बन्धक बनाएर जग्गा नामसारी गर्ने चार युवक पक्राउ
बन्धक बनाएर करोडौंको जग्गा नामसारी गर्ने झापाका चार युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको भद्रपुर–४ का राजु कुँवर, मेचीनगर–६ का भुपु कान्छा भनिने अजय राई, भद्रपुर–७ का तेजेन्द्र न्यौपाने र भद्रपुर–६ का प्रेम न्यौपानेलाई पक्राउ गरेको हो । उनीहरुले झापा अर्जुनधाराका जीवन विष्टलाई बन्धक बनाएर उनको नाममा रहेको बिर्तामोडको ६ कठ्ठा जमिन नामसारी गरेको प्रहरीले जनाएको छ ।
उनीहरु मध्ये अजय र बालकृष्णलाई २७ चैत, प्रेमलाई २८ र राजुलाई ३० मा झापाका बिभिन्न स्थानबाट पक्राउ गरेको हो । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजि भइरहेको प्रहरी उपरीक्षक शैलेश थापाले बताए ।
मालपोत कार्यलय, भद्रपुरले २० माघमा सो जमिन नामसारी गरेको थियो । जमिन नामसारी गर्दा जग्गाधनी भारतमा राखिएको र २० माघमा ‘जीवन विष्ट हुँ’ भन्दै मेचीनगरका राजु कुँवरले जमिन नामसारी गरेको देखिएको प्रहरीले जनाएको छ । राजुले जीवनका नाममा किर्ते नागरिकता समेत बनाएको खुलेको छ ।
प्रहरीका अनुसार जग्गा गरिद गर्ने भद्रपुरका किराना ब्यापारी प्रेम न्यौपानेले जग्गाधनी जीवनलाई पैसा दिएको देखिएको छैन । उनले सो घटनामा संलग्न अरुलाई नै रु.२ करोड भन्दाबढी चेकमार्फत र नगद दिएको प्रहरी अनुसन्धानमा देखिएको छ ।
-गोपाल गडतौला, झापा