घाइतेको उपचार गर्न नमान्ने डाक्टरलाई कारवाही गर्छौंः डा. बास्कोटा
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटाले आन्दोलनको बहाना बनाएर घाइते बिरामीको उपचार नगर्ने पोखराको मणिपाल मेडिकल कलेजका डाक्टरलाई कारवाही गर्ने बताएका छन् ।
९ बैशाखमा तिर्थयात्री बोकेर मुक्तिनाथबाट मुस्ताङतर्फ आउँदै गरेको बस दुर्घटनामा परी घाईते भएकाहरुलाई मणिपाल अस्पतालका डाक्टरले आफ्नो आन्दोलन भएका कारण उपचार गर्न अस्वीकार गरेका थिए ।
हेलिकप्टरबाट उद्दार गरी ल्याइएका गम्भीर अवस्थाका विरामीलाई उपचार गर्न अस्वीकार गर्नु चिकित्सक आचार संहिता विपरितको काम भएको भन्दै काउन्सिल अध्यक्ष बास्कोटाले ती डाक्टरलाई कानून अनुसार कारवाही हुने हिमालखबरलाई बताए ।
“उपचार गर्न अस्वीकार गर्ने डाक्टरलाई सचेत गराउनेसम्मको अधिकार कानूनले काउन्सिललाई दिएको छ । तर, लाइसेन्स खारेज गर्न भने मिल्दैन ।”
मणिपालका डाक्टरले घाइतेको उपचार गर्न अस्वीकार गरेको विषय बाहिर आएपछि डाक्टरको उक्त कदम बारे चौतर्फी विरोध भएको छ ।
उक्त मेडिकल कलेजका चिकित्सकहरु स्थायी गरिनुपर्ने माग राख्दै करीब दुई महीनादेखि आन्दोलनमा छन् ।