मणिपालका चिकित्सक दोषी नभएको एशोसिएसनको दावी
दुर्घटनामा घाइतेहरुलाई उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा ल्याएको बारेमा अस्पताल प्रशासनले जानकारी नै नदिएको मणिपाल शिक्षण कर्मचारी एशोसियसनले जनाएको छ ।
घाइतेहरुको विषयमा अस्पतालले जानकारी नदिइ गेटबाट फिर्ता गराएको एशोसिएसनले जनाएको छ ।
एसोशियसनका सचिव डा. दीपक प्रसाद कोइरालाले १० बैशाखमा जारी गरेको विज्ञप्तीमा भनिएको छ, “अस्पतालका मेडिकल सुपरिटेडेन्ट स्वयंको अध्यक्षतामा रहेको डिजास्टर म्यानेजमेन्ट सिस्टमलाई जानकारी नदिइ ति बिरामीको प्राथमिक उपचारको लागि अस्पताल परिसरमा प्रवेश नगराई मुख्य गेटबाट फर्काइएको जानकारी गराउँछौँ ।”
मणिपालका चिकित्सकहरुले आन्दोलन अवधिभर नै आकस्मिक सेवा नरोकेको पनि जनाएको छ । उनीहरुले घटनाको छानविन गरी दोषीलाई कडा कारवाही गर्न समेत माग गरेका छन् ।
दुर्घटनामा घाइतेहरुको उपचार गर्न चिकित्सकहरुले नमानेको भन्ने सार्वजनिक सूचना गलत भएको एशोसिएसनको दावी छ ।
यसैबीच स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिलले घाइते बिरामीको उपचार गर्न नमान्ने मणिपाल अस्पताललाई स्पष्टीकरण सोधेर घटनाको अनुसन्धान गर्न कार्यदल गठन गरेको छ ।
मुस्ताङ कागबेनीमा बस दुर्घटनामा परि घाइते भएकाहरुलाई ९ वैशाखमा मणिपाल अस्पताल पोखरा पुर्याएको थियो । घाइतेहरुले उपचार पाएका थिएनन् ।