मणिपाल अस्पताल प्रशासन नै दोषी रहेको छानबिन समितिको निष्कर्ष
मुस्ताङकाे कागबेनीमा भएको बस दुर्घटनाका घाइतेको मणिपाल अस्पतालले उपचार गर्न नमानेको विषयमा अनुसन्धान गर्न गठित स्वास्थ्य मन्त्रालयको छानबिन समितिले अस्पताल प्रशासनको गल्ती भएको ठहर गरेको छ ।
स्वास्थ्य मन्त्रालयको चिकित्सा सेवा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठको संयोजक रहेको तीन सदस्यीय समितिले आज मन्त्रालयलाई मणिपाल काण्डमा अस्पताल प्रशासनले नै बिरामीको उपचार गर्न अस्वीकार गरेको विषय सहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
छानबिन समितिका सदस्य तथा नेपाल मेडिकल काउन्सिलका पदाधिकारी ढुण्डीराज पौडेलले स्थलगत अनुसन्धानपछि अस्पताल प्रशासनले डाक्टर हड्तालमा भएको भन्दै घाइतेलाई हेलिकोप्टरबाट उतारेर एम्बुलेन्समार्फत अन्य अस्पताल पुर्याइएको बताएका छन् । पौडेलले भने, “अस्पतालले उपचार गर्न नमानेपछि घाइतेलाई अस्पतालको गेटसम्म पनि नपुर्याई हेलिकोप्टरबाट सिधै अन्य अस्पताल लगिएको रहेछ ।”
उनले अनुसन्धान प्रतिवेदनको निष्कर्ष अनुसार अस्पताल नै जिम्मेवार रहेको बताएका छन् । पौडेलले उक्त घटना आन्दोलनमा रहेका डाक्टरहरुको गैरजिम्मेवारीपनका कारण भएको बताएका छन् । उनी भन्छन्, “डाक्टरले अस्पताललाई अन्य पसल खोलेर बन्द गरेको जस्तो गैरजिम्मेवारी काम गर्नु भएन । यदि स्वास्थ्य सेवा दिने काममा असर पुग्ने गरी डाक्टरहरुले हड्ताल गरे उनीहरूलाई चिकित्सक आचारसंहिता उल्लघंनको विषयमा कारबाही हुन्छ ।”
स्वास्थ्य मन्त्रालयको छानबिन समितिले ११ वैशाखमा मणिपाल पुगेर छानविन शुरु गरेको थियो । तीन दिनभित्र प्रतिवेदन बुझाउने म्याण्डेट पाएको छानविन समितिले मन्त्रालयले पठाएको स्पष्टीकरण बुझाएर अनुसन्धान शुरु गरेको थियो ।
रामु सापकोटा