एमालेले मतदानबाट सिफारिस गर्यो पोखरा महानगरका उम्मेदवार
नेकपा एमाले पोखरा–लेखनाथ महानगर कमिटीले महानगरको प्रमुख र उप–प्रमुख पदका लागि मतदान मार्फत नाम सिफारिस गरेको छ ।
मतदान प्रक्रियाबाट महानगरको प्रमुख पदमा वैकल्पिक पोलिटब्यूरो सदस्य एवम् पूर्व जिल्ला कमिटी अध्यक्ष मानबहादुर जिसी र साविक पोखरा उपमहानगरपालिकाका पूर्वप्रमुख तथा जिल्ला कमिटिका अध्यक्ष कृष्ण थापा सिफारिस भएका छन् भने नेतृ मित्रकुमारी गुरुङ सर्वसम्मत रूपमा सिफारिस भएकी छिन् ।
त्यस्तै नगर उपप्रमुख पदमा कास्की जिल्ला उप–सचिव प्रभा कोइराला, जिल्ला सदस्य मञ्जु गुरुङ, पूर्व जिल्ला उपसचिव देवका पहारी सिफारिस भएका छन् ।
महानगर सङ्गठन कमिटीका ३९९ सदस्यले मतदान गरेका थिए । उम्मेदवारका आकांक्षी धेरै भएपछि मतदान मार्फत सिफारिस गरिएको एमाले कास्कीले जनाएको छ ।
यसअघि महानगरको प्रमुखमा १० र उपप्रमुखमा आठ जनाले दाबी गरेका थिए ।