प्रवासी फर्काउने होड
हरियाणा, भारतमा काम गर्दै आएका बम्घा, गुल्मीका खुमलाल थापा (४९) एक महीनाको विदा लिएर ३ वैशाखमा परिवारसहित घर फर्किए। निर्वाचनमा मतदान गर्नकै लागि घर फर्किएको बताउँदै थापा भन्छन्, “निर्वाचन भयो, थिति बस्यो भने प्रवासीहरूलाई पनि फाइदा हुनेछ।”
खिदिम, अर्घाखाँचीका गणेश विक (३७) पञ्जाबबाट ४ वैशाखमा घर फर्किए। स्थानीय तह निर्वाचनसम्मका लागि घर फर्किएको बताउँदै विक भन्छन्, “निर्वाचन भयो, विकास निर्माणका काम हुन थाले भने यहीं काम मिल्थ्यो, परदेश जानु पर्दैनथ्यो।”
निर्वाचन नजिकिंदै जाँदा सुनौली नाका भएर भारतबाट फर्किनेहरूको संख्या बढ्न थालेको छ। राष्ट्रिय प्रवासी सम्पर्क मञ्चका अनुसार वैशाख पहिलो सातामा सुनौली नाका भएर एक हजार जना घर फर्किएका छन्। मञ्चका अध्यक्ष गुरुप्रसाद भट्टराई भन्छन्, “प्रवासमै मतदान गर्ने व्यवस्था नभएपछि घर फर्किन थालेका छन्।”
प्रवास केन्द्रित प्रचार
स्थानीय तह निर्वाचनका लागि फर्किनेहरूमा केही उम्मेदवारका आकांक्षी पनि देखिन्छन्। अधिकांश मतदाता मात्रै हुने मञ्चले जनाएको छ। चुनावको बेला प्रवासबाट आएका यिनै मतदाता निर्णायक हुने दलहरूको आकलन छ। उनीहरूलाई प्रभावित पार्न दलनिकट प्रवासी संघ/संगठनहरूले चुनावी अभियान समेत चलाएका छन्।
गत १५ चैतमा बुटबलमा सम्पन्न राष्ट्रिय प्रवासी सम्पर्क मञ्चको राष्ट्रिय भेलाले प्रवासीलाई स्वदेश फर्काउने निर्णय नै गर्यो। अहिले प्रवासी फर्काउने अभियान चलाइरहेको मञ्चले चुनावमा घर फर्किन निम्तो पठाउने, अपील गर्ने, सामूहिक फिर्ताका कार्यक्रमहरू सञ्चालन गर्ने काम गरिरहेको अध्यक्ष भट्टराई बताउँछन्।
मञ्चका अनुसार ५० लाख नेपाली प्रवासमा छन्, जसमध्ये २५ लाख भारतमा छन्। यतिबेला दल निकट प्रवासी संघ/संगठनहरूले भारतलाई नै जोड दिएका छन्। भारतमा सबैभन्दा बढी प्रवासीलाई संगठित गरेको राष्ट्रिय जनमोर्चा निकट मूल प्रवाह अखिल भारत नेपाली समाजले बुटवल र नेपालगञ्जमा आश्रय स्थल नै बनाएको छ। समाजसँग आवद्ध र अन्यलाई पनि त्यही स्थलमा प्रशिक्षित गरेर मात्रै जिल्ला पठाउने गरेको अध्यक्ष गंगा पौडेल बताउँछन्।
त्यस्तै नेकपा (एमाले) निकट प्रवासी नेपाली संघ, भारतको बैठकले निर्वाचनमा घर फर्काउन अभियान चलाउने निर्णय गरेको अध्यक्ष लोकनाथ भण्डारी बताउँछन्। नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति, नेकपा (माओवादी केन्द्र) निकट अखिल भारत नेपाली एकता मञ्च, नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल भारत नेपाली एकता समाजलगायतका संघ/संगठन पनि प्रवासी नेपालीलाई चुनावका लागि घर फर्र्काउने र आफ्नो पार्टीलाई मतदान गर्न प्रशिक्षित गर्ने अभियान चलाइरहेका छन्।
मताधिकारबाट वञ्चित
प्रवासी नेपालीहरू भने घर फर्किंदा खुशी देखिंदैनन्। उनीहरूले प्रवासबाटै मतदान गर्ने व्यवस्था गर्नुपर्ने माग गर्दै आएका थिए। मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले त्यसका लागि आन्दोलन पनि गरेको थियो। सरकार र प्रमुख राजनीतिक दलले प्रवासमा रहेका नेपालीको अधिकार सुरक्षित नगरेको बताउँदै समाजका अध्यक्ष पौडेल भन्छन्, “चाहेर पनि सबै जना स्वदेश फर्किन सक्दैनन्। हाम्रो मतदानको अधिकार सुरक्षित गरिएन।”
सरकार र प्रमुख राजनीतिक दलहरूले चाहेको भए विदेशबाटै मतदान गर्न सकिने व्यवस्था हुने उनको भनाइ छ। हुन पनि थुप्रै देशले आफ्ना नागरिकलाई जुनसुकै देशबाट पनि मतदान गर्न सक्ने व्यवस्था गरेका छन्। पाँच महीना अघि सम्पन्न अमेरिकाको राष्ट्रपतिको निर्वाचनमा अमेरिकी नागरिक सेन किमबगले अन्तरिक्षबाट पनि मतदान गरेका थिए।
१४ पुस, २०६३ मा जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले प्रवासमा रहेका नेपालीले त्यहींबाट मतदान गर्न पाउने व्यवस्थाका लागि संसद्मा विधेयक दर्ता गराएका थिए। तर त्यो विधेयक संसद्बाट पारित हुन सकेन।
-दीपक ज्ञवाली, बुटवल