुञ्जमा छाडियो
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट ल्याइएका दुईवटा बाह्रसिङ्गेलाई चितवन राष्ट्रिय निकुञ्जमा छाडिएको छ ।
आज बिहान चितवन निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पदमपुर ब्लकमा ल्याएर छाडिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए ।
सरकारी निर्णयअनुसार वंश संरक्षण र विस्तारका लागि चितवन निकुञ्जमा यसरी पहिलो चरणमा दुईवटा पोथी बाह्रसिङ्गे ल्याइएको हो । अझै २३ वटा ल्याइने निकुञ्जले जनाएको छ । चितवनबाट शुक्लाफाँटा पुगेका प्राविधिक टोलीले १३ वैशाखमा बाह्रसिङ्गेलाई जालमा पारेर समाएको थियो । निश्चित क्षेत्रमा विशेष प्रकारको जाल (खाबर) बिच्छ्याइएको र जालमा परेपछि लठ्याउने औषधि दिएर नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।
विसं २०७१ को सरकारी निर्णयअनुसार चितवनमा पाँच भालेसहित २५ बाह्रसिङ्गे ल्याइनेछ । बाह्रसिङ्गे नियन्त्रणमा लिन चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक कमल गैरेको नेतृत्वमा बर्दिया र शुक्लाफाँटाका कर्मचारी तथा प्राविधिक गरी ३० जनाको टोली खटिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा सन् १९६० को दशकमा अर्ना रहेको इतिहास भए पनि निकुञ्ज स्थापनापछि यहाँ बाह्रसिङ्गे र अर्ना नभएको निकुञ्जका पूर्वसंरक्षण अधिकृत रामपृत यादवले बताए । रासस